३० माघ २०८१ बुधबार
image/svg+xml
ब्लग

युवाले देख्ने सपना राज्यले देखे देश बन्छ!

नेपालको भविष्य युवामा निहित छ । युवाकै योगदानले नेपालको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन ल्याएको पनि हो । युवालाई साहस, सिर्जनशीलता, र उच्च आत्मविश्वासका कारण राष्ट्रनिर्माणका लागि महत्त्वपूर्ण मानिन्छ । यद्यपि, आजका नेपाली युवाहरूले सामना गरिरहेका व्याप्त बेरोजगारी र  त्यसले बाध्य पारेको वैदेशिक रोजगार यात्राजस्ता समस्याका कारण युवाहरूको भविष्यमा अनिश्चितता देखिन्छ । 

यस्तो असहज अवस्थामा पनि केही युवा दत्तचित्त भएर व्यवसायमा लागेका छन्। यस्तै सिर्जनशील युवा अन्यका लागि प्रेरणा र मार्गदर्शक बन्न सक्छन् । निराशा र समस्याका कुरा मात्रै गरेर हुँदैन, हरेक समस्या भित्र समाधान जरुर हुन्छ भन्ने कुरा यस्तै उद्यममा लाग्ने युवाले पुष्टि पनि गरेका छन् । समस्याबाट भागेर होइन जुधेर सामना गर्न सके सफल भइने तथ्य यस्तै कर्मशील युवाले पेस पनि गरेका छन् ।

‘सबैले यस्तै मेहनत गर्ने हो, भने पासपोर्ट बोकेर विदेश हिँड्नु पर्ने थिएन होला है ?’, मैले फेरी प्रश्न सोधे । ‘देशमै गर्न सक्छु भन्ने हिम्मत चाहिँ हुनै पर्छ दाइ,’ ती भाइले आफ्नो बुझाई सुनाए । 

युवाहरू समाजका रक्षक र लोकतन्त्रका पहरेदार पनि हुन् । हरेक अप्ठेरोमा युवा शक्ति अगाडि लाग्दा नै मुलुकले समेत निकास पाएको छ । अवसर र सम्भावनाले भरिपूर्ण नेपालमा युवाले सकारात्मक सोच राखेर मात्रै अघि बढ्ने हो भने परिवर्तन धेरै पर पनि छैन । आजको लेख यस्तै युवाले देखाएका साना सपनाहरूका बारेमा केन्द्रित बनाएको छु । ......

एक दिन चिया पिउनको लागि राजधानीको खोला कोरिडोरको एउटा चिया पसलमा पुगे । पसले भाइले सोध्नुभयो, ‘कुन चिया खाने ? मसला चिया, कि मड्का चिया ?’ 

‘मसला चिया’ मैले भने । भाइ अलि बिजी थिए । म चियाका पारखीहरू गफिन थाले। मेरो चिया आयो, अनि मैले सोधे, ‘भाइ तपाई नै पसलको मालिक हो ?’ उत्तर आयो, ‘हो दाइ । अलि अलि लगानी गरेको छु ।’ 

मैले फेरि सोधे, ‘कस्तो छ व्यापार ?’  ती भाइले दिएको जवाफअनुसार दिनमा ८ देखि १० हजार कमाई हुने रहेछ । जीवन राम्रै चलेकै सुनाए । ‘घरमा भाइबहिनी र बा आमालाई हेरेकै छु,’ उनले सन्तोषजनक अनुभूतिसहितको जवाफ दिए । 

‘सबैले यस्तै मेहनत गर्ने हो, भने पासपोर्ट बोकेर विदेश हिँड्नु पर्ने थिएन होला है ?’, मैले फेरी प्रश्न सोधे । ‘देशमै गर्न सक्छु भन्ने हिम्मत चाहिँ हुनै पर्छ दाइ,’ ती भाइले आफ्नो बुझाई सुनाए । 

म पछिल्लो समय युवालाई कसरी देशमै रोक्न सकिएला कसरी खस्किँदो अर्थतन्त्रलाई हामी आफै मिलेर उकास्न सकिएला भन्नेमा अलि बढी घोत्लिन थालेको छु । कतै युवा देखे भने उनीहरूका जिज्ञासा बुझ्न मन लाग्छ ।

यही सिलसिलामा अर्को दिन एउटा रेस्टुरेन्टमा पुगे ।  त्यहाँ पनि मैले रेस्टुरेन्टमा काम गर्ने एउटा बहिनीसँग संवाद गरे । उनी रेस्टुरेन्टमा काम गर्न थालेको १० दिन भएछ । दक्षिण कोरिया तयारी गर्दै रहिछन् । 

‘कोठामा बस्नु भन्दा यहाँ काम गर्दा उता गए पछि सजिलो होला भनेर काम गर्न थालेकी हुँ,’ ती बहिनी भन्दै थिइन्,‘तर म धेरै बस्दिनँ कोरिया । तीन–चार वर्ष बस्छु, अनि नेपाल फर्किन्छु।’ नेपाल फर्केपछि एउटा रेस्टुरेन्ट चलाउने योजनामा रहिछन् । ‘त्यही लगानी जुटाउन कोरिया जान लागेको दाइ,’ ती बहिनीले आफ्नो योजना सुनाइन ।

