७ कार्तिक २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

अक्षरहरूभित्र रुमलिंदा

पुस्तक

‘एकान्तको  अँध्यारो’

एकान्तमा, एकान्त मात्र कहाँ हुन्छ र?

अँध्यारोको वारि र पारि

दुवैतिर हुन्छ – उज्यालो

जस्ले कुनै पनि बेला

मेट्न सक्छ – अँध्यारोको अस्तित्व।’

कविताको यही हरफबाट प्रसस्त बुझ्न सकिन्छ लेखकका रचनाले पाठकलाई अँध्यारो तर्फ होइन उज्यालो तर्फ डोर्‍याउँछ। सकारात्मक उर्जा दिन्छ। जीवन सहज र सुरम्य बाँच्न उज्यालोको खोजीमा जो कोहि पनि हुन्छन् यही उज्यालोको मार्ग निर्देश गरेको छ ‘अक्षर मनका’ का कविताहरूले।

लेखकले हाम्रा वरिपरि यत्रतत्र भए गरेका यथार्थ टपक्क टिपेर कविताका माला उनेका छन्। उनका कवितामा जीवन दर्शन भेटिन्छन्। समाजका पक्षलाई अँध्यारो र उज्यालो दुवै तर्फबाट उनले पाठकलाई दृष्टिबोध गराएको भेटिन्छन्। मानविय संवेदना दुख, सुख, माया, मोह जीवनका अनेक भोगाईका पक्ष कवितामा उधिन्न उनि खप्पिस छन्। लेखक शलभका कविता पढ्दा सरलतामा सलक्क बगेको सम्प्रेषणीय कविता छन।

‘शुभकामना’ शिर्षक कवितामा अरुलाई दिएर वा अरुबाट पाएर भन्दा पनि आफ्नो खुशी आफूभित्रै भएको बुझ्न सकिन्छ त्यस्तै अर्को कविता ‘घर’ शिर्षकको कवितामा परिवार एउटै छानाभित्र भएर मात्र परिवार हुँदैन परिवार हुनलाई परिवारभित्र एकअर्काको हेरचाह एकअर्काको पिडा, खुसी सबै बाडिएको हुनुपर्छ अनि बल्ल त्यो घर घर जस्तो घर बन्छ भन्ने आशय छ। यस्ता थुप्रै कविता छन् जुन कविताहरू पढेर आन्दानुभूति महसुस हुन्छ।

उनका कवितामा भोगाइ र समाजिक घटनाका प्रछायाँ प्रसस्त भेटिन्छन् र शब्दहरूको सरलतामा शब्दको गहिराइ अनन्त छन्। क्लिष्ट शब्द बोकेर मात्र सिर्जना अब्बल हुन्छ भन्नु सहि होइन। ‘अक्षर मनका’ का रचना पढ्दा हर कोही पाठकले हृदयभित्र कविताको स्वादमा आफ्ना भोगाइहरू सहजै अनुभुत गर्न सक्छन् त्यसैले पनि कविता भावानात्मक अनुभूति, समाजिक वैचारिक विसंगति जस्ता पक्षलाई थोरै शब्दमा साधारण तरिकाले भन्न र खबरदारी गर्न सकिने भएकोलेकविता विधा सशक्त विधा हो।

लेखक राजेन्द्र शलभका कविता कृतिहरूमध्ये‘अक्षर मन’ का चौथो कृति हो। यसभन्दा अघि ‘उज्यालोको सर्त २०६५, कविताको रंङ २०७३, उजाले के संग २०७८’मा प्रकाशित छन्।

‘आउन दिनु’ कविता पढ्दा नै कौतुहल लाग्छ आखिर के आउन दिनु पर्ने रहेछ त ? भनेर कविताभित्र प्रवेश खोज्छ मनले। लेखकले कुनै पनि समय रात, दिन, अँध्यारो ,उज्यालो केहीको प्रवाह नगरी मुस्कानलाई ओँठमा आउन दिनु  भनेकाछन् कति सकारात्मक पक्ष छ। हाँसो अर्थात् मुस्कान त्यो ओखती हो जसले जीवन यात्रालाई सहज मात्र होइन त्यो साहस पैदा गर्छ जसले अप्ठयारो परिस्थितिको सामना गर्न सक्ने क्षमता राख्छ। समसामयीक विचार विषयलाई उनले कवितामा पोखेका छन् जुन विचार जुन परिवेश लेखकले अनुभुत गर्छन् ती कवितामा पोखिएका छन् र सामान्य जीवन यापन गर्ने जो कोहिका आफ्नै भोगाई महसुस हुन्छ।एउटा मानिसले समाजमा जसरी आफुलाई देखाएको हुन्छ जसरी आफु अन्र्तघुलित भएको हुन्छ त्यही विषयलाई कविता मार्फत उनले यथार्थ जीवन प्रति सजग गराएका छन् जिम्मेवारबोध पनि गराएका छन्।

