६ असार २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

अस्ताउन नजान्ने घाम

व्यक्तित्व

समयको नदी सधैं निरन्तर र अविश्राम बगिरहन्छ। महाकालको गतिमा भने कहिलेकाहीं यस्ता दुर्लभ क्षणहरू आउँछन्, जहाँ पुगेर समय आफैं स्तब्ध बन्छ र आफ्नो ऐतिहासिक गौरव गाथामा गौरवान्वित हुँदै थामिन्छ। २०८३ जेठ २८ गतेको त्यो सुनौलो अपराह्न, काठमाडौंको थापागाउँस्थित ‘लेखन कुञ्ज’को प्रेक्षागृहमा ठ्याक्कै त्यस्तै एउटा अलौकिक अनुभूति भयो। त्यहाँ कुनै चटक वा जादुमयी चमत्कार भएको थिएन, न त आकाशका ताराहरू नै धर्तीमा झरेका थिए। त्यहाँ त कर्म, निष्ठा र इतिहासको सगरमाथा जत्तिकै अग्ला दुई विराट नक्षत्रहरूको पवित्र मिलन भएको देखियो।

अवसर थियो– नेपालको कानुनी जगत्का जीवन्त इतिहास, निष्ठाका प्रतिमूर्ति, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको १००औं जन्मोत्सव अर्थात् शताब्दी प्रवेशको उत्सव। त्यो उत्सव उमेरको अंक गणनामा मात्र सीमित थिएन। त्यो क्षण अझ दिव्य र स्मरणीय त्यसबेला भयो जतिखेर ती सय वर्षका जुझारु कर्मयोगीलाई आशीर्वाद दिन मुख्य अतिथिका रूपमा उपस्थित अर्का १०२ वर्षका दिव्य शताब्दी पुरुष डा. गौरीशंकरलाल दास उठे। एक सय दुई वर्षका देवतुल्य पुरुषले एक सय वर्षका जुझारु महावकिलको शिरमा आफ्नो काँपिरहेको स्नेही हात राखेर सुमधुर आशीर्वाद दिइरहेका बेला प्रेक्षागृहमा उपस्थित समाजका प्रबुद्ध मस्तिष्कहरू नतमस्तक भए र आँखाहरू कृतज्ञताको आँसुले रसाए।

त्यो दृश्य हेरिरहँदा पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल भावविह्वल बन्दै अहोभावमा डुब्नुभयो र सुस्केरा हाल्दै भन्नुभयो, ‘कमल जी ! यो जुनीमा यस्तो अलौकिक, ईश्वरीय दृश्य फेरि देख्न पाइएला कि नपाइएला ?’ त्यहाँ उपस्थित हरेक सहभागीको मानसपटल आफ्नै चर्मचक्षुमाथि विश्वास गर्न सकिरहेका थिएनन्। लाग्थ्यो, समय आफैं ठिंग उभिएर यी दुई इतिहासका जीवित पानाहरूलाई श्रद्धापूर्वक सलाम, नमन गरिरहेको छ।

समय थामियो, थामिएनन् सपनाका तन्द्रा

१९८३ सालको उज्यालोमा धर्तीमा टेकिएका ती गोडा आज एक शताब्दी लामो यात्रा तय गरिसक्दा पनि थाकेका छैनन्। हामीमध्ये धेरैले पहिलो पटक देख्दा जस्तो देदीप्यमान देखिएका थिए, कृष्णप्रसाद भण्डारी २०८३ जेठमा पनि उस्तै ओजस्वी देखिए। यसबिचको अवधिमा हाम्रै आँखाअगाडि कति पुस्ताहरू ढले, कति इतिहासहरू विलीन भए तर ‘भण्डारी बा’ आज पनि उस्तै जीवन्त, क्रान्तिका कुरा गर्ने बैंसालु जोस र ऊर्जाले ओतप्रोत छन्।

‘मलाई एक मिनेट पनि फुर्सद छैन,’ उनी निष्फिक्री मुस्कुराउँदै भन्छन्।

जुन उमेरमा मानिसहरू अतीतका स्मृतिहरूको भारी बिसाएर गुनासोको त्यान्द्रोमा बाँच्छन्, त्यो उमेरमा ‘भण्डारी बा’ खुला आँखाले देशको समृद्धिका अनन्त सपनाहरू देखिरहेका छन्। आज पनि उनीसँग देश विकासको मौलिक र व्यावहारिक खाका छ।

