मिनी बसको बिचतिरको सिटमा म बसेको थिएँ। साँझ पर्न थालेको थियो। बस भरिभराउ थिएन; केही सिट खाली थिए। इन्जिनको घरघराहट र झ्यालबाट पस्ने धुलो मिसिएको हावाबिच एक महिलाको चर्को स्वर बारम्बार उफ्रिरहेको थियो।
"हुतिहारा! केही कामको छैन तँ। मरे पनि हुन्थ्यो!"
बसभित्रका नजरहरू एकैचोटि उता तानिए। मैले पनि हेरें।
झ्यालतर्फको सिटमा बसेका एक पुरुषतर्फ फर्केर ती महिला झर्किरहेकी थिइन्। मसँग आँखा जुध्ला र उल्टै "किन हेरेको?" भन्दै ममाथि नै खनिने हुन् कि जस्तो लागेर मैले तुरुन्तै नजर झ्यालतिर मोडेँ।
त्यसपछि पनि उनको स्वर बसभरि ठोक्किरह्यो।
"यति ठूलो भइस्, यत्ति पनि बुद्धि छैन! कसैले जे भन्यो, त्यही पत्याइहाल्ने!"
अगाडिका सिटमा बसेका कलेजका विद्यार्थीहरू चुपचाप एक अर्काको अनुहार हेर्थे, फेरि उनीतिर आँखा पुर्याउँथे। कसैले मोबाइलको स्क्रिनमा नजर गाडेझैँ गर्थ्यो तर कान भने उतैतिर हुन्थे।
गाली खाइरहेको मान्छेले पिठ्यूँको झोला काखमा राखेको थियो। दुवै हातले त्यसलाई अँगालेर ऊ घोप्टो परिरहेको थियो। बसले खाल्डो काट्दा उसको शरीर हल्का हल्लिन्थ्यो तर टाउको उठ्दैनथ्यो।
मलाई लाग्यो, सायद ती उनका श्रीमान् होलान्।
छेउको सिटमा बसेको एक विद्यार्थी बिस्तारै मेरो नजिक सर्यो।
"अङ्कल, तपाईंले सम्झाइदिनु न," उसले फुसफुसायो, "अचाक्ली भयो।"
मैले महिलातिर हेरेँ । उनी सिटको डन्डी समातेर फेरि गर्जिइन्, "पढेको रे! ब्याचलर पढेको रे! यस्ता खलासीले ठग्छन् भन्ने पनि थाहा छैन?"
"के भएको रहेछ?" मैले विद्यार्थीलाई सोधेँ।
उसले ओठभित्र तानेर भन्यो, "भाडाको कुरा हो।"
"यही बसकोॽ"
"हैन, योभन्दा पहिलाको बसको रे।"
"श्रीमान् हुन्?"
उसले टाउको हल्लायो।
"छोरा।"
मैले फेरि उता हेरें।
"मैले दुई जनाको भाडा तिरिसकेकी थिएँ!" महिलाको स्वर फेरि उठ्यो, "फेरि तैँले पैंतीस रुपैयाँ किन बुझाइस? मलाई एकपटक सोध्न पनि परेन?"
घोप्टो परेको टाउको झन् तल झुक्यो।
"तँ जस्तो सोझालाई त यिनीहरूले बेचिदिन्छन्। किन पढेको? गाउँमै गाईबाख्रा हेरेर बसेको भए हुन्थ्यो!"
अगाडिको सिटमा बसेका दुई युवती फर्केर हेर्थे, एक अर्काको अनुहार हेर्थे, फेरि चुप लाग्थे। एकजनाले केही भन्न खोजेझैँ ओठ खोली; अर्काले उसको कुहिनोले नबोल्न सङ्केत गरी।
महिला रोकिइनन्।
"मास्टर पढ्छु रे! पढेर यही सिकेको? बाउ गतिलो भए पो छोरो गतिलो हुन्थ्यो ! भोलिदेखि तेरै बाउसँग गएर बस् । मसँग बस्नुपर्दैन!"
झ्यालतिरको सिटमा घोप्टो परेको युवकले भने केही गरेन। न प्रतिवाद, न सफाइ। झोलामाथि घोप्टो परेको उसको अनुहान माथि उठेन।
जम्मा पैंतीस रुपैयाँ।
म अनायासै आफ्नो गोजीतिर हात लगाएँ। औँलाले नोट छोए। मनमा आयो— निकालेर दिउँ, "लिनुस्, यति कुराका लागि..."
म उठ्न खोज्दै थिएँ, छेउको विद्यार्थीले मेरो हात समात्यो।
"नदिनुस्, अङ्कल," उसले साउती मार्यो, "उल्टै झन् ठूलो झगडा हुन्छ।"
बस अर्को स्टपमा रोकियो।
म ढोकातिर बढेँ। ओर्लने बेला फर्केर एकपटक भित्र हेरें। महिलाको मुख अझै चलिरहेकै थियो।
बसको बत्तीको उज्यालो युवकको झोलामाथि अडिएको थियो।
उसले अझै टाउको उठाएको थिएन।
प्रकाशित: १९ असार २०८३ ०८:३७ शुक्रबार





