तिम्रो जस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि
नबोलाउ मलाई निष्ठुरी भनी....
गोपाल योञ्जनको शब्द र नारायण गोपालको स्वरमा रहेको यो सदाबहार गीत सन् २०१७ को ‘नेपाल आइडल’को ‘अडिसन’ र्याम्पमा एक किशोरीको आवाजमा गुञ्जियो। त्यो स्वर र प्रस्तुतिले ‘जज’को मन छोयो, दर्शकले औँधि मन पराए।
त्यो प्रस्तुति थियो– एक दृष्टिविहीन नवप्रतिभा मेनुका पौडेलको। अडिसनकी जज इन्दिरा जोशीले मन थाम्न नसकेर प्रतिक्रिया दिइन्, 'मेरो त मनमै छोयो आवाजले। हो, यद्यपि प्राविधिक रूपमा धेरै मिहिनेत गर्नुपर्नेछ।’ अडिसनबाट सुरु भएको मेनुकाको मन छुने सांगितिक यात्रा नेपाल हुँदै भारतसम्म पुगेको छ।
नेपाल आइडलको पहिलो यात्रामा उनले एकपछि अर्को गीतले लाखौँ मन जित्दै गइन्। दर्शक र निर्णायकको मन जित्दै अगाडि बढेको मेनुकाको त्यो यात्रा उत्कृष्ट ११ मा नै ब्रेक लागेको थियो। अन्य प्रतिस्पर्धीभन्दा कम मात्रै दर्शकको भोट पाएपछि उनी बाहिरिएकी थिइन्।

नेपाल आइडलको त्यो यात्रापछि उनी हतोत्साही भइनन्, फेरि अर्को यात्राको तयारीमा लागिन्। यो यात्रा नेपालको सीमापारको थियो। उनी त्यसपछि भारतीय रियालिटी शो 'सारेगमप'मा पुगिन्। भारतीय च्यानल जीटिभीबाट प्रसारण हुने ‘सारेगमप’मा पनि मेनुका दर्शक र जजको मन जित्दै अगाडि बढिन्। त्यहाँ जजहरूले प्रेमपूर्वक उनको नाम ‘नेपाली गुडिया’ राखेका थिए। तर, त्यहाँ पनि उनलाई उत्कृष्ट ११ कै खट्को लाग्यो। यहाँ पनि उनी दर्शक भोटिङमै बाहिरिइन्।
त्यसपछि मेनुकाका पाइला भारतीय प्रसिद्ध सांगितिक रियालिटी शो ‘इन्डियन आइडल’तर्फ अघि बढे। इन्डियन आइडलको मञ्चमा मेनुकाको गायकीको ओज चुलिँएको देखियो। उक्त मञ्चले उनको गायकी मात्र गुञ्जाएन उनका दु:ख र संघर्षका कथाव्यथा पनि प्रदर्शन गरेको थियो। मेनुका कुन धरातलबाट, कस्तो संघर्ष गर्दै त्यहाँ पुगिन् भन्ने कथा दर्शकसम्मलाई सुनाइयो।
इन्डियन आइडलको अडिसन राउन्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी मेनुकाको गायकीमा उपस्थित तीनैजना जज कुमार सानु, श्रेया घोसल र विशाल ददलानील भक्कानिएका थिए, जो त्यसपछि झन्डै ‘शब्दविहीन’ बने र उभिएर सम्मान प्रदान समेत गरे।

