४ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

कमजोर को?

लघुकथा

रात निकै चिसो थियो। सुत्केरी व्यथाले छटपटाइरहेकी आशा श्रीमानको काँधमा अडेस लागेर अस्पतालको ढोकासम्म आइपुगी। पेटमा हुर्किरहेको बच्चाको पीडा अब उसले धान्न नसक्ने अवस्थामा पुगिसकेको थियो।श्रीमानले हात जोड्दै भने, ‘डाक्टर साब! बच्चा जन्मिनेबेला भइसक्यो, भर्ना गरिदिनुस्।’

काउन्टरबाट निर्जीव आवाज आयो, ‘पहिला पैसा जम्मा गर्नुस्।’

‘अहिले मसँग यति नै छ हजुर! बिहानसम्म जसरी पनि बाँकी ल्याउँछु।’

उसले खल्तीबाट केही नोट र सिक्का निकाल्यो।

कर्मचारीले नोट हेरेर टाउको हल्लायो, ‘नियम हो। पैसा जम्मा नगरेसम्म भर्ना गर्न मिल्दैन।’

वेदनाले छटपटाइरहेकी आशा थचक्क भुइँमा बसी। उसको आँखाबाट आँसु झरिरहेका थिए तर अस्पतालको ढोकामा नियम बलियो थियो, आशा कमजोर। उनीहरू अस्पतालबाट बाहिरिए।

अस्पतालको गेटदेखि केही पर पुग्दा आशाले श्रीमानको हात बेस्सरी समात्दै भनी, ‘अब सक्दिनँ।’

सडकछेउमै केही मानिस जम्मा भए। कसैले आफ्नो पछ्यौरा निकालेर ओढाइदिए, कसैले पानी ल्याए।

केहीबेरपछि त्यही सडकमा बच्चाको पहिलो रोदन सुनियो तर त्यो रोदनमा जन्मको खुसीभन्दा अस्पतालमाथिको एउटा कठोर प्रश्न मिसिएको थियो। बच्चा जन्मिसकेको थियो, अस्पतालको कोठाभित्र होइन, अस्पतालको ढोकाबाहिर।

त्यो क्षण उनलाई लाग्यो, ‘बाँच्नका लागि मैले तिमीलाई संसारमा ल्याएँ तर संसारले तिमीलाई स्वागत गर्नुअघि नै तिम्रो आमाको हैसियत सोध्यो।’

उनले बच्चाको निधार चुम्दै भनिन्, ‘छोरा, तिमीलाई म के सिकाऊँ? पैसा नभए पनि मान्छे हुन पाइन्छ भनेर कि मान्छे हुनुभन्दा पहिले पैसा चाहिन्छ भनेर?’

भोलिपल्ट खबर सर्वत्र फैलियो। अस्पतालले भन्यो, ‘नियम सबैका लागि समान हो।’

सरकारले भन्यो, ‘स्वास्थ्य सबैको अधिकार हो।’

समाजले भन्यो, ‘गरिबी ठूलो समस्या हो।’

कमजोर शरीरले आशाले बच्चालाई छातीमा टाँसी र एउटा साेधिन्, ‘कमजोर त मेरो शरीर थियो कि हाम्रो व्यवस्था?’

अनायास उसको नजर अस्पतालको एउटा भित्तामा पर्‍याे। लेखिएको थियो, ‘मानव सेवा नै हाम्रो धर्म हो।’

प्रकाशित: ४ आश्विन २०८३ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App