१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘पेड्डी’ मा महिलालाई वस्तुका रूपमा प्रस्तुत गरियो, यो गलत थियो : जान्हवी कपूर

बलिउड अभिनेत्री जान्हवी कपूर केही महिना अगाडि प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘पेड्डी’ मा आफ्नो भूमिकालाई आवश्यकताभन्दा बढी यौनिक रूपमा प्रस्तुत गरिएको स्वीकार गरेकी छन्।  

उनले फिल्ममा महिलालाई केवल एउटा वस्तुका रूपमा देखाइएको र यस्तो प्रस्तुति गलत भएको बताएकी छन्। यस घटनाप्रति आफू जीवनभर लज्जित रहने पनि उनले खुलासा गरेकी छन्।

उनी आफ्नो फिल्म ‘पेड्डी’ लाई लिएर विवादमा परेकी थिइन्। फिल्ममा उनको शरीरलाई प्रस्तुत गरिएको तरिकाप्रति दर्शकहरूले तीव्र असन्तुष्टि जनाएका थिए। यस विषयमा फिल्मका निर्माताहरूले समेत माफी मागेका थिए।

हाल वरुण धवनसँगै ‘कफी विद करण ’ को तेस्रो एपिसोडमा पुगेकी जान्हवीले यस विवादबारे पहिलोपटक खुलेर आफ्नो धारणा राखेकी छन्।

जान्हवीले फिल्ममा आफ्नो पात्रलाई आवश्यकताभन्दा बढी वस्तुका रूपमा प्रस्तुत गरिएको स्वीकार गर्दै कथामा आफ्नो पात्रलाई देखाउने तरिका उचित नभएको बताइन्। यस घटनाले आफूलाई निकै नराम्रो लागेको र आफू जीवनभर यस विषयमा लज्जित रहने उनको भनाइ छ।

२९ वर्षीया अभिनेत्रीले सुटिङकै समयमा यस्ता विषयप्रति अझ बढी सचेत हुनुपर्ने आफूले महसुस गरेको पनि बताइन्।

जान्हवीका अनुसार फिल्ममा उनको पात्रको कथा र व्यक्तित्वलाई प्राथमिकता दिनुको सट्टा शरीरलाई बढी महत्त्व दिइएको थियो। उनले आफ्नो अनुभवबाट अन्य फिल्म निर्माता तथा निर्देशकहरूले पनि पाठ सिक्ने आशा व्यक्त गरेकी छन्

कार्यक्रमका सञ्चालक करण जोहरले फिल्मलाई लिएर भएको विवादलाई कसरी सामना गरिन् भनेर प्रश्न गर्दा जान्हवीले यस्तो भनिन्, 'मलाई लाग्छ, त्यो फिल्ममा धेरै मानिसहरूले निकै मेहनत गरेका थिए। त्यसैले यस विषयमा मैले के भन्नुपर्छ भन्ने नै बुझ्न सकिरहेकी थिइनँ।''

उनले थपिन्, 'तर अब म यति मात्र गर्न सक्छु कि भविष्यमा यस्तो घटना फेरि नदोहोरियोस् भन्ने सुनिश्चित गरूँ।' जान्हवी कपूरले फिल्मको आलोचना सुरु भएपछि आफूले आफैँलाई निकै दोष दिएको बताएकि छन्।

'दक्षिण भारतीय फिल्म उद्योगमा प्रायः पूर्ण रूपमा तयार पारिएको स्क्रिप्ट पाइँदैन। क्यामेराको एंगलसमेत पहिले नै हेर्ने अवसर निकै कम हुन्छ,' उनले थपिन्, 'मैले आफ्नो अवस्थाको फाइदा उठाएर अझ बढी सचेत हुनुपर्थ्यो। एक हिसाबले यो मेरो लागि निकै अपमानजनक अनुभव थियो।'

निर्देशक बुची बाबु सानाको निर्देशनमा बनेको ‘पेड्डी’ एक स्पोर्ट्स एक्सन ड्रामा फिल्म हो। यसमा राम चरण मुख्य भूमिकामा छन् भने जान्हवी कपूरले उनकी प्रेमिका अचियम्माको भूमिका निर्वाह गरेकी छन्।

फिल्ममा जान्हवीको पात्रलाई प्रस्तुत गरिएको शैलीप्रति दर्शकहरूले प्रश्न उठाएका थिए।

प्रकाशित: १३ कार्तिक २०८३ १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App