३२ असार २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

‘पार्वती’को पोस्टरमै देखियो कमजोरी, निर्माण टिमलाई किन यति हतारो ?

अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र पार्वतीको पहिलो पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा सुरु भएको छ। पोस्टरको विषयवस्तु, भाव र प्रस्तुतिले प्रशंसा पाइरहेका बेला त्यसमै देखिएको एउटा गम्भीर त्रुटिले भने निर्माण टिममाथि प्रश्न उठाएको छ।

शुक्रबार सार्वजनिक गरिएका दुई पोस्टरमा बाल कलाकार अशोक दर्जी र नीतालाई केन्द्रमा राखिएको छ। पोस्टरमा नीतालाई विद्यार्थीको पहिरनमा तथा ‘अटिजम’ प्रभावित पात्रका रूपमा प्रस्तुत गरिएको देखिन्छ। एउटा पोस्टरमा अशोकले उनलाई बोकेको दृश्य छ भने अर्कोमा उनी कक्षाकोठामा बसेकी छन्।

तर पोस्टरलाई ध्यानपूर्वक हेर्दा एउटामा नीताको दाहिने हातमा पाँच औँला देखिन्छ भने अर्को पोस्टरमा चार औँला मात्रै देखिएको छ। सामान्य देखिने यस्तो त्रुटिले पोस्टर डिजाइनदेखि निर्माण टिमको निगरानीसम्म प्रश्न उठाएको छ।

चलचित्र निर्माण जस्तो संवेदनशील र ठूलो लगानीको क्षेत्रमा पोस्टर सार्वजनिक गर्नु अघि पटक–पटक परीक्षण र समीक्षा गरिनुपर्ने अपेक्षा गरिन्छ। तर ‘पार्वती’ जस्तो नीताको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्मको पोस्टरमै यति स्पष्ट कमजोरी देखिनुले निर्माण टिम पोस्टर सार्वजनिक गर्न अत्यधिक हतारिएको हो कि भन्ने प्रश्न उठेको छ।

पोस्टर डिजाइनरको त्रुटि मानिए पनि अन्तिम जिम्मेवारी निर्माण टिमकै हुने गर्दछ। पोस्टर सार्वजनिक गर्नु अघि निर्देशक तथा मुख्य कलाकार स्वयंले समेत त्यसलाई राम्रोसँग नहेरेको हो कि भन्ने आशंका दर्शकमा पैदा भएको छ। नेपाली चलचित्रप्रति दर्शकको आकर्षण घटिरहेको अवस्थामा यस्ता कमजोरीले थप नकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ।

नीता ढुंगाना का लागि ‘पार्वती’ अवसर र जोखिम दुवैको परियोजना मानिएको छ। उनले फिल्मको कथा, पटकथा, निर्देशन र मुख्य भूमिका आफैँ सम्हालेकी छन्। यसले यो फिल्मलाई उनले विशेष महत्व दिएको स्पष्ट देखिन्छ।

फिल्ममा नीता ढुंगाना र अशोक दर्जीसँगै दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय रहेको छ।

नीता ढुंगाना फिल्म्स को प्रस्तुति रहेको चलचित्रका निर्माता हरिहर अधिकारी हुन्। फिल्मको छायांकन सुदीप बरालले गरेका छन् भने संवाद शिवम् अधिकारीले लेखेका हुन्। चलचित्र भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित: ८ जेष्ठ २०८३ १८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App