विशाल राई ‘उदयपुर आईडल सिजन २’को बिजेता बनेका छन् । रौतामाई गाउँपालिका ३ लाफागाउँका २२ वर्षीय विशाल शनिबार मध्येराति सम्पन्न ‘ग्राण्ड फिनाले’बाट आईडलको उपाधि लिन सफल भएका हुन् ।
गाईघाटस्थित बाँसघारी पार्टी प्यालेसमा सम्पन्न ग्राण्ड फिनालेमा अन्तिम स्पर्धीहरु ६ मध्ये ५ जनालाई पछि पार्दै राई उपाधि हात पार्न सफल भएका हुन् । १ महिनाअघि सुरु ग्राउण्ड राउण्डदेखि जित्दै आएका राई बिभिन्न चरण पार गर्दै अन्तिम ६ मा परेपछि भोटिङ राउटण्मा पुगेका थिए ।
शुक्रबार बिहान ५:०० देखि साँझ ५:०० बजेसम्म खुल्ला रहेको भोटिङका लागि उनले आफन्तजन, समर्थक र सर्वसाधारण भोटको अपिल गरेका थिए ।
आयोजकले गायन क्षमतासँगै भोटको पनि आवश्यक्ता पर्ने जनाएपछि आईडल प्रतिस्पर्धीहरुले भोटको अपिल गरेका थिए । राईले कलासँगै प्राप्त भोटकै आधारमा उपाधि लिन सफल भएको आयोजकले जनाएको छ ।
‘उदयपुर कलाकार समाज’ले आयोजना गरेको रियालिटी शो विजेता राईलाई उदयपुर आईडलको उपाधिसँगै नगद १ लाख रुपैँया, ट्रफी र प्रमाणापत्र प्रदान गरिएको छ । समाजले यसअघि दुई श्रृङ्खलामा आईडल रियालिटी शो सम्पन्न गरिसकेको छ ।
प्रकाशित: २७ पुस २०८२ १७:०८ आइतबार





