१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

बाच्छी पाल्न किन कन्जुस्याइँ?

बाच्छीलाई दूध दिनु भनेको घाटाको कारोबार हो भन्ने सोच गाई पाल्नेसँग भएपछि गाईको संख्या बढ्ने होइन घट्दै जाने अवस्था छ। नेपालमा दूधालु गाईको संख्या दिन प्रतिदिन घट्नुको सबैभन्दा प्रमुख कारण यो हो।

शनिबार दुग्ध विकास संस्थानको ४२ औं वार्षिक उत्सवमा पनि दूधको विषयमा निकै चिन्ता व्यक्त गरे नीति निर्माणमा बसेकाहरुले। दूध नपाउँदा करोडौं रुपैयाँ लगानी भएका धुलो दूध कारखानाहरु क्षमताअनुसार चलेका छैनन्।

विदेशबाट धुलो दूध ल्याएर हिउँदको समयमा घोलेर सहरका उपभोक्ताले खाइरहेका छन्। वार्षिक आठ प्रतिशतले दूधको माग बढे पनि उत्पादन भने चार प्रतिशत मात्र बढेको छ। माग पूरा गर्नको निम्ति उत्पादन बढाउन खासै प्रभावकारी काम हुन सकेको छैन।

दूध उत्पादन र गाई पालनको सन्दर्भमा केही दिन अघिको प्रसंग। बालुवाटारबाट गैरीधारातिर जाँदै गर्दा सडकमा ६/७ वटा गाई देखिए। चराउनको लागि कतै लगिँदै थियो। तीमध्ये दुई वटा बाच्छी थिए। जर्सी र होल्सटिन जातका गाईको कल्चौडा निकै ठूला थिए। एक छाकमै कम्तीमा पनि ८/१० लिटर दूध दिने जातका गाई थिए। तर बाच्छीहरु भने निकै ख्याउटे र रोगी। घरिघरी सडकमा हिँडिरहेका माउको कल्चौडातिर मुख लगेर ती बाच्छीहरुले आफू दूधबाट अतृप्त रहेको संकेत गरिरहेका थिए। गोठालोले धपाइरहेको हुँदा उनीहरु आफ्नी आमाको कल्चौडाबाट दूध चुस्न पाइरहेका थिएनन्।


आमा स्वस्थ भइन् भने तिनका बच्चा स्वस्थ हुन्छन्। यो मान्यता मानिसमा मात्र नभै पशुपन्छीदेखि कीटपतंगसम्म लागु हुन्छ। तर, भोली बन्ने आमा बच्चादेखि नै रोगी र ख्याउटे हुने हो भने कसरी उसले जन्माउने बच्चा स्वस्थ अनि दिने उत्पादन राम्रो हुनसक्छ? बच्चामै आवश्यक पर्नेजति क्यालोरी नपुगेपछि ती गाईका बाच्छीले भोलि माउ बन्दा राम्रोसँग दूधको उत्पादन पक्कै दिनेछैनन्।

राम्रो वातावरण र माउको दूध खान पाएको अवस्थामा तीन वर्षमै गाईको बाच्छी वयस्क भएर ब्याउँछन्। सडकमा देखिएका ती बाच्छीहरु माउ बन्नसक्ने समयसम्म बाँच्ने सम्भावना कम थियो। शरिरभरि गोबर लागेको, रौं झरेका र कमजोरीले गर्दा ती बाच्छीहरु खोच्याइरहेका थिए। दूध दिने माउको अवस्था पनि राम्रो भन्न मिल्दैनथ्यो। शरिरभरि गोबर टाँसिएको दृश्यले तिनीहरुले राम्रो स्याहार सुसार पाएका छैनन् भन्न सकिन्थ्यो।
बेलाबखतमा कहिले भारत र कहिले चीनबाट गाईभैंसी ल्याउने चर्चा हुन्छ काठमाडौंमा। तर, आफैलाई दूध नपुगिरहेको भारतले दिने संभावना छैन। भारत र चीनसँग अनावश्यक पहल गर्नुको बदला जन्मेका बाच्छीको स्याहाँर सुसार गरेमा सबैभन्दा उपयुक्त हुनेछ।