उनी भन्छन्, ‘अब नेपालका पहाडहरूमा व्यावसायिक घाँस खेती गरेर चीनमा बेच्नुपर्छ र आत्मनिर्भर बन्नुपर्छ।’ स्मृतिले अलि–अलि धोका दिन थालेको शाश्वत सत्यलाई सहजै स्विकार्दै उनी आफ्नो अर्को मानवीय सपना सुनाउँछन्, ‘अब अल्जाइमर्स (बिर्सने रोग) का बिरामीहरूका लागि एउटा सुविधासम्पन्न अस्पताल बनाउनुपर्छ, जहाँ कसैले पनि आफ्नो पहिचान गुमाएर भौंतारिनु नपरोस्।’

शताब्दी जन्मोत्सवको दिन कृतज्ञता ज्ञापन गर्दैगर्दा पनि उनको स्वरमा त्यही सिंहनाद जस्तै आत्मविश्वास गुञ्जियो, ‘देश कहाँ गरिब छ र ? पैसा त जति पनि छ, मात्र काम गर्ने जाँगर र इमानदार हातहरू हुनुपर्छ।’

आफूभन्दा दुई वर्ष जेठा डा. गौरीशंकर लाल दासलाई उनले एक अबोध बालकले जस्तै भने, ‘तपाईं मलाई अझै लामो आयुको आशीर्वाद दिनुस्, मैले यो धर्तीमा अझै धेरै काम गर्नु छ।’ यो सुन्दा सबै अवाक् र स्तब्ध भए। सामान्यतया पचास कटेपछि आममानिस ‘बुढो भइयो’ भन्दै आत्मसमर्पण गर्छन्, ८० नाघेपछि ‘संसार सकियो, साथीभाइ सबै गए, अब मेरो पालो’ भन्दै निराशाको अँध्यारो गुफामा बस्छन्। १०० वर्षका यी तन्नेरीमा यो अविराम ऊर्जा कहाँबाट प्रस्फुटित भयो होला ?

‘इकिगाई’ र सक्रिय जीवनको दार्शनिक रहस्य

जापानी संस्कृतिमा दीर्घ र सुखी जीवनको एउटा रहस्यमयी सूत्र छ, जसलाई ‘इकिगाई’ भनिन्छ। अर्थात्, मस्त निदाउने, तनावलाई मनमा ठाउँ नदिने, मस्तिष्कलाई सधैं नयाँ विचारमा सक्रिय राख्ने, शरीरलाई श्रम र व्यायाममार्फत तन्दुरुस्त राख्ने, सन्तुलित भोजन गर्ने र प्रकृतिको सामीप्यमा घाम र हावासँग मितेरी लगाउने।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी विगत आधा शताब्दीदेखि यही कठोर आत्म–अनुशासनको महामार्गमा हिँडिरहेका छन्। नापतौल गरेर सन्तुलित खाना खाने, आफ्नो आरामदायी गाडी घरमै थन्क्याएर न्यायालय र कार्यालयसम्म पैदलै धाउने उनको दशकौं देखिको बानी हो। यो सक्रिय जीवनशैलीको अगाडि उमेर आफैं पराजित भएको छ। सय वर्षको उमेरमा पनि देशका प्रधानन्यायाधीशले समेत ‘गुरुदेव’ भनेर शिर निहुराउने भण्डारी बा अझै पनि हिँडेरै अदालतका सिंढीहरू उक्लिरहेका भेटिन्छन्। यही कर्मयोगले उनलाई कहिल्यै जीर्ण वा बुढो हुन दिएन।

जेठ २८ गतेकै उनको त्यो व्यस्त दिनचर्यालाई हेरौं न ! बिहानै सर्वोच्च बार एसोसिएसनमा पुगेर युवा वकिलहरू माझ घेरिएका भण्डारी बाले सबैलाई चिया–बिस्कुट खुवाए, स्नेहपूर्वक फोटो खिचाए। त्यसपछि दिउँसो साढे १ बजेदेखि साढे ४ बजेसम्म लेखनकुञ्जको मूल समारोहमा सक्रियतापूर्वक सहभागी भए। कार्यक्रम सकिएपछि पुतलीसडकस्थित ‘नेपाल ल फर्म’मा पु¥याउँदा उनले कमल जीको हात समातेर भावुक हुँदै भने, ‘कमलजी! अर्को पाला पनि यसरी नै जन्मोत्सव मनाउनुपर्छ है !’