काव्यात्मक लयमा उनले त्यो क्षितिज टेकेका छन् जहाँबाट चौतर्फी उज्यालोको महसुस गर्न सकिन्छ।

‘मेरो मन’ कवितामा उनी भन्छन् –

‘तिमी नहुँदा पनि

म तिमीलाई महसुस गर्छु

म कहिले पनि एक्लो हुन्न

तिमी म सँगै  हुन्छौ

र, यसलाई प्रेम भन्छन् भने

म तिमीलाई प्रेम गर्छु।’

यो मानवीय स्वभाव हो यसलाई उनले सजिलैसँग सरल शब्दमा व्यक्त गरेका छन् जहाँ प्रेम हुन्छ र त्यस प्रेमलाई महसुस गर्न सकिन्छ त्यहाँ कहिल्यै एक्लो पन हुँदैन भन्ने सत्यबोध गराएका छन्।

यस्तै ‘बुबा’ कवितामार्फत् उनी भन्छन् –

‘बुबा अभावहरूलाई ओढेर

मुस्कुराउनुहुन्थ्यो...

बुबासँग बाँडनका लागि

घाम जस्तै अनगिन्ती कुराहरू थिए... ’

सन्तानको निम्ति एउटा बाबुले गर्ने त्याग, आदर्श र इमानले सन्तानको जिन्दगीको पाना कसरी रंगिएको हुन्छ भन्ने बुझाएका छन्। यी कुराहरू सन्तानले बुझ्दासम्म ऊ स्वयं बाबु बनिसकेको हुन्छ। यो कवितांशबाट कवि लामो समयदेखि साहित्यमा समर्पित अझ भनौं कवितामा समर्पित छन् यही समर्पणले नै उनका चार कविता कृति प्रकाशित हुन सफल भएका छन्।

लेखकको कविता श्रवण गर्ने अवसर मलाई कोरोनाकालमा जुममार्फत जुरेको थियो। त्योभन्दा पहिले मलाई उनको कविता सुन्ने अवसर जुरेको थिएन अझ भनौं उनीसँग म परिचित नै थिइनँ। त्यस बखत उनले सुनाएको त्यो कविता आमासंग आधारित कविता थियो। आमाले लगाएको रातो ठूलो टिकालाई उनले घामको संज्ञा दिएका थिए। त्यो अब्बल कविता सुनेपछि अहिले यो कृति नपढी मेरो मनले मान्दै मानेन।

यो कृतिले पनि आमाको कथा बोकेको छ। बाबुको दुख दर्शाएको छ। प्रकृतिको आवाज गुन्जाएको छ। सामाजिक परिवेश झल्काएको छ। प्रेमको भाका बोलेको छ कतै ओंठले कतै आँखाले।

लेखकले आफूभित्र लुुकेको कवित्व पनि उनले प्रष्ट्याएका छन्। उनी चराहरूको चिरविरमा, फूलको मुस्कानमा, खोलाको कलकलमा भेट्ने आफूलाई आफुभित्र लुकेको कवि भएको समेत कवितामा भनेका छन्। मानिसले आफूलाई हराएर होइन आफूलाई सर्वत्र भेटेर यसरी नै खुसी हुने हो। कृतिको सबल पक्ष पाठकलाई मनोरञ्जन दिनु, मानवीय संदेश सम्प्रेषण गर्नु, सामाजिक चेतना उजागार गर्नु र काव्यात्मक लयमा आत्मचिन्तन प्रेरित गर्नु  छ।

यस कृतिभित्रका कविता पढ्दा कुनै कविता, कथा अनि विवरण जस्ता पनि लाग्छन्। कुनैकुनै कविता यो त कविता नभएर कथा पो त हुनुपर्ने भने जस्ता पनि लाग्छन् कुनै कविता जीवनी जस्ता पनि लाग्छन् समग्रमा कवितामा मिठास छ।

‘अक्षर मन’का कृतिभित्र ७८ कविता छन्। यस कविता कृतिको पहिलो संग्रह २०८३ जेठमा सांग्रिला मिडिया ग्रुप प्रालिबाट प्रकाशित भएको हो। एक सय साठी पेज रहेको यस कृतिको मूल्य चार सय मात्र छ।

प्रकाशित: ७ कार्तिक २०८३ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App