शिक्षा दिन्छ सुयोग्य पार्छ जसले हुत्याइयो मुन्तिर
बाँच्छन् प्यार विना विभेद छ यहाँ हुन्नन् कुनै आदर
गर्छन् छेड हरेक दुर्जन बनी राखिन्छ धेरै पर
हामी शिक्षक उठ्नुपर्दछ सधैँ पारेर ठाडो शिर।
(१)
हामी योग्य थियौँ कुनै समयका मान्छेहरूका गुरु
गर्थे इज्जत भव्य विश्वभरमा आधार हुन् यी भर
हामीले असली कला छढरिदिँदा मान्छे हुने सुन्दर
हामी शिक्षक उठ्नुपर्दछ सधैँ पारेर ठाडो शिर।
(२)
बन्दैछौ हतियार औसत यहीँ आयो भने भोटमा
बन्दैछौ मतियारका गरजमा फुस्रो लिई ओठमा
मार्छन् लात तिनै अकारण यहाँ छन् भेद या अन्तर
हामी शिक्षक उठ्नुपर्दछ सधैँ पारेर ठाडो शिर।
(३)
जोतिन्छौ दिनरात डस्टर लिई भन्छन् अरू मास्टर
जान्छौं न्याय मिलोस् भनी सडकमा हुन्छौं त्यहाँ नोकर
दिन्नन् न्याय छलेर भ्रष्टहरूले भेटिन्छ सौदागर
हामी शिक्षक उठ्नुपर्दछ सधैँ पारेर ठाडो शिर।
(४)
आफ्नो धर्म चिनौँ विरासत उठोस् हामी बनौँ सज्जन
हामी एक दियो बनी मुलुकमा ल्याऊँ उज्यालो दिन
हाम्रो माग छ मुख्य गौण छ यहाँ खान्छन् अरूले तर
हामी शिक्षक उठ्नुपर्दछ सधैँ पारेर ठाडो शिर।
(५)
प्रकाशित: १३ वैशाख २०८३ ०७:५५ आइतबार