९ मंसिर २०८१ आइतबार
image/svg+xml
ब्लग

होलेरी प्रकरणपछि फेरिएको राजनीति

रोल्पाको होलेरी बजार। इन्सेटमा जनमुक्ति सेनाका कमाण्ड नन्दकिशोर पुन। पुन अहिले उपराष्ट्रपति छन्।

२०५८ असार २८ गते तत्कालिन नेकपा माओवादीले नेपाल बन्दको घोषणा गरेको थियो। नेपाल बन्द आह्वान गरेपछि माओवादीले बन्द सफल पार्न सैन्य आक्रमण पनि बढाउने गर्थ्यो। यो त्यहि हमला थियो जसले नेपालको राजनीतिमा हलचल नै ल्याइदियो। माओवादीको राजनीतिक फौजी जीवनमा यो यस्तो हमला बन्यो जसले तत्कालिन प्रधानमन्त्रीको कुर्सी नै हल्लाईदियो। रोल्पाको होलेरी आक्रमण । यो प्रकरणकै कारणले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिए। प्रधानमन्त्री भन्दा पहिले गृहमन्त्री रामचन्द्र पौडेलले राजीनामा दिए। माओवादी र (तत्कालिन) शाही सेना पहिलो पटक आमने सामने भए। फायर नखोले पनि सेना र माओवादीको त्यो पहिलो भेट थियो। यही घटनाले माओवादीलाई सेनासँग लड्न सकिन्छ भन्ने मनोवल भरिदियो। होलेरी प्रकरण नेपाली राजनीति र माओवादी जीवनमा एउटा ‘टर्निङ प्वाइन्ट’ थियो । यही घटनापछि राजा ज्ञानेन्द्रले शक्ति हातमा लिने रणनीतिमा लागे भन्दा फरक पर्दैन।

दाङको योजना ‘एक्सपोज’ भएपछि होलेरी

होलेरी आक्रमण आकस्मिकतामा भएको त्यतिबेलाका माओवादी सैन्य कमाण्डरहरु बताउँछन्। असार २८ गतेको नेपाल बन्दलाई सफल बनाउनको लागि माओवादीले सुरक्षा क्याम्पहरुको रेकी गरिरहेको थियो। त्यो मध्ये दाङको सशस्त्र तालिम केन्द्र भालुवाङ छानिएको थियो। तर रेकी पुरा भइसके पनि योजना एक्सपोज भएपछि माओवादीले यसलाई परिवर्तन गर्नुपर्‍यो। अन्तिम अवस्थामा योजना सार्वजनिक भएपछि तनावमा रहेका माओवादी सेनाका कमाण्डरहरुले आक्रमणलाई आधार क्षेत्रमा लैजाने निर्णय गरे। कमाण्डरहरु थिए नन्दकिशोर पुन र वर्षमान पुन। नन्दकिशोर पुन अहिले उपराष्ट्रपति छन् भने वर्षमान पनि मन्त्री भइसकेका छन्। उनीहरुले योजनालाई रोल्पा केन्द्रीत गरे। दुवै जना रोल्पाकै बासिन्दा भएकाले भूगोलले योजना बनाउन उनीहरुलाई सहज थियो । यसैले रोजाईमा पर्‍यो रोल्पाको होलेरी। होलेरी प्रहरी चौकी माथि जनयुद्धको सुरुवाती दिनमै पनि माओवादीले आक्रमण गरिसकेको थियो। सरकारले प्रहरीको संख्या बढाएर त्यहाँ राखेको थियो।

यो त्यहि हमला थियो जसले नेपालको राजनीतिमा हलचल नै ल्याइदियो। माओवादीको राजनीतिक फौजी जीवनमा यो यस्तो हमला बन्यो जसले तत्कालिन प्रधानमन्त्रीको कुर्सी नै हल्लाईदियो।

तर होलेरी चौकीमा राती प्रहरी नबस्ने रिर्पोट आएपछि कसरी आक्रमण गर्ने भन्नेमा माओवादी अन्यौलमा थियो। दाङको योजना सार्वजनिक हुनु र होलेरी चौकीमा प्रहरी नवसी गाउँमा विकेन्द्रीत हुनुले माओवादीको सैन्य योजना मेल खाइरहेको थिएन। राती गाउँमा बसे पनि विहानपख प्रहरी चौकीमा फर्कने सुँइको पाएपछि आक्रमण विहानमा गर्ने योजना बनाएको तत्कालिन कमाण्डर नन्दकिशोर पुनले आफ्नो पुस्तक इतिहासका रक्तिम पाइलामा उल्लेख गरेका छन्। ‘वैरीहरु राती पूरै अल आउट हुने भएकोले भेट्टाउन सम्भव थिएन। त्यसकारण विहान भित्रिने बेलामा चारैतिरबाट घेराउ गरी आक्रमण गर्नुपर्ने स्थिति बन्यो’, पुनले उल्लेख गरेका छन्। विहानमा लडाई सुरु गर्ने योजना बनाएपछि माओवादीले वरपर हेलिकप्टर ल्याण्ड हुन सक्ने स्थानमा समेत नियन्त्रण गरेको थियो ।

विहानपख क्याम्पमा प्रहरीहरु आए पछि माओवादीले माइकिङ गरेर प्रहरीलाई आत्मसमर्पण गर्न भने पनि प्रहरीले पहिलो फायर खोल्यो । केहीबेरको भिडन्तपछि माओवादीले ७२ जना प्रहरीलाई आफ्नो नियन्त्रणमा लियो। लडाईमा १ जना प्रहरीले ज्यान गुमाए । विहान ६ बजे होलेरीबाट रिट्रिट (फर्किएको) भएको पुनले पुस्तकमा उल्लेख गरेका छन्।