१०० वर्षका भण्डारीको जाँगर त्यत्तिमै सिमित रहेन। बेलुका ५ः३० बजे बारको अर्को भव्य कार्यक्रमका लागि स्क्वायर होटल पुगे, जहाँ प्रधानन्यायाधीश, पूर्व प्रधानन्यायाधीशहरू, सर्वोच्चका सम्पूर्ण न्यायाधीश र वकिलहरूको विशाल उपस्थिति थियो। त्यहाँ रातको ९ः०० बजेसम्म पूर्ण सजगताका साथ सरिक भएर मात्र उनी आफ्नो निवास फर्किए।

उनकी सुपुत्री एवम् पूर्व महान्यायाधिवक्ता सविता भण्डारी बराल अचम्म मान्दै भन्छिन्, ‘बुबाले खाना त पक्षीले जस्तै थोरै खानुहुन्छ, यो अनन्त ऊर्जा कहाँबाट आउँछ कुन्नि ! त्यही बेला हामीले पनि थप्यौं, बुबाको ८०औं र ९०औं जन्मोत्सव त मनाइयो, आज १०० को पनि मनाइयो, अब ११० र १२० वर्षको पनि मनाउनुपर्छ है। उनले हाँस्दै भनिन्– गजब ! यो दिव्य वचन बनोस्।’

जन्मदिनमा नयाँ दौरा–सुरुवाल र कोट लगाउने पारिवारिक चलन रहेछ तर घरका सदस्यहरूले कपडा सिलाउने कुरा गरेपछि उनी बाल–हठ गर्दै भन्छन् रे– ‘कहिले लगाउनु र यो उमेरमा नयाँ कपडा ! मलाई चाहिँदैन, पुरानै ठिक छ।’

उनी अरूले भनेको सजिलै मान्ने मान्छे होइनन्, आफ्नै निष्ठा र अडानमा अडिग रहन्छन् तर उनको त्यो ‘जिद्दीपन’ कसैलाई बिझाउने वा दुखाउने खालको छैन। अरूलाई दुःख नदिने र सबैको कल्याण गर्ने पवित्र उद्देश्य भएपछि मान्छेले आफ्नो अडान राख्दा पनि त्यो संसारकै लागि प्रिय बन्दो रहेछ। वास्तवमा उनको यही अडिग स्वभावले नै आज जीवनलाई यो उचाइमा पुर्‍याएको हो। लेखनकुञ्जमा बर्थडे केक काट्दै गर्दा उनले डा. गौरीशंकरलाल दासको कानमा साउती मार्दै भने, ‘मेरो आयु १२० वर्ष त सहजै पुग्छ होला नि !’ यो सुनेर छेउमा रहेकाहरू अचम्म र खुसी भए।

नाम ‘जुनियर’, कर्मले सिंगो न्याय जगत्का ‘सिनियर’

नेपालको कानुनी इतिहासको पाना पल्टाउँदा भण्डारीलाई एउटा निकै रोचक, आदरार्थी र प्रिय नामले चिनिन्छ– ‘जुनियर सर’। समारोहमा उपस्थित वकिलहरूले उनको यो उपनामको गहिरो अर्थ खोल्दै भने, ‘उहाँ नामले जुनियर हुनुहोला तर विचार, निष्ठा, सादगी, त्याग र उचाइका हिसाबले नेपालकै सबैभन्दा ‘सिनियर’ र आदरणीय अभिभावक हुनुहुन्छ।’

नयाँ र कनिष्ठ वकिलहरूलाई सधैं पुत्रवत् माया गर्ने, सिकाउने र उनीहरूको व्यावसायिक हकहितका लागि जस्तोसुकै आँधीबेहरीमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने भएकाले नै सिंगो कानुन क्षेत्रले उनलाई श्रद्धापूर्वक ‘जुनियर सर’को उपाधि सुम्पिएको हो।

