१९ पुस २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

हामी त हरायौं नि!

नियात्रा

चीन यात्राको दोस्रो दिन निषिद्ध सहर (फर्बिडन सिटी) घुमिसकेपछि भाइहरू राजकुमार कार्की, नवराज खड्का र म होटलको मेरै कोठामा आराम गर्दै थियौँ। समयले साँझ पार्ने सुरसार गर्दै थियो। विच्याटमा घन्टी बज्यो। चेतनाथ आचार्यको रहेछ। मेरो र चेतनाथजीको घर एउटै जिल्ला इलाम हो। अहिले पनि हामी दुवै भक्तपुर जिल्लामै बसोबास गरिरहेका छौँ।

उहाँ एक दर्जन वर्षभन्दा बढी समयदेखि चाइना मिडिया ग्रुपअन्तर्गत नेपाली रेडियो सेवा बेइजिङमा कार्यरत हुनुहुन्छ।

मैले ‘हेलो’ मात्र भनेको थिएँ, चेतनाथजीले भन्नुभयो, ‘यहाँको साँझ हेर्न, घुम्न जाने भए म तपाईहरूको होटलको लबीमा छु, आउनुहोला!’

आश्चर्य लाग्यो चेतनाथजीले हाम्रो होटलमा आएको छु भन्दा। बिहानै उहाँले बसेको होटल र भ्रमणतालिका सम्बन्धी जानकारी माग्नुभएको थियो।

‘निकै टाढा रहेछ तपाईहरू बस्ने होटल र मेरो काम गर्ने, बस्ने ठाउँ, लगभग ३० किलोमिटर जति दूरी।’

बिहान कुराकानी हुँदा उहाँले भनेको पनि सम्झिएँ। आउनुभयो होला त यति टाढाबाट? पत्याउँ कि नपत्याउँ जस्तै भयो।

होटल सुपर हाउस इन्टरनेसनलको लबीमा त साँच्चै नै चेतनाथजी उपस्थित। एकछिन ठट्टा रमाइलो गर्‍याैं। चेतनाथजी अघिअघि हामी पछिपछि निस्कियौँ होटलबाट।

‘अन्डरग्राउन्ड रेल चढ्ने ल!’ चेतनाथजीको प्रस्ताव स्वीकार्दै हामीले जमिनको सतहभन्दा तल लैजाने स्क्यालेटर टेक्यौँ। रेलवे स्टेसन हाम्रो होटलको नजिकै रहेछ। हामी बेइजिङको सबवे लाइन १० को शलिख रेल स्टेसनमा रहेछौँ। चेतनाथजी रेल आउने बाटो, रेल नम्बर र मेट्रो रेल देखाउँदै जानकारी दिनु हुँदै थियो।

उहाँले हामी चढ्ने रेल आयो भनेपछि त्यहीँबाट हामी बेइजिङको लाइन नम्बर १० को सबवे मेट्रो रेल चढ्यौँ। चेतनाथजीले कहाँसम्म हामीलाई लैजानुहुन्छ केही थाहा छैन। ‘लाखेलाखे गयो कि क्या हो उत्रिने ठाउँ भन्दै उहाँले यताउता हेर्नुभयो। कान ठाडो पारेर रेलमा बजिरहने सन्देश सुन्नुभयो र ढुक्क हुँदै भन्नुभयो, ‘अब आउने स्टेसनचाहिँ रहेछ, हामी उत्रने।’

कोमाओ स्टेसनमा उत्रियौँ हामी। बेइजिङको आर्थिक एवं व्यापारिक केन्द्रमा पर्दोरहेछ यो स्टेसन। चेतनाथजीले हामीलाई राम्रै ठाउँ देखाउन ल्याउनुभएको रहेछ। हामी अग्लाअग्ला भवनहरू चढ्यौँ। साँझको झलमल बिजुली उज्यालोमा चीनका ठूलाठूला होटल र चिनियाँ तथा अन्तर्राष्ट्रिय कम्पनीका व्यापारिक भवनहरू देख्यौँ। चाइना वर्ल्ड होटलको बार्दलीबाट चेतनाथजीले चाइना सेन्ट्रल टेलिभिजनको दुई भवन जोडिएको ५१ तले टावर देखाउनुभयो।

त्यस्तै बेइजिङको सबभन्दा अग्लो भवन ३३० मिटर अग्लो चाइना वर्ल्ड सेन्टर टावर-३  नि नजिकै रहेछ त्यो पनि देखियो। उहाँले अरू थुप्रै कृतिमानी अग्ला भवनहरू पनि चिनाउँदै देखाउनुभयो। रातको साढे नौ बजेको समय ती गगनचुम्बी भवनमा जडान गरिएका बत्तीको झिलिमिली आफू पनि तिनीहरूसँगै उज्यालिएको अनुभव हुँदो रहेछ।

‘आहा, नेपालमा तिहारमा सिँगारिएर झलमल्ल बने जस्ता घरहरू सबै। मैले चेतनाथजीलाई सोधेँ, ‘सधैँ यस्तै बत्तीमा सजिन्छन् यी घरहरू?’

