कार्तिक २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ का निर्माण टिमले शुक्रबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्।
चलचित्र प्रदर्शनको दुई दिन नबित्दै यसमा समावेश दृश्यहरू हल भित्रबाट रेकर्ड गरी टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब लगायतका सामाजिक सञ्जालमा अनधिकृत रूपमा अपलोड तथा प्रसारण भएपछि निर्माण पक्ष कानुनी कारबाहीमा जुटेको हो।
शुक्रबार बिहानै ‘बाटुलो जून’ की निर्माता जीया केसीले साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी छिन्। निर्माण पक्षको अनुसार यसरी चलचित्रका दृश्यहरू अनुमतिबिना रेकर्ड तथा सार्वजनिक गर्नु प्रतिलिपी अधिकारको उल्लङ्घन हुनुका साथै चलचित्रको व्यावसायिक प्रदर्शनमा समेत प्रत्यक्ष असर पार्ने कार्य हो।
चलचित्रका दृश्यहरू अनधिकृत रूपमा रेकर्ड, अपलोड तथा शेयर नगर्न र यसअघि अपलोड गरिएका सामग्री तत्काल हटाउन निर्माण पक्षको आग्रह छ। कानुनी कदम चाल्दै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा संस्थाविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जानकारी निर्माण टिमले गराएको छ।
निर्माण टिमले चलचित्रको मौलिकता, श्रम र सिर्जनाको सम्मान गर्दै ‘बाटुलो जून’ लाई हलमै हेरेर सहयोग गरिदिन आग्रह गरेका छन्।
प्रकाशित: २७ कार्तिक २०८३ १४:१८ शुक्रबार





