१० आश्विन २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

आँखामा परेको कसिङ्गर निकाल्न अरू चाहिन्छ!

मुक्तक

१) मुक्तक

जीर्ण खोलामाथि बनेको त्यो पुल कामै लागेन

जोगाउँदै आएको थिएँ झर्‍यो फूल, कामै लागेन

एक फाइदा गाउँमा सडक आयो, डोजर चल्यो,

अर्को घाटा भयो, सुक्यो पानीको मूल कामै लागेन।

२) मुक्तक

अत्यधिक हुनुभन्दा अलि कम बन्न सिक,

अति भए खती हुन्छ, उत्तम बन्न सिक।

अर्काको कमजोरी देखेर खुसी हुनुभन्दा,

दुखाइमा औषधि, घाउमा मलहम बन्न सिक।

३) मुक्तक

सम्झना आउँछन् बालापनमा कस्तो थिएँ म

थाह छैन कुन्नि कहाँ पुगे कति झुक्किएँ म

पढ्ने बेला चासो न चिन्ता लफङ्गा भइयो,

अहिले मजदुरी गर्दै पसिना घोट्दै विदेसिएँ म।

४) मुक्तक

सक्दैनौ आफूले आफैँलाई उचाल्न, अरू चाहिन्छ,

मृत्युपश्चात् पनि काँध हाल्न अरू चाहिन्छ।

तिमी नभए पनि स्वतन्त्र जिउँछु कसरी भन्यौ,

आँखामा परेको कसिङ्गर निकाल्न अरू चाहिन्छ।

५) मुक्तक

आँखामा रोदन बोकेर मनमा पिर सजाएको छु,

चाहिने जति राखेको छु बाँकी सबै हटाएको छु।

आउनुहोस्, पाउका बुट बजार्नुस् - अब दुख्दैन मलाई,

म त तिम्रो भलो चाहने मान्छे हुँ, चोट पचाएको छु।

प्रकाशित: १० आश्विन २०८३ १३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App