यसै पनि रौसे चेतनाथजी त्यसमाथि इलामको नयाँबजारको चिसो पानी पिएर हुर्किएको। त्यतैको लवजमा निकै रमाइलो ठट्टाको शैलीमा भन्नुभयो, ‘कहाँ सधैँ यसरी झिलिमिली हुनु नि! आज तपाईहरू आउने भनेर जानकारी गराएको थिएँ, त्यही भएर बत्ती बालेर तपाईहरूको स्वागत गरेको हो नि हव!’

उहाँको उत्तरमा हाँस्नुबाहेक हामीसँग शब्द थिएनन्। उहाँको व्यङ्ग्यात्मक शैली बुझेर पनि हामीले हाँसेर ठट्टाकै भाकामा भन्यौँ, ‘तपाईले पनि यति साह्रोचाहिँ बन्दोबस्त नगरेको भए हुन्थ्यो! जे भए पनि तपाईलाई धेरैधेरै धन्यवाद!’

वातावरणलाई अलिक सहज बनाउँदै उहाँले भन्नुभयो, ‘ह्या नन्दु सर, इलामे रेला गरेको क्या। यी भवनहरूमा बत्तीसँगै विभिन्न विज्ञापन राखिन्छन्। यसरी घरलाई झिलिमिली बनाएबापत यी भवनले विभिन्न कम्पनीबाट पैसा पो असुल्छन् त त्यो पनि करोडौं मात्रामा तर हामी अलिक ढिला आयौँ अब लगभग यी झिलिमिली बत्ती निभ्ने बेला भयो।’

‘ओहो, घर सिँगारेको भन्ठानेको त बत्तीसँगै विभिन्न कम्पनीको विज्ञापन पो गरिएको रहेछ। व्यापार प्रवर्द्धनको प्रशंसनीय शैली।

चेतनाथजीले मोबाइलबाट फेसबुक खोलेर प्रत्यक्ष प्रशारण शुरू गर्नुभयो। हाम्रा धारणालाई पनि समेट्नुभयो उहाँले आफ्नो फेसबुक प्रत्यक्ष प्रसारणमा। धेरैधेरै धन्यवाद चेतनाथजी!

बार्दलीबाट भुइँतलामा झरेर हामी पसलहरू चहार्न थाल्यौँ। राति भए पनि त्यहाँका ब्राण्डेड पसलहरू छिटफुट खुल्लै थिए। चेतनाथजीले भनेअनुसार बेइजिङका बजारचाहिँ सामान्यत: रातको ९ बजे नै बन्द हुन्छन् रे।

हामी चारै जना रमाउँदै जुत्ता, मोबाइल, कपडा आदि धेरै चिजका पसलहरू पनि घुम्यौँ। ट्वाइलेट जाने क्रममा भने दुईदुईजना भाग लागेर हिँड्यौँ। कुमार र नवराज भाइ लिफ्ट चढेर चौथो तलातिर लागे। चेतनाथजी र म अलमलियौँ दोस्रो तलामा। फर्कँदा बाहिर निस्किने बाटो फरक पर्‍याे। म र चेतनाथजी एउटा बाटो छुट्टिएको ठाउँमा आयौँ। भाइहरू अर्को बाटो लागेछन् सायद। हामी आइपुग्दा उनीहरू त्यहाँ थिएनन्। एकछिन पर्खिँदा पनि उनीहरू आइपुगेनन्। हामी उनीहरूलाई खोज्न चौथो तलातिर लाग्यौँ। बाहिर निस्किए कि भनेर मूलगेट अगाडि आएर एकछिन पर्खिएर बस्यौँ। आएनन् भाइहरू।

हामीले फेरि अघि घुमेका पसलहरूको एक फन्को लगायौँ। उनीहरू थिएनन् कतै पनि। मलाई ढोकामा उभ्याएर चेतनाथजी एकपटक एक्लै सबैतिर खोजेर आउनुभयो। फेरि चौथो तलातिर गयौँ हामी। धेरैपटक ओहोरदोहोर चलेपछि चेतनाजीले कुमारको फोनमा सम्पर्क गर्ने प्रयास गर्नुभयो तर सम्पर्क हुन सकेन। हामी हरायौँ कोमाओ स्टेसनस्थित एउटा व्यापारिक विशाल भवनमा।

