२० श्रावण २०७७ मंगलबार
ब्लग

हामीले बालबालिकालाई केके काम सिकायौं ?

सुनिता खड्का

शिशु जन्मेको १४ दिनदेखि २ वर्षसम्ममा तौल, शरीर, हाड, दाँत, स्नायुप्रणाली, मांसपेशी आदिको विकास हुन्छ। दुई वर्षदेखि ६ वर्षसम्ममा तीव्र गतिमा शारीरिक तथा मानसिक विकास हुन्छ। सीप र भाषाको ज्ञान तीव्र गतिमा बढ्छ। यो उमेर समस्याको उमेर, खेलौनाको उमेर, पूर्व–विद्यालय, पूर्व बालसमूह, जिज्ञासु तथा नक्कल गर्ने उमेर हो। ५–६ वर्षदेखि १२ वर्षसम्ममा बालबालिकाले वातावरणमा नयाँ अनुभव गर्छन्। त्यस्तो अवस्थामा उनीहरू विभिन्न प्रश्न सोध्न थाल्छन्।  

पाँचदेखि १२ वर्षको उमेरसम्ममा बालबालिकालाई सामाजिकीकरण गरिएन भने पछि उनीहरू मनोवैज्ञानिक समस्यामा पर्न सक्छन्। यो दुःख दिने वा सताउने, फोहोर खेल्ने, झगडालु स्वाभाव, बालसमूहमा रमाउने, रचनात्मक हुने तथा खेल खेल्ने उमेर हो। दौंतरी पहिचान तथा प्राप्तिका लागि दबाब दिने समय पनि हो। यो अवधिलाई सामाजिक सम्बन्ध र सांस्कृतिक सिकाइको अवस्थाका रूपमा लिइन्छ।  

पाँचदेखि १२ वर्षको उमेरसम्ममा बालबालिकालाई सामाजिकीकरण गरिएन भने पछि उनीहरू मनोवैज्ञानिक समस्यामा पर्न सक्छन्।

संज्ञानात्मक विकासका चरणहरू  

जन्मेदेखि २ वर्षसम्ममा बालबालिकाले ज्ञानेन्दि«य–क्रियात्मक अनुभवबाट आफू र वातावरणलाई बुझ्न थाल्छन्। २ वर्षदेखि ७ वर्ष भित्रमा संज्ञानात्मक विकास हुन्छ, जस्तै संकेत र भाषा प्रयोग गर्ने क्षमता विकास भइसकेको हुन्छ। उनीहरू लामो समय एकाग्र भएर बस्न सक्दैनन्। त्यसैले विभिन्नतामा रमाउँछन्। उनीहरूले शिक्षकशिक्षिकालाई मन पराउँछन् र आफूप्रति शिक्षकले ध्यान देओस् भन्ने चाहन्छन्। दुईदेखि ७ वर्षका बालबालिका खेल्न, सामूहिक क्रियाकलाप गर्न र नयाँ कुरा सिक्न उत्सुक हुन्छन्। 

सातदेखि १२ वर्षसम्ममा बालबालिकाको विचार प्रक्रिया व्यवस्थित र तर्कपूर्ण हुँदै जान्छ। यस्तो अवस्थामा उनीहरूलाई प्रश्न सोध्ने मौका दिनुपर्छ। त्यस्ता प्रश्नको व्याख्या गरिदिएमा उनीहरूले सूचनालाई मानसिक र प्रक्रियागत रूपमा बुझ्न सक्छन्। सातदेखि १२ वर्षको उमेरमा उनीहरू चनाखो र मैत्रीपूर्ण हुन्छन्। त्यस्तै अन्य मानिसका विचार, विश्वास र मनोवृत्तिमा रुचि राख्छन्। त्यसैले विभिन्न विषयवस्तुबारे सिकाउने उत्तम समय यही हो। उनीहरूलाई औजार र उपकरण प्रयोग गरेर सिकाएमा सक्रिय भएर सीप सिक्छन्। उनीहरू सामूहिक कामप्रति बढी उत्तरदायी हुन्छन्।

सामाजिकीकरण  

सामाजिकीकरण भत्राले बालबालिकाले आफ्नो समूहको मूल्यमान्यता, चालचलन, नियम, आदर्श, तथा गुणहरू लिने, बुझ्ने र आत्मसात् गरी आफूलाई चित्रे प्रक्रिया हो। फलस्वरूप व्यक्तित्व विकास हुन्छ र समाजबाटै बालबालिकाले परिचय बनाउँछन्।  

