आज फ्राइडे रिलिजको अवसर पारेर दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएको छ। धिरज राजवंशी निर्देशित चलचित्र ‘हिमालय गोल्ड’ र अर्को अशोक थापा मगर निर्देशित ‘जलाकी’।
यी दुई शुक्रबारदेखि सिनेमाघरमा प्रदर्शनमा आएका हुन्। दुई कथा फरक स्वाद लिएर आएका यी चलचित्रका कथा भने एकअर्का भन्दा निकै फरक रहेको छ।
‘हिमालय गोल्ड’ लेखक तथा निर्देशक धिराज राजवंशीले ‘हिमालयन गोल्ड’ लाई पहाडबाट जन्मिएको कथा भन्दै यसले सहनशीलता, क्षति र मानवीय आशाको नाजुक शक्ति देखाउने बताएका छन्।
सन् १९९२ को पृष्ठभूमिमा तयार भएको यो फिल्मले एक गाउँकी युवतीले यार्सागुम्बा संकलन गर्न हिमाल चढ्ने क्रममा निर्दयी लुटेरा समूहसँग सामना गर्नु परेपछि सुरू हुने संघर्षको कथालाई पर्दामा उतारेको छ।
यार्सागुम्बालाई यसको औषधीय मूल्यका कारण ‘हिमालयन गोल्ड’ का रूपमा चिनिन्छ। यसमा ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुनील थापासँगै कर्मा शाक्य, परीक्षा लिम्बु, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायत कलाकारको अभिनय छ। यसमा मीनबहादुर भाम निर्माता हुन् भने सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता हुन्।
यता, उपासना सिंह ठकुरी र सोनम तोप्देनको मुख्य भूमिका रहेको ‘जलाकी’मा मगर समुदायको संस्कृतिलाई पृष्ठभुमिमा राखेर कथा निर्माण गरिएको छ।
निर्माण पक्षका अनुसार ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रूपमा मानिने ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ।
त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्रका अन्य कलाकारमा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्ग बहादुर पुन रहेका छन्।
निर्मातामा ओम घर्ति मगर, बीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।
प्रकाशित: ४ मंसिर २०८३ १४:३३ शुक्रबार





-600x400.jpg)