अहिले संघीयतामा प्रदेश विभाजनलाई चर्को विवादको विषय बनाइएको छ। एकल जातीय पहिचानका आधारमा राज्य बनाउने कि नबनाउने विषयमा भएको विवादले नेपाली समाजमा चर्को घृणा र विद्वेषको बीउ रोपिएको छ। दिक्कै लाग्ने गरी उग्र र हिंसक नारा लगाइएका छन्। सामाजिक सद्भाव खलबलिन थालेको छ। यस्तै, स्थिति रहे अन्ततः राष्ट्रिय अखण्डता र अस्मिता नै जोखिममा पर्ने निश्चित छ।
एकल जातीय आधारमा प्रदेशको नामांकन र सीमांकन गर्दैमा मुलुक टुक्रने छैन। यस्तै, एकल जातीय नाम नहुँदैमा पनि कुनै जातिको पहिचान भाषा, संस्कृति र परम्परा लोप हुँदैन। तर, समाजमा यही क्रममा दुर्भाव बढ्यो भने शान्ति र सद्भाव सधैँका लागि समाप्त हुन्छ। कुनै जातिका नाममा प्रदेश बन्दैमा त्यस जातिका गरिबहरूको जीवनमा कुनै सुधार हुनेछैन। यस्तै अर्को जातिका नागरिकको जीवनस्तर ओरालो पनि लाग्ने हैन। यसैले नामभन्दा त सामाजिक सद्भाव ठुलो हो। समृद्धिका लागि त शान्ति, शिक्षा, सीप र रोजगारी चाहिन्छ। समाजका सबै मिलेर नबसे शान्ति हुँदैन। आर्थिक विकास नभए रोजगारी बढ्दैन। मध्य तराईबाट पहाडी मूलका बासिन्दालाई नियोजितरूपमै लखेटियो। अहिले धेरैले पछुतो गरेका छन्। पहाडी मूलका व्यक्तिहरूले छाडेपछि गरिबरूको जीवनस्तर झन् खस्केको अनुभव गर्नेहरू पनि भेटेको छु। कुनै समूहले त्यसरी नै घरबार छाडेर विस्थापित हुनुपर्ने भयो भने स्थिति कति भयावह र दयनीय होला? कल्पना पनि गर्न सकिँदैन। अहिले जसरी नै जातीय विद्वेष र घृणा फैलाउन थालियो भने त्यस्तो दुर्भाग्य टार्न सकिनेछैन।
यसैले नेपालको माया गर्नेहरूले अलिकति अर्घेल्याइँ सहेरै पनि सामाजिक सद्भाव जोगाउन त्याग गर्नुपर्छ। हेरौँ, अब बब्लु चौधरी बनेर हार्न को तयार हुन्छ? कस्को माया ठुलो रहेछ ? मुलुक रहे होचो अर्घेलो फेरि मिलाउन सकिन्छ। समाजमा सँगै बस्नै नसक्ने अवस्था भयो भने केको विकास कहाँको शान्ति? बहस विवाद गरौँ तर मिलेर बस्नै नसक्ने अवस्था उत्पन्न नगरौँ। घृणाको खेती नगरौँ।
अन्त्यमा ऊर्दु कवि बसिर बद्रका यी पंक्ति :
'दुस्मनी जम के करो लेकिन यह गुन्जायस रहे,
जब कभी हम दोस्त हो जावेँ तो शर्मिन्दा न होँ।'
प्रकाशित: १० जेष्ठ २०६९ २३:१३ बुधबार