जजको मन जितेकी मेनुकाले अडिसनमा ‘गोल्डेन माइक’ जितिन्। अडिसन चरणबाटै नेपाली र भारतीय मिडियामा भाइरलसमेत भएकी मेनुका इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भइन्। त्यसपछि उनले जज र दर्शकको मन मात्र होइन इन्डियन आइडलमा आउने हरेक अतिथिहरूको पनि मन जितिन्।
इन्डियन आइडलमा अतिथि बनेर पुगेका बलिउड निर्देशक महेश भट्ट मेनुकाको प्रस्तुति देखेर भावविह्वल बनेका थिए। निर्देशक भट्ट शोमा गएको बेला मेनुकाले भट्टकै निर्देशन रहेको सन् १९९८ को चर्चित फिल्म ‘जख्म’को गीत ‘गली मे आज चाँद निकला’ गीत गाएकी थिइन्। मेनुकाले उक्त गीत गाउँदा भट्टसहित जजहरू श्रेया र विशाल पनि भावविह्वल देखिएका थिए।
इन्डियन आइडलको शो मा पुगेका बलिउड अभिनेता रणवीर कपुरले झन् मेनुकालाई ‘संगीतकी देवी’ भन्दै प्रशंसा गरेका थिए। रणवीरले उक्त एपिसोडमा ‘संगीतकी देवी’ भन्दै मेनुकाको पाउ समेत छोएका थिए।
इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी मेनुकाले प्रतिक्षित भारतीय फिल्म ‘सलार’मा गीत गाउने मौका पाइन्। उनले फिल्म ‘सलार’ को ‘सुरज ही चाहो बन्के’ बोलको गीत गाएकी थिइन्। आइडलमा नै रहँदा मेनुकालाई चिकित्सकले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चश्मा समेत प्रदान गरेका थिए।

विडम्बना, इन्डियन आइडलमा आफ्ना प्रस्तुतिले जजदेखि दर्शकसम्म मत्रमुग्ध बनाएकी मेनुका अन्तत उत्कृष्ट १० बाटै बाहिरिइन्। नेपाल आइडलबाट बाहिरिएकी मेनुका नेपाल फर्केपछि भने उनको भव्य स्वागत गरियो। उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए। झाँकी र र्यालीसहित गाडीमा चढाएर उनलाई काँकडभिट्टा नगर परिक्रमा समेत गराइएको थियो।
नेपालमा गुमनाम
त्यसपछि भने मेनुका नेपालमा गुमनाम जस्तै बनेकी छिन्। उनलाई पछिल्लो समय नेपालको कुनै पनि सांगीतिक कार्यक्रममा देख्न पाइएको छैन। तर भारतको दक्षिणी क्षेत्रमा रहेका साइबाबाका विभिन्न आश्रममा बसेर त्यहाँ प्रस्तुति दिइरहेकी छिन्। भारतमा भने मेनुका सामाजिक सञ्जालमा सक्रिय छिन्। उनले गाएका गीत फेसबुक रिल्समा पाइने गरेका छन्।
यसैबीच पछिल्लो समय मेनुकाले भारतको स्वतन्त्रता दिवसका अवसरमा दिएको एक अभिव्यक्तिले नेपाली मनमष्तिस्कलाई हल्लाएको छ। जसमा स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उनले आह्वान गरेकी छिन्। आफू त्यो कार्यक्रममा जाने भन्दै उनले अरूलाई पनि आउन आग्रह गरेकी छिन्।
‘नमस्कार बिलसपुर। म हुँ मेनुका पौडेल। म धेरै उत्साहित छु तपाईँहरूसँग मिल्न। म १३ अगस्टमा तिरंगा कन्सर्टमा आइरहेको छु। त्यहाँ हामी सबै मिलेर मनाउनुपर्छ स्वतन्त्रताको उत्सव। गाउनुपर्छ देशभक्तिको गीत र गर्नेछौं वीरलाई सलाम। जय हिन्द।’ उनको यो भिडिओमा नेपाली शुभचिन्तकहरूले विभिन्न प्रश्न गरिरहेका छन्। धेरैले उनलाई ‘नेपाली कि भारतीय?’ भनेर प्रश्न गरिरहेका छन्।
स्रोतका अनुसार झापा घर भएकी मेनुकाले अब भारतमै बस्ने मनस्थिति बनाएकी छिन्। उनले आफ्नो सांगीतिक यात्राको भविष्य नेपालमा भन्दा भारतमै राम्रो हुने देखेपछि उतै अगाडि बढाउने मनशायमा रहेको स्रोतको भनाइ छ।
मेनुका अहिले त्यहाँ सुरेश वाडकरसँग संगीत सिकिरहेकी छिन्। भारतकै शोहरूमा सहभागिता जनाउँदै आएकी उनी भारतीय नागरिक नै भइसकेको अड्कलबाजी पनि चलिरहेको छ। पछिल्लो समय इन्डियन आइडलमा सहभागिता जनाउन भारतकै नागरिक हुनुपर्ने प्रावधान छ।
प्रकाशित: ३० श्रावण २०८२ १९:५६ शुक्रबार