अब के गर्ने एकछिन हामी पनि अलमल पर्‍याैं। उनीहरू पनि हामी जसरी नै विरक्तिएका होलान् यतिबेला। चेतनाथजीभन्दा म धेरै आत्तिएको थिएँ। उहाँचाहिँ भाइहरू हामीलाई नभेटेपछि ट्याक्सी लिएर होटल गइसक्नुभयो पक्कै भन्ने निष्कर्षमा पुग्नुभयो। हामी पनि रेल स्टेसनतिर लाग्यौं। बाटामा चेतनाथजीले पहिलेपहिले आफू पनि हराएको र नेपालबाट आउने साथीहरू धेरै नै हराउने गरेको कुरा सुनाउनुभयो। रेलमा चढेपछि चाहिँ कुमार भाइसँग सम्पर्क भयो।

उहाँले ‘अब रेलतिर नलाग्नु। ट्याक्सी लिएर होटल आउनु’ भन्नुभयो। होटलमा पुगेपछि भाइहरूलाई भेटेर मात्र जाने भनेर उहाँ पर्खिएर बस्नुभयो।

चेतनाथजीले भर्खरै तिब्बतको सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्मको तीन हप्ता लामो भ्रमण गर्नुभएको थियो। यही समयमा तिब्बत यात्राबारे सुनाउन आग्रह गरेँ मैले।

‘तिब्बत हैन अब सिचाङ हो। सिचाङले नै तिब्बती भूगोलको अर्थ बोक्छ। अङ्ग्रेजी भाषाले प्रचलित गराएको तिब्बत नामभन्दा सिचाङ नै उपयुक्त मान्छन् चिनियाँहरू यो क्षेत्रका लागि।’  

मैले तिब्बत भनेकाले चेतनाथजीले स्पष्ट गर्नुभएको होला सायद। हाम्रोमा त अझै तिब्बत नै भनिँदैछ नि त! सिचाङ अर्थात् तिब्बतको यात्रा त स्वर्ग जाने बाटोबाट हुन्छ भन्ने सुनेको के रहेछ बताउन भने मैले उहाँलाई।

‘हो, बाटो त स्वर्गै जानेजस्तै हो। अक्सिजन नै धेरै कम हुने ५ हजार २ सय मिटरसम्मको उचाइमा पनि सुविधा सम्पन्न रेल, बस र अन्य यातायातका साधनहरू बिजुलीको वेगमा दौडन पाएका छन्। प्रकृतिले कुँदेका हिमाली पठारका अनेकौँ रूप हेर्दै यात्रा गर्दा साह्रै आनन्द लाग्छ। ठाउँठाउँमा देखिने हरियाली र सानासाना बस्तीहरू यस्तो ठाउँमा कसरी बने होलान् भन्दै कल्पना गर्नुपर्छ। मानिसहरूको खुसी देख्दा जीवनको परिभाषा नै परिवर्तन भएको जस्तै लाग्छ। हरिया देखिएका सानासाना फाँटहरूमा चौँरी र च्याङ्ग्रा चर्दै गरेको देख्दा, कतैकतै जङ्गली गधा र तिब्बती जरायोका बथान देख्दा लाग्छ यिनीहरू जीवनको उच्चतम सुखानुभूतिका साथ बाँचिरहेका छन्। सानासाना हिमालहरू देखिन्छन् अति सुन्दर, अहिले नै गएर शिखरलाई चुमूँचुमू लाग्छ। निला तालहरू देखिन्छन् दौड्दै गएर झ्वाममा हामफालौँ र पौडदै जलचर जीवनको अनुभूति गरौँ। तालमा झरेको आकाश अघाउन्जेल अङ्कमाल गरौँझैँ लाग्छ। विशाल हिमाली मरुभूमिमा देखिने अलौकिक सुन्दरताले वर्षौंवर्षसम्म यही हिँडिरहौँ, जरायोका पाठाहरू र गधाका पाजीहरूसँगै उफ्रीउफ्री नाचिरहूँझैँ लाग्छ। आहा, त्यहाँ पैदल हिँड्दा बाटोमा होइन बादलमाथि हिँडे जस्तै हुन्छ।

हुन त अक्सिजनको कमीले होला शरीर हलुङ्गो भएर हिँड्दा आफै उचालिएझैँ भएको तर लाग्छ हावामा, बादलमा हिँडिरहेको छु। अनि हुँदैन त स्वर्गीय आनन्दानुभूति!’

