१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

मुस्ताङदेखि काँठसम्म बाबुरामको बाँसुरी

मक्किएको इमेज मर्मत गर्न के गर्ने ? कसैले सुझायो र उनी तयार भए। राजनीतिमा व्यस्त बाबुराम काठमाडौंको उत्तरी कुनो झोर पुगे। प्रधान मन्त्री रहेका यी गोर्खाली गाउँले सामान्य जनताको घरमा पुगे। उनीहरुसँग बसे। त्यही भान्सामा खाए। गाउँलेसँग रातिसम्म भलाकुसारी गरे। लाग्दो हो- अहो यी कस्ता असाधारण नेता।
दुई महिनाअघि यी कम्युनिस्ट नेताले चलाएको डोजरको याद गर्नुस् त। झोरमा गाउँलेको घरमा बास बस्ने बाबुरामले वाग्मती किनारमा उठिवास लगाएको हेर्न मन छ भने प्रसूति गृहसँगैको गल्लीबाट वाग्मती किनारतिर झरे हुन्छ। कसरी बाँचिरहेका छन् मानिस? उनले चलाएको डोजरका डोबमा कम्युनिस्ट नेता बाबुरामको चित्र अहिले पनि छरपस्ट अनुमान गर्न सकिन्छ।
नेपाली सिनेमामा भारतीय फिल्मको कपी सामान्य हो। बाबुराम त्यस्तै भारतीय सिनेमाको नक्कल गर्ने कुनै औशत कलाकारभन्दा फरक रहेनन्। कङ्ग्रेस महासचिव राहुल गान्धीले गरिबको घरमा रात बिताएको प्रसङ्गमा भारतीय मिडियामा 'सुपरहिट' के भएथे, बाबुराम कपी गर्न तयार भइहाले। प्रतिलिपि नै गर्नु थियो भने घरबास भएका झोरका बासिन्दा होइन, आफैंले भत्काएको सुकुम्बासीको टहरामा पुगेको भए हुन्थ्यो। संविधान बनाउन नसकेको र आफ्नै पार्टी फुटबाट जुटाउन नसकेको अवस्थामा काँठेको घरमा बास बस्दैमा बाबुरामको इमेज फेरिन्छ?

बाबुराम प्रपोगाण्डाका पर्याय नै हुन्। हेलो सरकारको हल्ला कम गरेनन् यिनले। जति हल्ला गरे, त्यसको १ प्रतिशत काम गरेको भए मुलुक धेरै सुध्रिन्थ्यो। यिनले मुगलिङका होटलमा छापा मार्न दिएको आदेशलाई मिडियाले हिन्दी फिल्म 'नायक' नै बिर्साउने शैलीका समाचार बनाए। यिनी यस कारण चाटुकार हुन : के गर्दा मिडियामा छाइन्छ, त्यही गर्ने हो यिनले।

सरकारबाट राजिनामा गरेपछि काम चलाउ बनेका माधव नेपालले अन्य मन्त्रीसमेत बोकेर सार्वजनिक बस चढेर राजधानी घुमेका थिए। गृह मन्त्री रहेका बामदेवले पनि रिङरोड घुमेर सुरक्षा अवस्था अनुगमन गरेका थिए। बाबुरामले यी दुई नेताका नाटकीय भूमिकालाई राम्रैसँगै पछ्याए। प्रपोगाण्डा हो भन्ने नबुझ्दासम्म लाग्थ्यो- अहो कोही त छ जनभावना बुझ्ने!

मुस्ताङ म्याक्स चढ्दा बाबुरामले अखबारका पाना रङ्गाएकै हुन्। मानौं यिनले मुस्ताङ म्याक्स चढेपछि अब गोल्छा समूहको करिब करिब बन्द हुन लागेको कम्पनी टिक्ने भयो। अब मुस्ताङ चढ्नेहरु ओइरिन्छन्। हो, उनी यी सबै हल्लामा सफल भए। पार्टी अध्यक्ष पुष्पकमल दाहालको लोकप्रियतालाई उछिन्न यिनले सबै हथकण्डा अपनाए।

मेयरको भूमिका निभाउँदै राजधानीका सडक फैलाउँदा धेरैले वाहवाह नगरेका होइनन्। तर ती भत्केका सडक किनारमा उडेको धुलोले अब धेरैलाई टट्याइसक्यो। जेठभित्र सडक पीच गर्ने उनको आश्वासन पनि सबैले सुनेका थिए।

सस्तो लोकप्रियता कमाउन माहिर बाबुरामले हरेक महिना आफ्नो निर्वाचन क्षेत्र जाने कार्यक्रम तय गरेका थिए। अहिले त्यसलाई लात मारे। हरेक महिना गोरखा गएपछि पत्रिका र टेलिभिजनका लागि उनको भ्रमण समाचारको विषय बनेन। समाचार बन्न छाडेपछि बाबुरामले गाउँ छिर्नु गलत ठाने र रोजे काँठ। त्यतिमात्र होइन, उनी हरिवंश र मदनकृष्णको खेती हेर्न पुगे। माधव नेपाल सरकारलाई हटाउन माओवादीले गरेको आम हड्ताल तुहाउन भूमिका खेलेका मह जोडीको खेती हेर्न जानुमा अरु कुनै कारण थिएन। 'मह जोडीलाई नेपाली समाजले आदर्श मान्छ र त्यहाँ जाँदा आफ्नो चर्चा थप चुलिन्छ,' बाबुरामले यही सोचे। अनि त्यही गरे।

हामी मिडियामा रहेकाहरुलाई बाबुरामको कस्मेटिक कुराले तान्यो। घटनाका हिसाबले उनको हरेक गतिविधि हाम्रा लागि समाचार रहे। बाबुरामले प्रपोगाण्डा गर्दै गए। हामीले त्यसलाई देश र विदेशव्यापी बनाइरह्यौं। किनकि बाबुराम रामभन्दा ठूला राम हुन। यिनको रामगिरीले मुलुकलाई कहाँ पुर्‍याउने हो, त्यो राम नै जानून्।

प्रकाशित: १ असार २०६९ १०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App