मेरो जन्म त्यो क्षण थियो
जब तिम्रो चेतनाले मलाई पुकार्यो
बिउ फुट्दैमा को जन्मिने रहेछ र आखिर,
अस्तित्वले धर्ती नटेकेसम्म
हो, जब मेरा पत्रपत्रका सुगन्धले तिमी सिन्चित भयौ,
जब नेपथ्यबाट मेरो रङ मन्चित भयो, मौनतामा अडिनै नसकेर
आफ्नो अनुभूतिलाई जब तिमीले
हठात्आ हा ! भनेर मुस्कुराउँदै पोख्यौ,
सायद, म त्यही दिन जन्मिएँ होला,
फूल भएर।
हो, तिम्रै भाषामा, एउटा “सुन्दर फूल” भएर
खासमा मेरो नामकरण गर्ने र
मलाई फूल बनाउने
तिमी नै त हो नि मान्छे।
कहिले कवि बनेर कोरिएका कवितामा
कहिले प्रेमीको वर्णन र उपमामा
कहिले उत्सवमा पुष्पगुच्छा समर्पण गर्यौ,
कहिले शोकमा श्रद्धाका सुमन अर्पण गर्यौ
मन्दिरका लागि थालीमा सजायौ
घरदैलो र पालीमा सजायौ
न घमन्ड न गुनासो
पत्रपत्र सर्वत्रमा प्राण खन्यायौ,
जीवनको आरोह–अवरोहमा
अथाह सन्तुलनको प्रतीक बनायौ,
खासमा मलाई अजीब बनाउने,
बाँच्दा बाँच्दै पनि सजीव बनाउने,
बिनाअवरोध
तिमी आफैले स्वीकारेर आफैँ माली बनेर
मलाई फूल बनाउने
तिमी नै त हौ नि मान्छे
म मौन हुँदा गुरु मान्यौ,
म कोपिला हुँदा जीवनको सुरु मान्यौ
म ओइलिएर झर्दा जीवन चक्रको प्रतिरूप भएँ,
सुखदुःखमा मलाई अङ्कमाल गर्यौ
तिम्रो खुसीको कारण भएँ,
प्रेमको भाकामा स्थायी र अन्तरा भएँ,
कहिलेकहीँ स्वार्थमा कसैको सुन्दरता भएँ,
तिमीले भन्न जाने जति
तिमीले गन्न जाने जति
अनेक उपमा, आभूषण र संस्करण भएँ,
भावनाको भाषामा मानक व्याकरण भएँ,
एक्लै बस्दा मुस्कुराउने साथी भएँ,
ईश्वरभक्ति र आस्थाहरूमा माथि भएँ,
न प्रतिस्पर्धी, न जबर्जस्ती
मलाई निर्वाध जीवन यात्राको उद्देश्य बनाउने
तिमी नै त हौ नि मान्छे!!
मलाई आफूभन्दा महान्भनाएर
अहंकारभन्दा ठुलो बनाएर
निष्काम कर्मयोग, अविनाशी
मेरो महिमा गान गर्न सक्ने
तिमी साँच्चै परम सौन्दर्य
अनित्य, अथाह, अलौकिक छवि,
‘साधुवाद’ को पात्रसहित
आफूचाहिँ किन अझै
मान्छे बन्न सकिरहेका छैनौ मान्छे?
प्रकाशित: २ फाल्गुन २०८२ १२:५८ शनिबार





