१) मुक्तक
उकालो यात्रामा चुलिएको डाँडो बनेर
तेर्सोमा घाँटीमा झुन्डिने घाँडो बनेर
कति सताउँछौ जीवनभर मलाई तिमी
नउखेलिने गरी मुटुमा गढेको काँढो बनेर।
२) मुक्तक
रिसाइदिन्छिन् उनका कुरा मानिनँ कि जस्तो लाग्छ
काममा प्रायः दोषै दिन्छिन् जानिनँ कि जस्तो लाग्छ
आफू मात्रै असल ठान्ने मेरो मात्रै गल्ती हो कि
मलाई खराब उनलाई असल ठानिनँ कि जस्तो लाग्छ।
३) मुक्तक
थिएँ बुहारी बिर्सेर बोल्छिन् सासू रूखो गरी
बन्नु छ सासू बिर्सेर बहुत बोल्छिन् उसैगरी
दुवैको पाउने माया भाग्यमानी पुरुष छ जो
मायाको रापले मर्दै बाँच्दै गर्छ घरीघरी।
४) मुक्तक
देश बनाउने आँट भएका देशकै चिन्ता गर्छन्
समाज, भाषा, शिक्षाप्रेमी त्यसकै चिन्ता गर्छन्
सिर्जना र परहितमा चाहन्नन् जो लाग्न
आफैंलाई सिँगार्छन् र आफै मक्ख पर्छन्।
५) मुक्तक
गोरो पनि कालो हुन्छ कोइलाखानी पसेपछि
साधु पनि चोरै हुन्छ चोर्नेसित बसेपछि
जसको सङ्गत उसकै गुणगान गर्न बाध्य हुन्छ मान्छे
सन्त झूटो बोल्छन् दलको दलदलभित्र फसेपछि।
प्रकाशित: १० असार २०८३ १२:२४ बुधबार