परिवार

बालबालिकाको सामाजिकीकरणको सुरुवात घरबाटै हुन्छ। बालबालिकाको संवेगात्मक विकास, नैतिक आचरणको विकास, शैक्षिक उपलब्धि, आत्मसम्मान र सामाजिक सीप विकासका लागि आमाबाबुको भूमिका महत्वपूर्ण हुन्छ। बालबालिकासँग आमाबाबुले बिताउने समय, व्यवहार र आचरण आदिले उनीहरूको सामाजिकीकरणमा प्रभाव पार्छ। बालबालिकालाई बहिष्कार वा तिरस्कार गर्नाले उनीहरूले असुरक्षित महसुस गर्छन् र उनीहरूमा विभित्र मनोसामाजिक समस्या देखापर्न सक्छ। बालबालिकालाई सकारात्मक र स्वतन्त्र वातावरण प्राप्त भएमा जिम्मेवार, सहयोगी, सामाजिक र स्वावलम्बी बन्छन्। 

सातदेखि १२ वर्षसम्ममा बालबालिकाको विचार प्रक्रिया व्यवस्थित र तर्कपूर्ण हुँदै जान्छ। यस्तो अवस्थामा उनीहरूलाई सोध्ने मौका दिनुपर्छ। यो उमेरमा उनीहरू चनाखो, मैत्रीपूर्ण हुने तथा अन्य मानिसका विचार, विश्वास र मनोवृत्तिमा रुचि राख्ने हुन्छन्।   

विद्यालय

विद्यालयको मुख्य उद्देश्य बालबालिकामा संवेगात्मक सोच विकास गर्नु हो। विद्यालयमा हुने विभित्र क्रियाकलापले बालबालिकामा आत्मविश्वास विकास गराउँछ। शिक्षकशिक्षिकाको बोली वचन, व्यवहार र आचरणअनुसार बालबालिकाले आत्मछवि बनाउँछन। कडा अनुशासन र दण्डको वातावरणमा हुर्केका बालबालिकामा डर, निराशावादीे भावना, आत्मविश्वासको कमी र नकारात्मक सोच आदि हुन्छ।  

साथीहरू

साथीसँगको सम्बन्ध स्वस्र्फूत स्थापना हुने हुनाले यसले बालबालिकाको सामाजिकीकरणमा विशेष भूमिका खेल्छ। साथीहरूसंगको सम्बन्धमा कुनै वर्ग, धर्म, जात र तह नहुने हुनाले उनीहरू स्वतन्त्र महसुस गर्छन्। उनीहरूले परिवारभन्दा फरक व्यवहार विकास गर्ने सम्भावना पनि हुन्छ। उनीहरूले परिवारलाई भन्दा साथीलाई नजिक ठान्ने गरेको पनि पाइन्छ। त्यसैले परिवारसंग नभएको कुराकानी तथा क्रियाकलाप साथीहरूसँग हुनसक्छ। बालबालिकाले साथीहरूको समूहमा घुलमिल हुन सोहीअनुसार व्यवहार र बानी विकास गर्छन्।

सञ्चारका माध्यमहरू

विशेषगरी बालबालिका फूर्सदको समयमा मोवाइल, टेलिभिजन र कम्प्युटरमा व्यस्त हुने गरेको पाइन्छ। मोवाइल, टेलिभिजन, कम्प्युटरमा धेरैजसो व्यापार, मनोरञ्जन, हिंस्रक घटना आदिका कार्यक्रम आउने हुनाले तिनले बालबालिकामा नकारात्मक प्रभाव पार्छन्। कम्प्युटर तथा इन्टरनेटमा बालबालिकालाई सहयोग गर्ने तथा हानि पु-याउने दुवै किसिमका सामाग्री हुन्छन्। त्यसैले उचित प्रयोग नभएमा बालबालिकामा गलत सामाजिकीकरण हुने खतरा हुन्छ।  

कडा अनुशासन र दण्डको वातावरणमा हुर्केका बालबालिकामा डर, निराशावादीे भावना, आत्मविश्वासको कमी र नकारात्मक सोच आदि हुन्छ।  

अन्य  

बालबालिकाले सिक्ने माध्यम असिमित हुन्छन् जसलाई अभिभावकले सीमित गर्न सकिँदैन। त्यसैले अभिभावक, घर र परिवार सजग हुन आवश्यक छ। हाम्रो उद्देश्य बालबालिकाले घरपरिवार  भित्रैबाट चाहिँ नकारात्मक या खराब बानी नसिकून् भन्ने हेक्का राखेमा बाहिरी वातावरणबाट सिकेका कुरालाई नियन्त्रण गरी सुधार ल्याउन सकिन्छ।  