माओवादीले नियन्त्रण लिएका प्रहरीलाई मुक्त गर्न तत्कालिन शाही सेना परिचालन भएको यो पहिलो घटना थियो। होलेरी आक्रमणको भोलीपल्ट सेनाका तीन वटा हेलीकप्टर रोल्पाको नुवागाउँ पुगे। त्यतिबेला सरकारले ४ नम्बर बाहिनी सुर्खेतलाई रेस्क्यू योजना बनाउन निर्देशन दिएको थियो। सुरुमा सेना आयो भन्ने विश्वास नै नभएको पुनले उल्लेख गरेका छन्। सेना माओवादी भएको ठाउँ नजिकै झरेपछि कब्जामा रहेका प्रहरीलाई त्यहाँबाट अन्यत्र हिँडाएर आफुहरुले पोजिसन लिएको उनले स्मरण गरेका छन्।

सेनाको हेलिकप्टरलाई माओवादीले आक्रमण गर्न थालेपछि एउटा हेली रोल्पाको बुढागाउँमा इमर्जेन्सी अवतरण गरिएको थियो। तत्कालिन सैनिक सचिव विवेक कुमार शाहले पनि आफ्नो पुस्तकमा माओवादीले चलाएको गोली लागि दुई हेलिकप्टर ग्राउन्डेड भएको लेखेका छन्।

होलेरी घटनालाई इतिहासमा माओवादी र राजा ज्ञानेन्द्रले आफ्नो पक्षमा प्रयोग गरे। चर्चित होलेरी प्रकरणले माओवादीलाई नयाँ उचाई दियो भने राजा ज्ञानेन्द्रलाई पनि आफ्नो स्वार्थपूर्ति गर्ने ठाउँ बनाइदियो।

नुवागाउँमा माओवादीले सेनालाई पत्र पठायो। पत्रको भाषा यस्तो थियो, ‘तिमीहरुलाई आक्रमण गर्ने तत्काल हाम्रो योजना छैन, तिमीहरु किन आयौ ? लड्नै आएको भए लड्न बाध्य हुनेछौं । तिमीहरु पूरै हाम्रो घेरामा छौ। तिमीहरु उम्कने चान्स छैन।’ त्यो पत्र माओवादीका एक कार्यकर्ताले सेनालाई लगेर दिएको पुनले आफ्नो पुस्तकमा स्मरण गर्छन । तर उक्त पत्रको जवाफ नदिएर झनै हेलिकप्टर घुमाएपछि हेलीमाथीको आक्रमणलाई बढाएपछि सेनाले पत्रको जवाफ पाएको उनले बताएका छन्। पुनका अनुसार सेनाको पत्रमा आफुहरु लड्न नभई ट्रेनिङको लागि आएको उल्लेख थियो। त्यसपछि माओवादी सेनाका दुई जना र शाही सेनाका दुई जनाबीच वार्ता भएको थियो। वार्ता अनुसार माओवादीले सेनाको बाटो छोडिदिने र सेना फर्कने सहमति भएको थियो।

होलेरीमा सेना सफल हुन नसकेको तत्कालिन सैनिक सचिव शाहले आफ्नो किताब ‘मैले देखेको दरवारमा’ स्वीकार गरेका छन्। राम्रोसँग योजना नबनाउनु, हतारमा योजना बनाउनु र स्थानीय सैनिक कमाण्डरसँग जंगी अड्डाको समन्वय नहुनु जस्ता कारण शाहले औंल्याएका छन्।

यो घटनाले माओवादीलाई चर्चाको शिखरमा पुर्‍यायो । अर्कोतर्फ सेना र सरकारबीच द्धन्दसमेत बढायो । यसको प्रत्यक्ष फाइदा माओवादीले उठाए। सेनासँगको आमनेसामने भएको माओवादीको पहिलो अनुभव थियो । होलेरीमा सेना नलडेपछि माओवादीको मनोवल बढेको थियो । होलेरीमा सेना ब्याक भएपछि गिरिजाप्रसाद कोइराला पनि ब्याक हुनुपर्यो । यो घटनाले सेना र निर्वाचित सरकारबीच दुरी बढाइदियो। यही घटना पछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादीलाई पहिलो पटक शान्ति वार्तामा ल्यायो। यो घटनाले ७२ जना प्रहरीलाई एक साथ नियन्त्रणमा लिँदा पनि कारबाहीको लागि पठाएको सेना आफ्नो विरुद्ध नलडेपछि माओवादीले यसलाई कमजोरीको रुपमा लिँदै सेनाका विरुद्ध युद्धको योजना बनाउन थाल्यो। फलस्वरुप वार्ता भंग भएपछि दाङ लगायतका ठाउँमा सेनाका व्यारेकमाथी माओवादीले पहिलो फायर खोल्यो। सेनासँग लड्ने हिम्मत होलेरीबाटै आएको माओवादी सेनाका तत्कालिन कमाण्डर पुनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। सेनामाथी आक्रमण गर्दै युद्धविराम भंग गरेपछि देशमा संकटकाल घोषण गर्दै सेना परिचालन भयो भने विस्तारै राजा ज्ञानेन्द्रले आफुलाई सक्रिय बनाउन थाले। होलेरी घटनालाई इतिहासमा माओवादी र राजा ज्ञानेन्द्रले आफ्नो पक्षमा प्रयोग गरे। चर्चित होलेरी प्रकरणले माओवादीलाई नयाँ उचाई दियो भने राजा ज्ञानेन्द्रलाई पनि आफ्नो स्वार्थपूर्ति गर्ने ठाउँ बनाइदियो।

प्रकाशित: १ फाल्गुन २०७४ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App