आँधीजस्तो, हुरीजस्तो, बाढीजस्तो भएर शब्दहरू उर्लिएका बेला कविता लेखिरहेझैँ चेतनाथजीले तिब्बत यात्राको अनुभूति सुनाउनुभयो काव्यात्मक शैलीमा। म मन्त्रमुग्ध सुनिरहेको छु।

‘हेलो, कुमारजी ट्याक्सी पाइयो त!’ चेतनाथजीले बोल्दाबोल्दै फोन थिच्न पनि भ्याइसक्नुभएछ।

‘त्यसो भए त्यहाँ कतै प्रहरी देखिएलान् उनीहरूसँग सहयोग माग्नुहोला, युवायुवतीहरूलाई रोकेर आफ्नो समस्या बताउनुहोला। उनीहरूले सहयोग गर्छन्। नआत्तिनु होला है। केही सिप चलेन भने म आइहाल्छु नि!’

कुमार र नवराज अझै ट्याक्सी पनि नपाएर उतै अल्मलिरहेका रहेछन्। मलाई भाइहरूलाई लिन गइहालूँ भइरहेको थियो। चेतनाथजीले पर्दैन अझै केही समय पर्खौ, आइहाल्नुहुन्छ भन्नुभयो।

‘अझ कैलाश पर्वत र मानसरोवरको दृश्यले त मानिसलाई पागल बनाउँछ। पूरै पागल, कविजस्तै उड्छन् त्यहाँ पुग्ने जो कोही पनि मनोवेगमा कल्पनाका पखेटाहरू फटफटाउँदै। स्वर्गकै यात्रा भनेर बौद्ध, हिन्दु, सिख, बोन, जैन अनेकन धर्म र सम्प्रदायका मानिसहरू पवित्र तिर्थालु भाव लिएर त्यहाँ पुग्छन्।’

‘मैले त तपाईलाई स्वर्ग जाने बाटोबारे पो सोधेको त तपाईले त स्वर्गकै बखान गरिदिनुभयो नि!’ उहाँको धाराप्रवाह प्रतुतिलाई रोकेर मैले आग्रह गरेकै कुरा सुनाउन भनेँ।

मेरो कुरा सुनेर हाँस्नुभयो उहाँ मज्जाले।

‘अँ हो त नि, स्वर्ग जाने बाटो त कहाँ स्वर्ग जस्तो हुन्छ त? म त साँच्चै नै स्वर्गकै व्याख्या पो गर्दै रहेछु।’ फेरि हाँस्नुभयो चेतनाथजी।

‘अबचाहिँ साँच्चिकै बाटोको कुरा ल! अक्सिजनको कमीले ऐठन पार्न खोज्छ। मेसो मिलेन भने त मान्छे चट हुन बेर लाग्दैन। मान्छे त के पहाडै उडाउँलाझैँ गरेर चल्ने हावाले भेट्यो भने टिपेर कहाँ पुर्‍याइदेला। हिमपातमा परे एकैछिनमा हिउँको थाकमुनि छोपिन बेरै लाग्दैन होला। टाढाटाढाका बस्तीमा नपुगिन्जेल खानेकुरा भेटिने आशको कुनै चरो उड्दैन त्यहाँ। मृत्यु आफैसँग जिस्कीजिस्की हिँडिरहेको हुन्छ, ‘समातूँ तँलाई, समातूँ तँलाई भन्दै। अनि यस्तो बाटो स्वर्ग जाने बाटो होइन त? यस्तो बाटो पार नगरी कहाँ स्वर्ग पुग्नु रु हो यसैले होला मृत्युलाई जित्दै त्यहाँको बाटो हिँड्नु भनेको स्वर्ग जाने बाटो हिँड्नु हो भन्ने चलन चलेको।

हुन त यी सबै विगतका पैदल हिँड्ने समयका कुरा भए। अहिले त सुविधासम्पन्न रेल र गाडीहरूमा यात्रा हुन्छ, सुविधा सम्पन्न होटलहरूमा बस्न पाइन्छ, ओखती मूलोको जताततै व्यवस्था हुन्छ, गाह्रोसाह्रो पर्यो भने उद्धार गर्नेहरू पनि ठाउँठाउँमा भेटिएलान्, सूचना आदानप्रदानको समस्या छैन।’अहिलेचाहिँ चेतनाथजीले गजबले सुनाउनुभयो स्वर्ग जाने बाटोको कहानी।

‘अनि अर्को पनि छ स्वर्गको कुरा!’