पोषण नाङ्लो

पोषण  

बालबालिकाको सर्वाङ्गीण विकास गर्न पोषणले महत्वपूर्ण भूमिका खेल्छ। पोषणकै कारण १० मा ४ जना बालवबालिकाको उचाइ उमेरअनुसार नबढेर पुड्के भएको पाइन्छ। त्यस्तै १०० जनामा ११ जना बालबालिका उमेरअनुसार तौल नपुगेर ख्याउटे हुने गरेको पाइन्छ। पोषणयुक्त खाना सही तरीकाले नखुवाएकै कारण बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता कमजोर भएको र उनीहरूलाई कुपोषण पनि भएको पाइन्छ।  

स्वास्थ्य मन्त्रालयले बनाएको नारा ‘हरेक बार खाना चार’ अन्तर्गत अन्न, कन्दमूल, दाल र गेडागुडी पर्छन्।  

यो समस्या निराकरण गर्न नेपाल सरकारले पोषणसम्बन्धी मार्गनिर्देशन पुस्तिका पनि प्रकाशन गरेको छ। पोषणयुत्त खाना केके हुन भन्ने ‘पोषण नाङ्लो’का माध्यमबाट प्रष्टयाइएको छ। उक्त नाङ्लोमा खाद्यान्नलाई सात समूहमा बाँडेर देखाइएको छ। पोषणसम्बन्धी स्वास्थ्य मन्त्रालयले बनाएको नारा ‘हरेक बार खाना चार’ जसअन्तर्गत अन्न, कन्दमूल, दाल र गेडागुडी पर्छन्। हामीले छाकैपिच्छे फरकफरक खाद्यान्न व्यवस्था गर्न नसके पनि भएकोलाई मिलाएर प्रत्येक दिन फरक तरकारी खाएर पनि पोषणको मात्रा मिलाउन सकिन्छ।  

हाम्रो परम्परागत खानाका परिकार, विभिन्न जातका मौसमी तरकारी र फलफूल उचित तरीकाले खुवाएमा सूक्ष्म पोषकतत्वभित्र पर्ने प्रोटिन, चिल्लो, कार्वोहाईटेड, भिटामिन डि, भिटामिन ए, आयोडिन, आइरन आदिको मात्रा पूर्ण हुन्छ। जसले उनीहरूको शारीरिक विकास, रोगप्रतिरोधात्मक क्षमताको विकास, मस्तिष्कको विकास र अन्य विकासका चरणमा महत्वपूर्ण भूमिका खेल्छन्। सुरक्षित मातृत्व तथा नवजात शिशु स्याहार तथा अन्य स्वास्थ्यसम्बन्धी जानकारी  लिनु परेमा १६६००११९७५६÷ ९८०१११९७५६ १६६००१४५०००÷ ०१५०१०१९४÷ १६६००१०००४६ सम्पर्क गर्न सकिन्छ।  

परिस्थतिले जन्माएको अवसर

डाक्टरहरूकाअनुसार भिटामिन डिको कमी भयो भने कोरोना भाइरसको जोखिम हुन्छ। त्यसैले बालबालिकालाई बिहानको घाममा कम्तीमा १५ मिनेटदेखि २० मिनेट लुगा खोलेर छाला देखाएर घाम तपाउने गरेमा उनीहरूको शरीरलाई चाहिने मात्रामा भिटामिन डि उपलब्ध हुन्छ। उनीहरूलाई यस महामारीको जोखिमबाट बचाउन घरमै भएका चीज जस्तै अदुवा, ज्वानो, तुलसीको पात वा मञ्जरी, बेसार र अलिकति मरिचपानीमा राखेर उमाल्ने र दिनमा २ पटक उमेर हेरेर मात्रा मिलाएर खुवाउने गरेमा स्वास्थ्य लाभ हुन्छ।   

बजारमा पाइने आकर्षक बट्टा, पेपर र प्याकेटमा भएका महँगा खानेकुरा विज्ञापनमा भनेझैं स्वास्थ्यका लागि फाइदाजनक हुँदैनन् र यस्ता खानाबाट  शरीरलाई चाहिने पोषकतत्व पाइँदैन भन्ने नानीहरूलाई अन्तरक्रियात्मक ढंगबाट बुझाउनुपर्छ। उनीहरूलाई जंकफुडको बेफाइदाका विषयमा सजग गराउन सके उनीहरूमा बिस्तारै घरमा बनाएका खानेकुरा मनपराउने बानी बस्छ। 

