अमेरिकामा बसोबास गर्दै आएका प्रतिष्ठित लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयको नयाँ उपन्यास ‘श्रीमती’ को भव्य समारोहका बीच विमोचन गरिएको छ।
गत साता कोालोराडोमा सम्पन्न ‘नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ का अवसरमा विभिन्न राज्यबाट सहभागी साहित्यकारहरूले उक्त कृतिको सामूहिक विमोचन गरेका हुन्।
उपन्यास विमोचन गर्ने स्रष्टाहरूमा शकुन ज्ञवाली, प्रमिला निर्दोषी, डा. पुष्पा शर्मा, भारती गौतम, सन्ध्या पहाडी, सीता पाण्डे र माया गुरुङ रहेका थियो।
सोही समारोहमा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्षहरू भीम रेग्मी, ज्ञानेन्द्र गदाल, राधेश्याम लेकाली, गोवर्द्धन पूजा, पुरुषोत्तम सुवेदी, मोहन सिटौला, पदम विश्वकर्मा तथा केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्ले लगायतको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बीओटीका अध्यक्ष पदम विश्वकर्मा, महासचिव प्रकाश नेपाल, सचिव नारायण अधिकारी, सल्लाहकारहरू डा. संगीता स्वेच्छा, डा. नीलम कार्की ‘निहारिका’ र डा. नवराज लम्साल लगायतले ‘श्रीमती’ उपन्यासले नेपाली समाजको गहिरो सांस्कृतिक र सामाजिक पक्षलाई समेटेको भन्दै टिप्पणी गरे।
विमोचन समारोहमा अनेसास महिला समितिकी संयोजक उर्मिला निर्दोषी, बाल समितिका संयोजक सुरेन उप्रेती, सांस्कृतिक समितिकी संयोजक महेश्वर पन्त, केन्द्रीय वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, अमेरिकाज क्षेत्रका उपाध्यक्ष सुदीप भद्र खनाल, महासचिव राजु सिटौला, कोषाध्यक्ष तारा अधिकारी र कार्यक्रम संयोजक किरण अधिकारी लगायत दर्जनौँ स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
सो अवसरमा प्रा. डा. भीम कट्टेल, डा. गोविन्द सिंह रावत, डा. विजयराज शर्मा, पत्रकार विकासराज न्यौपाने, सीपीए भीम कार्की, तीर्थराज अधिकारी र रोहिणी शर्मा लगायतका व्यक्तित्वहरूले उपन्यासले नेपाली आख्यान क्षेत्रमा नयाँ आयाम थपेको धारणा व्यक्त गरे।
लेखक पाण्डेयको ‘श्रीमती’ उपन्यासले नेपालको सुदूरपश्चिमको ग्रामीण परिवेश र त्यहाँको सामाजिक भूगोललाई जीवन्त रूपमा चित्रण गरेको छ। घर भित्र्याइएकी एक युवती र उनले जीवनसाथीसँग भोगेका बहुआयामिक सङ्घर्षहरूमा यो कृति केन्द्रित छ।
उपन्यासमा ‘वितुर’ र ‘धिमही’ नामका पात्रहरूमार्फत उनीहरूको कलेज जीवन, वैदेशिक यात्रा र जीवनका उतारचढावलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।
डायस्पोरामा रहेर पनि आफ्नो मौलिक संस्कृति जोगाउन लेखकले गरेको प्रयत्न उपन्यासमा देखिन्छ। जीवन यात्राका क्रममा भेटिएका पात्रहरूसँगको संवाद, नासादेखि जटिल रोगको अवस्थासम्म एउटी श्रीमतीले श्रीमानलाई दिने ममता र समर्पणलाई लेखकले प्रभावकारी उपकथाहरूमा बुनेका छन्।
साथै, आधुनिक समयमा सामाजिक विसङ्गतिका कारण घरहरू कसरी उजाडिएका छन् भन्ने यथार्थलाई समेत उपन्यासले देखाएको छ।
मदन पुरस्कार विजेता आख्यानकार डा. नीलम कार्की ‘निहारिका’ ले पुस्तकबारे भनिन्, ‘श्रीमती उपन्यासले विवाहिता नारीको मर्म बोल्छ। आख्यानकारले प्रमुख पात्रमार्फत श्रीमतीलाई शक्ति र ब्रह्मको स्थान दिँदै नारीप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ।’
लामो समयदेखि मेरिल्याण्डमा बस्दै आएका लेखक तीर्थराज पाण्डेय अनेसास बीओटीको उपाध्यक्ष तथा अवार्ड कमिटीमा सक्रिय छन्। डायस्पोरामा नेपाली सांस्कृतिक पहिचानको प्रवर्द्धनमा उनको निरन्तर योगदान रहँदै आएको छ।
पाण्डेयलाई नेपाल सरकारले राष्ट्रिय सम्मान प्रदान गरिसकेको छ भने सन् २०२३ मा अमेरिकी राष्ट्रपतिद्वारा ‘लाइफटाइम एचिभमेन्ट गोल्ड मेडल अवार्ड’ बाट समेत उनी सम्मानित भएका थए। यसअघि उनका ‘आमाको सपना’ र ‘सविता’ खण्डकाव्य तथा ‘चिरायु’ उपन्यास प्रकाशित भइसकेका छन्।
प्रकाशित: १४ जेष्ठ २०८३ १६:१२ बिहीबार




-600x400.jpg)
