७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

भोको मर्न र चुल्लो निभ्न नदिने अभियान

चीनको वुहानबाट देखिएको कोरोना भाइरस अर्थात कोभिड–१९ ले अहिले विश्वभरि नै आतंक मच्चाइरहेको छ  यतिखेर यो महामारीले कसैलाई पनि अछूतो राख्न सकेन । धैरेले आफ्नो ज्यान गुुमाइसकेका छन् । कुुनै औषधि नभएका कारण यसको आतंकबाट बचाउन सरकारले यतिखेर देशभर नै लकडाउन गरेको छ । पहिलो प्राथमिकता स्वास्थ्य नै भएका कारण सबैलाई घरभित्र नै बस्न सरकारले आग्रह गरेको पनि छ  । यो नै सबैका लागि उत्तम उपाय पनि हो । त्यसैले सबै घरै बस्नु उचित त हुन्छ तर पनि यो अवधि अझै कति लम्बिन्छ भन्नेचाहिँ कसैलाई पत्तो छैन । तर पनि हिम्मत नहारी यो रोगलाई घरमा नै बसेर नियन्त्रण गर्ने सकारात्मक सोच बनाएका छन् नेपालीले । यस अर्थमा उनीहरू आज्ञाकारी बनेका छन् र महामारी नियन्त्रणका लागि सरकारलाई साथ पनि दिइरहेका छन् ।

कसरी पेट भरौँ भन्ने चिन्ता जागेका बेला भोकै मर्न नदिने अभियानमा लागेका नेपालीको काम स्तुत्य छ ।

तर यो अवस्थामा दिनदिनै ज्यालदारी मजदूरी गरी खानेहरू भने धैरै मर्कामा परेका छन् । विश्वव्यापी महामारी भाइरसले संसार हल्लाइरहेका बेला नेपालमा लकडाउन भएको पनि लामै समय बितिसकेको छ । सामान्य आमनागरिक यो पीडाबाट उम्कन सकेका छैनन् । यस्तै मर्कामा आमनागरिक नपरुन् भन्ने आशयले सेवा गर्ने हात पनि धेरैले अघि बढाएका छन् ।  

कोरोना भाइरसबाट बाँच्नु र बचाउनुु आफ्नो दायित्व त छँदैछ । तर भोकमरीबाट  बचाउने अभियानमा लागेकाहरूको सराहनीय सेवालाई पनि सबैले मान्नैपर्छ । मानव नै मानवका लागि सबैभन्दा बढी काम लाग्छ । हामी नेपाली यति शक्तिशाली र दयावान छौँ कि आजको यो अवस्थामा पनि जुटेर ठाउँ ठाउँमा चुल्लो निभ्न र भोको मर्न नदिने अभियानमा जुटिरहेका छौँ । सेवा  कर्ममा जुुटेका छन् र हात बढाइरहेका छन् ।  

यतिखेर एउटा नेपालीलाई पर्दा अर्को नेपालीले निकै सहयोग गरिरहेका देखिएको छ । ठाउँठाउँमा देखिएको छ यस्तो । मैतिदेवीमा एउटा युवा क्लबमार्फत सञ्जय श्रेष्ठको युवा जमातले खान नपाउनेलाई खाना आफैँ पकाएर घर घरमा पु¥याउँदै आइरहेको छ । उनीहरू कालीमाटीसम्म खाना पु¥याउँछन् । त्यो पनि आफ्नै साधन र स्रोत अपनाएर । एकातिर महामारीबाट बच्नु र बचाउनु सबैको दायित्व हो भने अर्कोतिर यस्तो बेलामा सरकारको मात्र मुख नहेरी सक्दो सबैले यसैगरी सहयोग गर्नु प्रत्येकको दायित्व हो । जसलाई सञ्जयहरूले उदाहरण बनेर देखाएका छन् ।  

त्यतिमात्र हैन, कोटेश्वर समाजले पनि कोटेश्वर महादेव मन्दिरमा दैेनिक ३०० भन्दा बढीलाई खाना खुवाउने व्यवस्था गरेको खबर पढिएको थियो । उता एकल महिला नेतृ लिली थापाले पनि दैनिक सयौँ भोकालाई खाना खुवाएर प्रशंसनीय काम गर्नुभएको छ । जसबाट धेरै नेपालीले सिक्न सकिन्छ ।  

भनिन्छ नि, दानीलाई कहिल्यै पनि हानि हुँुुदैन । यो कठिन समयमा पनि नेपाली दाजुभाइ, दिदीबहिनी, आमा कोही पनि भोको बस्न नपरोस् । यही मूल मर्मका साथ अभियानमा जुुुुटिरहेकालाई हृदयदेखि सलाम भन्न चाहन्छु । जसले अप्ठेरोमा मानवीयता प्रदर्शन गरेर सिंगो मानव जातिलाई नै ठूलो गुन लगाएका छन् ।