काठमाडौंमा व्यावसायिक गाई पालन गर्ने थोरै भए पनि सुरुवात भएको पाइन्छ। तर, व्यासायिकताको नाममा भोली पर्ने समस्या प्रति आँखा चिम्लिएको अवस्था छ। एउटा गाई राम्रो स्याहार पाएको अवस्थामा ७/८ पटक ब्याउँछ। त्यसपछि मानिसको नयाँ पुस्ता आएजस्तै गाईको पनि चक्र घुम्छ। अर्थात, राम्रो स्याहार पाएको बाच्छीले तीनदेखि चार वर्षमा ब्याउँछ र दूध दिन सुरु गर्छ। तर, बाच्छी हुँदाको बखतमै माउको दूध खान नपाएको बाच्छी एक त लामो समयसम्म बाँच्दै बाँच्दैन। बाँचिहाले पनि तिनीहरु ब्याउने समयपछि सर्छ। दूधको मात्रा घट्छ।

किसानको ध्यान धेरै दूध दुहुनेमा मात्रै छ। बाच्छीलाई दूध दिनुपर्छ र भोलि यो बाच्छी स्वस्थ भयो भने यसले पनि राम्रोसँग दूध दिन्छ भन्ने सोच राखेको पाइँदैन। बरु बाच्छीले खाने आधा लिटर दूध पनि बेच्न सकियो भने अर्को १५/२० रुपैयाँ कमाइ हुन्छ भन्ने सोचाइको परिणामले बाच्छीहरु ख्याउटे र रोगी हुन पुगेका हुन्। उनीहरुले बिचार गर्दैनन् कि, यो बाच्छीलाई राम्रोसँग हुर्काउन सक्यो भने तीन वर्षमै ६०/७० हजार रुपैयाँमा बेच्न सकिन्छ भनेर। तत्काल गाईको बाच्छीले खाने दूधले गर्दा यति घाटा हुन्छ भन्दै माउको दूधसमेत खान नदिएको अवस्था छ।

अन्यथा नलागोस्। गाउँघरतिर एउटा पुरानो लोकोक्ति छ-'छोरी पाल्नेले बुहारी पाल्दैन, भैंसी पाल्नेले गाई पाल्दैन।' गाई पाल्ने शैली भन्नुपर्ने भएको छ, ‘दूध बेच्नेले बाच्छी पाल्दैन।' किनभने, दूध बेच्नेलाई एक थोपा दूध भए पनि बढाउन पाए बढी कमाइ हुन्छ भन्ने सोचाइ रहन्छ। बाच्छीलाई दूध दिनु भनेको घाटाको कारोबार हो भन्ने सोच गाई पाल्नेसँग भएपछि गाईको संख्या बढ्ने होइन घट्दै जाने अवस्था छ। नेपालमा दूधालु गाईको संख्या दिन प्रतिदिन घट्नुको सबैभन्दा प्रमुख कारण यो हो।

हाम्रो संस्कार र सोच यस्तो भैसकेको छ कि सुनको अन्डा पार्ने कुखुरीलाई दिनदिनै दाना पानी दिएर स्याहार गरेर दैनिक सुनको अन्डा लिने धैर्य छैन। बरु त्यो कुखुरीलाई मार्न पाए दिनका दिन स्याहार गर्नु नपर्ने एकैपटक सबै अन्डा लिन पाइन्छ भन्ने सोचाई छ। यस्तै सोचाइले कुखुरी पनि रहन्न र अन्डा आउने बाटो पनि बन्द भएको छ।

सबैको चाहना तत्काल फाइदा लिइहालौं भन्ने छ। केही वर्षसम्म कुर्दा यसबाट दोब्बर, तेब्बर फाइदा हुन्छ भन्ने जान्दा जान्दै पनि त्यतातिर धेरेको ध्यान पुगेको देखिँदैन। पुग्दो हो त बाच्छीलाई दूध प्रशस्त खान दिएर हुर्काउने र पछि त्यसलाई बेच्ने वा त्यसैको दूध बेच्ने बुद्धि र सोच पक्कै आउँथ्यो।

प्रकाशित: २ श्रावण २०६७ ०१:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App