१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

इमरान खानलाई भारत छाड्ने नोटिसमा रोक, अदालतमा मागे बिनासर्त माफी

बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई भारत छाड्न जारी गरिएको नोटिसको कार्यान्वयनमा बम्बई उच्च अदालतले रोक लगाएको छ। अदालतले नोभेम्बर २ सम्मका लागि दिएको अन्तरिम रोकलाई निरन्तरता दिँदै अर्को सुनुवाइ डिसेम्बर ७ मा गर्ने मिति तोकेको छ।

मुम्बई प्रहरीले अक्टोबर २८ भित्र भारत छाड्न भन्दै नोटिस जारी गरेपछि इमरानले त्यसलाई चुनौती दिँदै बम्बई उच्च अदालतमा रिट निवेदन दिएका थिए। अक्टोबर २७ मा निवेदनमाथि सुनुवाइ गर्दै अदालतले नोटिस कार्यान्वयन तत्कालका लागि स्थगित गरेको थियो।

मुख्य न्यायाधीश महेश चन्द्र त्रिपाठीको अध्यक्षतामा रहेको इजलासले इमरानविरुद्ध दर्ता भएको एफआईआरको पछिल्लो अवस्थाबारे जानकारी मागेको थियो। सुनुवाइका क्रममा इमरानका तर्फबाट वरिष्ठ अधिवक्ता वेंकटेश धोंड र महाराष्ट्र सरकारका तर्फबाट सरकारी अधिवक्ता अञ्जली हेलेकर उपस्थित भएका थिए।

अदालतसमक्ष इमरानले बिनासर्त माफी माग्दै भविष्यमा कुनै पनि विरोध प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन्। उनले यससम्बन्धी शपथपत्रसमेत अदालतमा पेस गरेका छन्।

अदालतले अर्को सुनुवाइ नहुँदासम्म उनीविरुद्ध जारी ‘लिभ इन्डिया नोटिस’ कार्यान्वयन नगर्न आदेश दिएको छ। यसको अर्थ, अर्को सुनुवाइसम्म विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ) ले उक्त नोटिसका आधारमा इमरानविरुद्ध कुनै कारबाही गर्न पाउने छैन।

इमरान मुम्बईस्थित अगस्त क्रान्ति मैदानमा आयोजित एक विरोध प्रदर्शनमा सहभागी भएका थिए। उक्त प्रदर्शनमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरिएको थियो।

प्रकाशित: १६ कार्तिक २०८३ १७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App