उहाँले यसो भनेपछि मैले के छ भनेर सोधेँ।

सिचाङ भनेको पृथ्वीको छानो हो भनिन्छ। छानोमाथि त टेक्ने ठाँउ हुँदैन नि। केवल आकाश हुन्छ, बादल हुन्छ। त्यही त हो नि स्वर्ग। यसैले होला छानामाथि हिड्ने भनेको नै स्वर्ग जाने बाटो हिड्ने भनेको।

‘त्यति अग्लो भूगोलमा खेतीपाती त केही पनि हुन्न होला नि!’ मैले प्रश्न थपेँ।

उहाँलाई पनि त्यो हिमाली मरुभूमिमा खेतीपाती हुँदैन नै होला भन्ने लागेको थियो रे तर हैन रहेछ। जमिनमुनि तापक्रम मिलाएर तराई, पहाड जता पनि उत्पादन हुने फलफूल र तरकारी उत्पादन गरिँदो रहेछ त्यहाँ त। खरबुजा होस् कि फर्सी होस्, काँक्रा होस् कि पर्वल होस्, करेला होस् कि बरेला होस्, मेवा होस् कि केरा होस् जे पनि फलाउँदा रहेछन्। त्यस्तो देखेर चेतनाथजी पनि छक्क पर्नुभएछ।

मलाई ल्हासाको पोतला दरबारबारे पनि केही सुन्न मन थियो एकातिर भने अर्कातिर भाइहरू आइनपुग्दा तनाव बढिरहेको थियो। चेतनाथजी चाहिँ खोजेर भएपनि ल्याउँछु नि भन्दै मलाई आश्वस्त गराइरहनुभएको थियो।

‘ल्हासाको पोतला दरबारको सुन्दरता अलौकिक छ। ल्हासा शहर नै विश्वको सबभन्दा अग्लो स्थानमा रहेको शहर भएका कारण त्यसै पनि पर्यटकीय महत्त्वको छ। राजा स्रङचंग गम्पोले रानीहरू भृकुटी र वेनछनका लागि भृकुटीकै आग्रहमा बनाइएको रातो दरबार र सिङ्गै पोतला दरबार अहिले विश्वभरिका पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ।

त्यस्तै भृकुटीले माइती देशको सम्झना जीवन्त राख्न नेपालतिर फर्काएर बनाउन लगाएको जोखाङ गुम्बा पनि त्यहीँ छ। ती दरबार र गुम्बाभित्र नेपाली वास्तुकला र मूर्तिकलाका अनुपम उपहारहरू सजाएर राखिएको देख्न पाइन्छ।

‘भयो अब गइहालौँ भाइहरूलाई लिन। रातको ११ बज्न लागिसक्यो।’ मैले चेतनाथजीलाई रोकेँ। उहाँ फेरि फोन थिच्न थाल्नुभयो। सम्पर्क भएन। मलाई होटलको कोठामा छोडेर उहाँ एक्लै हिँड्नुभयो भाइहरूलाई लिन।

एकैछिनमा घन्टी बज्यो। ढोका खोल्दा त तीनैजना मरीमरी हाँस्दै उभिरहेका!

भाइहरूले पनि हामीले उनीहरूलाई खोजेझैँ धुमधाम खोजेछन् हामीलाई। हाम्रो खोजाइ मुसो बिरालाको खेल जस्तै भएछ। पछि ट्याक्सी पाउन पनि अनलाइन भुक्तानीको समस्याका कारण असजिलो भएछ। उनीहरूसँग चिनियाँ रकमको भुक्तानी गर्न अनलाइन सुविधा थिएन मोबाइलमा। नगदमा काम भएनछ। प्रयास गर्दै गर्दा एकजना अधबैंसे चिनियाँले आफैं ट्याक्सीको बन्दोबस्त गरी अनलाइन भुक्तानी समेत गरी ट्याक्सी चढाएर पठाइदिएछन्। तिनले लागेको रकम नगद भुक्तानी गर्न खोज्दा पनि लिन मानेनन् रे। धन्यवाद ती चिनियाँ नागरिकलाई।

लगभग छुट्टिएको दुई घण्टापछि सकुशल भेट भयो हाम्रो। केहीछिन रमाइलो र ठट्टामिश्रित कुराकानी गरेर १९ जुलाई, २०२५ को मध्यरातको समयमा चेतनाथजी टाढाको निवासतर्फ प्रस्थान गर्नुभयो हामीलाई वानआन (शुभरात्रि), जाए ज्येन (बाइबाइ) भन्दै।

प्रकाशित: ६ मंसिर २०८२ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App