यी उदाहरण हेर्दा युवालाई केही न केही गर्ने आँट पनि छ, तर कतिसँग स्रोत छैन भने कतिसँग आइडिया छैन । यस्तो अलमलमा परेकालाई राज्य र सरकार सहयोगी भइदिने हो भने युवाले मुलुकको अर्थतन्त्र धान्नेमा कुनै शङ्का छैन ।

केही महिना अघि कास्कीको घान्द्रुक पुगेको थिए नजिकै देखिने सेतो हिमाल र सुन्दर दृश्यले मन आनन्दित थियो । बास बस्ने क्रममा एक युवा जोडीले त्यो होटेल चलाएको देखेर मेरो मन औधी खुसी थियो । स्वदेशी र विदेशी पर्यटकले होटेल भरिभराउ थियो । त्यो जोडीमा राजनीतिक र आर्थिक कारण देखाउँदै बिदेसिने र बिदेसिन नसकेका आम युवाजस्ता कुनै गुनासो थिएन। न उनीहरूमा देशमै केही गर्न नसकेको भन्ने गुनासो थियो, न विदेश गएर अरूले कमाए जस्तो कमाउने रहर देखिन्थ्यो । दत्तचित्त भएर आफ्नै ठाउँमा होटेल चलाएर बसेका थिए । त्यो जोडीलाई कसरी हुन्छ होटेलमा आएका पाहुनालाई राम्रो सेवा दिनु थियो ।

उनीहरूलाई देख्दा लगनशील भएर काम गर्दा देशमै गर्न सकिन्छ भन्ने राम्रो पाठ देखिन्छ। मेहनत, लगनशीलता र इमानदार हुने हो भने कुनै पनि व्यवसाय अघि बढ्न सक्छ भन्ने उदाहरण घान्द्रुकका ती जोडीले मलाई राम्रैसँग देखाए । 

अब राज्यले थोरै पुँजीबाट सानो क्षेत्रलाई लक्षित गरी नयाँ प्रविधि र शैलीलाई अपनाएर युवालाई व्यवसायी बनाउन पहल गर्ने हो भने बेरोजगार युवा स्वदेशमै स्वरोजगार हुन सक्छन्। 

केही समय अगाडी बिबिसीको एउटा कार्यक्रममा म बेलायत गएको थिएँ। कफी पिउन जाने क्रममा एक युवा उद्यमीसँग भेट भयो। संयोग, त्यो कफी पसल उनकै रहेछ। बेलायतमा उनको ३ वटा कफी सप रहेछ, धेरै युवालाई रोजगारी दिएका रहेछन् । सामान्य चिनजान पछि मैले ‘कफीसप राम्रो चलाउनु भएको रहेछ । कफी मिठो रहेछ’ भनेँ । उनले धन्यवाद भने । कुराकानीका क्रममा बिजनेसका लागि त्यहाँ सबै सिस्टमले चल्ने भएकाले समस्या नभएको सुनाए । 

मैले पनि मन मनै सोचेँ, राज्य सिस्टममा चल्ने हो भने जनताले दुख नपाउने रहेछन्। दैनिक हजारौँ युवा रोजगारीको लागि बिदेसिनु पर्ने थिएन होला । राजनीतिक अस्थिरताले देशको अवस्था गम्भीर मोडमा छ । केही युवा बिदेसिएका छन् भने बाँकी रहेका युवाहरू आफ्नै देशमा केही गर्नु पर्छ भनेर लागि परेका छन् । उनीहरूलाई राज्य सहयोगी बनिदिए मात्रै पनि त हुन्थ्यो नि !

माथिका केही दृष्टान्त मात्र होइन मुलुकका विभिन्न स्थानमा गुणस्तरीय सेवासहित सानो लगानीमा खुलेका क्याफेले पनि मनग्य आम्दानी गरिरहेका छन् । अब राज्यले थोरै पुँजीबाट सानो क्षेत्रलाई लक्षित गरी नयाँ प्रविधि र शैलीलाई अपनाएर युवालाई व्यवसायी बनाउन पहल गर्ने हो भने बेरोजगार युवा स्वदेशमै स्वरोजगार हुन सक्छन्। 

उद्यमी बन्ने रहर बोकेका तर, सानो पुँजीका कारण आँट गर्न नसकेका युवालाई सरकारले स्टार्टअपमा लैजान सके युवालाई देशमै सपना देख्न सक्ने बनाउन सक्छौँ । युवालाई  यही देशमा रोक्न र सृजनशील बनाऊ सके बन्द हुने अवस्था रहेका कलेजले विद्यार्थी पाउने थिए। आफन्त मर्दा मलामी जाने मान्छे हुने थिए, युवा सचेत भई दिए सरकारी कामको लागि ठाउँ पिच्छे घुस दिन पर्दैन थियो होला, दैनिक हजारौँ युवा रोजगारीको लागि विदेश जाने अवस्थाको अन्त हुने छ ।

जय देश जय युवा । 

प्रकाशित: १० माघ २०८१ १५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App