हामी महामारीको कारणले आर्थिक, सामाजिक, मनोवैज्ञानिक तथा अन्य समस्याबाट गुज्रिरहेका छौं। यस्तो अवस्थामा हाम्रा ससाना नानीलाई भनेजस्तो खानेकुरा खुवाउन, घुमाउन र रमाइलो गराउन घर बाहिर लान सकेका छैनौ तर नआत्तिनुस् हामी घरमै भएका दैनिक उपभोग्य वस्तुबाट पोषणयुक्त खानेकुरा खुवाउन र उनीहरूलाई रमाइलो वातावरण दिन सक्छौं।  

यही बेलामा उनीहरूलाई बजारमा पाइने आकर्षक बट्टा, पेपर र प्याकेटमा भएका महँगा खानेकुरा विज्ञापनमा भनेझैं स्वास्थ्यका लागि फाइदाजनक हुँदैनन् र यस्ता खानाबाट  शरीरलाई चाहिने पोषकतत्व पाइँदैन भन्ने नानीहरूलाई अन्तरक्रियात्मक ढंगबाट बुझाउनुपर्छ। उनीहरूलाई जंकफुडको बेफाइदाका विषयमा सजग गराउन सके उनीहरूमा बिस्तारै घरमा बनाएका खानेकुरा मनपराउने बानी बस्छ। उनीहरूसंग बसेर गर्दै देखाउँदै एक वस्तुबाट विभिन्न स्वादिष्ट परिकार बनाएर रमाइलो गर्दै खान सकिन्छ। त्यस्तै गेडागुडी भिजाउने र त्यसपछि के हुन्छ त्यसको प्रक्रिया बुझाउने र प्रत्येक दिन हेर्न दिने र टुसा हालेपछि सुप कसरी बनाउने भन्ने सिकाउने। साथै सुपबाट शरीरले पाउने पोषण तत्वबारे पनि बताइदिने।  

त्यस्तै संगै बसेर अन्य क्रियाकलापमा सहभागी गराउँदै, रमाइलोसंग नयाँनयाँ कुराको अनुभव गराउन सकिन्छ। यसले उनीहरूलाई जिज्ञासु र उत्सुक बनाउँछ। उनीहरू भोलि गएर परम्परागत खानाका विषयमा खोजी गर्ने, पकाउने, खाने र यसलाई प्रचारप्रसार गर्ने जिम्मेवारी बहन गर्न सक्छन्।  

यो एउटा उदाहरण मात्र हो, आफ्नो ठाउँ र परिस्थितिअनुसार गमला, काम नलाग्ने बाल्टी, भाँडा वा बोरामा पनि माटो भरेर नानीहरूलाई रमाइलो गराउन सकिन्छ। तरकारी र बगैंचा बनाउन सकिन्छ। ती भाँडामा खुर्सानी, धनियाँ तथा अन्य बोटविरुवा पनि रोप्न सकिन्छ जसले उनीहरूलाई प्रकृतीसंग जोडछ। त्यस्तै हेरचाह गर्दा भावनात्मक सम्बन्धको अनुुभूति गराउँछ। 

यहाँ एउटा अनुभव बाँड्न चाहें, एउटी सानी नानीले गमलामा आमासंगै खुर्सानीको बिरुवा रोपिछन्। उनको दैनिकी नै त्यसलाई दिनमा एकपटक हेर्ने, पानी हाल्ने, गोड्ने भएछ। अहिले खुर्सानी फलेको छ। उनको खुर्सानीसँग यति माया बसेछ कि कसैलाई टिप्न दिन्नन्। यसरी उनले बोटबिरुवा र मानवको सम्वन्ध माया र हेरचाहको महत्व बुझिन्। यी कुरा उनलाई बुझाउन कति समय लाग्थ्यो होला, हेर्नुस् त एउटा खुर्सानीको बोटले कति जीवन्त र व्यावहारिक ज्ञान दियो?  

त्यो हुर्कदै गरेको अबोध मानवको मानवीय व्यवहार र मानसिकतालाई यसरी नै रचनात्मक बनाउँदै गयौं भने भोलिको पिँढीबाट हिंस्रक व्यवहारको अन्त्य गर्न सकिन्छ। ख्याल गरौं, हामीले हाम्रा नानीका लागि के गरिदियौं भन्दा पनि उनीहरूलाई आफैं केके गर्न सिकायौं, त्यसले उनीहरूलाई सफल बन्न मद्दत गर्छ।

(खड्का सुनगाभा वाटिका नेपालकी निर्देशक तथा मनोविमर्शकर्ता हुन् ।)

प्रकाशित: २४ असार २०७७ १५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App