अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको क्राइम थ्रिलर चलचित्र ‘मास्टर्नी’ को अग्रिम टिकट बिक्री खुला गरिएको छ।
भदौ ५ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको रिलिजभन्दा तीन दिन अगावै मल्टिप्लेक्सहरूमा टिकट बुकिङ खुला गरिएको हो।
केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई ‘ए’ श्रेणीमा वर्गीकरण गर्दै प्रदर्शन अनुमति दिएको छ। सेन्सर बोर्डको निर्णयअनुसार अब १६ वर्ष उमेर पूरा गरेका दर्शकले मात्र यो चलचित्र हेर्न पाउनेछन्।
सुवेन्दु घोषको निर्देशनमा तयार भएको यस चलचित्रमा प्रियंका कार्कीसहित सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायतका कलाकारको अभिनय रहेको छ।
आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माता रहेको चलचित्रको कथा स्वयं अभिनेत्री कार्कीले लेखेकी हुन्। चलचित्रको पटकथा शान बस्नेतले लेखेका हुन् भने संवाद लेखनमा प्रियंका र शानले सहकार्य गरेका छन्।
प्रकाशित: २ भाद्र २०८३ १६:०८ मंगलबार





