एक वर्षअघि वीरगन्ज चिनी मिलनजिक डोमबस्तीमा क्यामरा बोकेर छिर्दा निलो आँखा भएकी एक बालिकाले ध्यान खिचिन्। झुपडबस्तीमा अभावमा बाँचेकी ८ वर्षीया काजल मली विछट्टै राम्री थिइन्। गलामा पोते, निधारमा टिका, ओठमा मिठो मुस्कानसहित सुनौलो केशमा सजिएकी उनी तस्बिरमा झनै आकर्षक देखिइन्। वर्ष दिनभरि उनको तस्बिर मेरो मनमा गढिरह्यो।
त्यही बस्तीमा मंगलबार पुग्दा मैले उनलाई ठम्याउन सकिनँ। आँगनमा खेल्दै गरेका केटाकेटीको भिडमा मैल्ये उनलाई निक्कै खोजेँ तर भेटिइनन्।
क्यामराको लेन्सले तिनै साना नानीको तस्बिर लिन खोज्दा एउटा चिनेको मुस्कान लेन्सले कैद गर्यो। उनको गलामा पोते थिएन। टाउको मुडुलो, कान बुच्चो थियो। उनको मुस्कान भने एक वर्षअघिजस्तै निश्चल भेट्टाएँ।
यो झुपडबस्तीमा काजल दुई दाजु र आमाबासँग बस्छन्। उनी र उनका दाजु कोही विद्यालय गएका छैनन्। सरकारी शिक्षा निशुल्क भए पनि अन्य खर्च नहुँदा बस्तीका अन्य बालबालिका पनि विद्यालय जाँदैनन्। उनकी आमा बाँसका सामग्री बनाउँछिन् भने बुबा नगरपालिकामा कुचीकार छन्। काजलका निला आँखा गाउँमा सबैले मन पराउँछन्। अरु बस्तीका मान्छे आएर पनि उनको आँखाबारे सोध्ने गरेको आमा सुशीलाले बताइन्।
उनीहरूजस्तै दर्जन परिवार यो बस्तीमा बस्छन्। घरवरिपरि फोहेार छ। पानीको अभाव छ। सँधै नुहाउन नसक्दा काजलको टाउकोमा खटिरा आएपछि कपाल काटिदिएको उनकी आमाले बताइन्। 'पहिला त काजलले कपाल काट्नै मानेकी थिइन, बल्ल मानी,' आमाले भनिन्।
गाउँमा वैवाहिक समारोह हुँदा उनीहरू नयाँ लुगा र सुन्दरताका अन्य सामग्री लगाउन पाउँछन्। पहिलो तस्बिर त्यस्तै एउटा अवसरको हो। अहिले त उनको माला हराइसक्यो। टिका पनि छैन। फेरि कसैको बिहे भए उनले श्रृंगारका सामान पाउँछिन्। उनीहरूको समुदायमा सानैमा बिहे हुने चलन छ।
प्रकाशित: ६ वैशाख २०६९ २१:३० बुधबार