लायन्स क्लबमार्फत पनि थुप्रैले सहयोग गरिरहेका छन् । यो क्लबका इन्द्रबहादुुर कार्कीले दैनिकरूपमा अन्न वितरण गरिरहेका खबर सञ्चार माध्यमले प्राथमिकतासाथ दिएका थिए । यतिसम्म कि उनको टोललाई अब मानिसले राहत गल्ली भनेर चिन्न थालेका टिप्पणीसमेत सामाजिक सञ्जालमा छाइरहेका छन् । कोटेश्वरमा कसैको घरमा चुल्यो निभ्न लाग्यो भने इन्द्रलाई सम्झन्छन् भन्नेको संख्या धेरै भइसक्यो । उनको यो अभियान लकडाउनभरि नै चल्ने उनले नै जानकारी दिएका छन् ।  

पाइलट विजय लामाले पनि भोकबाट पीडितका लागि भोजनको व्यवस्था गर्दै आइरहेका छन् । त्यसैगरी कतिपयले मिडियामा आएर सहयोग गरेका छन् भने कतिपयले गुमनाम पनि यस्तो सहयोगलाई निरन्तरता दिइरहेका छन् । त्यसैले यस्तो महान् अभियानमा सरिकहरूलाई आफूले पनि सक्दो सहयोग गर्नुपर्छ । सहयोग गर्न सकिएन र हौसलामात्र दिइयो भने पनि उनीहरूको मनोबल बढ्छ ।  

दैनिक ज्यालदारी गरेर खाने र काम गरेको ठाउँबाट पनि लकडाउनको बहानामा पैसा नआएपछि धेरैलाई चुलो बाल्न धौ धौ परेको छ । कतिपयले काम गरेको अवधिको पैसासमेत दिएका छैनन् । दिनेले पनि थोरैमात्र दिएका छन् । कतिपयको रोजगारी नै संकटमा परेको छ । यस्तो अवस्थामा उनीहरूलाई सहयोग पु¥याउनु कम्ता दयावान काम मान्न सकिन्न ।

कैयौँ मानिस कोठामा भाडा तिरेर बसेका छन् । अर्कोतर्फ काठमाडौँका धेरै घर धनीको बाँच्ने आधार पनि घर भाडा नै भएको देखिन्छ । त्यसैले यो समस्या कोठामा बस्नेमात्र नभई घर धनीको पनि उत्तिकै हो । यस्तो बेला सबैलाई सहयोग चाहिएको छ । मात्र हुनेले अलिकति छाती चौँडा पारेमा भने धेरै समस्याको समाधान निस्कन्छ ।

कसरी पेट भरौँ भन्ने चिन्ता जागेका बेला भोकै मर्न नदिने अभियानमा लागेका नेपालीको काम स्तुत्य छ । खासमा यो हाम्रो पूर्वीय दर्शनको मर्म पनि हो । चाहेर वा रहरले कसैले पनि मागेर खाँदैन । यही बुझेर बाध्यतामा परेकालाई सहयोग गर्नेहरू जति प्रशंसा गरे पनि नपुग्ने मानका लागि योग्य छन् ।

कोरोना महामारीले मानिसलाई यस्तो परिबन्दमा धकेलिदिएको छ कि काममा जाउँ खुला छैन, घरभित्रै बसौँ भोकले मरिएला भन्ने डर । त्यसैले रोगबाट सतर्क भएर बाँच्नुपर्ने अवस्था त छ नै, साथै भोक पर्ने डरबाट मुक्ति पनि उत्तिकै आवश्यक छ । यस्तो अवस्थामा अरूको ज्यान जोगाइदिन अघि सर्नेहरू साँच्चै सलाम गर्न लायक पात्र हुन् भन्दा फरक पर्दैन ।  

थाहा छैन, यो महामारी कहिले रोकिन्छ । यसले कतिलाई मार्छ र कतिलाई पीडित तुल्याउँछ । यस्तो अवस्थामा अझै धेरै समय स्थिति सहज नहुन सक्छ । त्यसैले यतिबेला सरकारको मात्र मुख नहेरी सबैले सक्दो सहयोग गर्नुपर्छ सबैलाई । अनिमात्र विवेकमा आधारित समाज निर्माण हुन सक्छ । अनिमात्र हामी विवेकशील प्राणीमा गनिन सक्छौँ ।

तसर्थ ठूलो होइन, धेरै हैन, सकेको सहयोग गरौँ । हामी हनुुमान पनि होइनौँ जसले अनाजको पहाड नै उठाउन सकोस् । थोरै थोरै सहयोगले पनि भोकमरीबाट धेरैलाई बचाउन सकिन्छ । त्यसैले भोकै मर्न नदिने अभियान सुरु गर्नु नै ठूलो कुुरा हो । वास्तवमा मृत्युपछि सँगै केही जान्छ भने त्यो दान नै हो भन्ने कुरा विभिन्न धार्मिक ग्रन्थले उल्लेख गरेका छन् । हुन पनि जलेर जाने शरीरका लागि लाखौँको सम्पत्ति थुपार्नुभन्दा जिउँदा पेटहरूका लागि केही छाकको बन्दोबस्त गर्नुभन्दा ठूलो परोपकारी काम केही हुन सक्दैन । यत्ति बुझ्न सके कोही नेपाली खान नपाएर मर्नु पर्दैन । चाहे जस्तोसुकै महामारी, जहिलेसम्म जारी रहोस् ।  

 

 

प्रकाशित: २९ जेष्ठ २०७७ १०:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App