आफ्नो जीवनको झन्डै सात दशकभन्दा बढी समय देशको न्याय प्रणालीको सुधार र विधिको शासनका लागि अर्पण गरेका उनको अधिवक्ता लाइसेन्स नम्बर ८ (आठ) हो। उनीभन्दा अगाडिका १ देखि ७ नम्बरसम्मका ‘लाइसेन्स होल्डरहरू’ यो संसारबाट बिदा भएको पनि दुई दशक नाघिसक्यो। आज नेपाल बार एसोसिएसनको ज्येष्ठताको सूचीमा १ नम्बरमा उहाँकै नाम स्वर्ण अक्षरमा अंकित छ। उहाँ वकिलहरूका महावकिल, न्यायाधीशहरूका महान्यायाधीश र न्याय क्षेत्रका ‘भीष्मपितामह’ हुनुहुन्छ।

पञ्चायतको अँध्यारोमा नागरिक स्वतन्त्रताका मेरुदण्ड

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि सुरु भएको कानुनी र राजनीतिक प्रतिरोधी आन्दोलनमा भण्डारीको भूमिका स्वर्णिम अक्षरले लेखिनेछ। पञ्चायतकालको त्यो अत्यास लाग्दो र कठिन समयमा, जहाँ बोल्नु पनि अपराध मानिन्थ्यो, उनी भने नागरिक स्वतन्त्रता र राजनीतिक बन्दीहरूको पक्षमा निडर भई चट्टानझैं उभिए।

वरिष्ठ अधिवक्ता भण्डारीले बिपी कोइराला, रामहरि जोशी, कृष्णप्रसाद भट्टराई लगायतका शीर्ष नेताहरूलाई राजनीतिक बन्दी बनाइँदा सत्ता र शक्तिको प्रलोभन वा बन्दुकको डरमा कहिल्यै नझुकी, अदालतको कठघरामा उभिएर निर्भीकताका साथ न्यायको बहस गरेका थिए। सत्ताको डर र प्रलोभनले कहिल्यै नडगमगाएको उनको यो स्वाभिमानी स्वभाव आजको नयाँ पुस्ताका लागि एउटा सिंगो विश्वविद्यालय बनेको छ।

साक्षी भाव र ‘चरैवेति’को अमर वैदिक सन्देश

शताब्दी जन्मोत्सवमा उनलाई सार्वजनिक अभिनन्दन पत्र अर्पण गरिँदाकृष्णप्रसाद भण्डारीको अनुहारमा कुनै अहंकारको छिटा देखिएन। जीवनका प्राप्ति र अप्राप्ति, सुख र दुःखमा उनको भाव सधैं समरूपी, शान्त र स्थिर देखिन्थ्यो। कुनै समय भण्डारीकै कानुन फर्ममा ‘इन्टर्न’का रूपमा काम गरेका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो हातैले लेखेर पठाएको शुभकामना सन्देश पढिँदा, वकिलका महागुरु शान्त भएर सुनिरहेका थिए। लेखन कुञ्जका अध्यक्ष कमल ढकालले आफ्नाबारे  बेल्दा होस् वा देशका वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरि उप्रेती, डा. रामकृष्ण तिमल्सेना तथा वन विज्ञ डा. जगदीश बराल, प्राज्ञ डा. केशवचन्द्र शर्मा, सञ्चारकर्मी ठमनाथ घिमिरे, कलाकार द्वारिका शर्मालगायतका प्रबुद्ध व्यक्तित्वहरूले आफूसँगको संस्मरणहरू सुनाइरहँदा भण्डारीको अनुहारमा एउटा सौम्य र सन्तोषको मुस्कान फक्रिएको देखिन्थ्यो।

कार्यक्रमबाट बिदा हुने बेलामा गुरुवर भण्डारीले डा. द्वारिकानाथ ढुंगेललाई नजिकै बोलाएर अलिकति भावुक हुँदै भने, ‘काठमाडौंको मुटुमा मेरो दुई रोपनी जमिन छ, त्यहाँ एउटा अनुसन्धान केन्द्र खोल्नु छ। तपाईं त्यहाँ काम गर्न आउनुपर्छ।’ १०० वर्षको उमेरमा पनि यति विराट योजना र सिर्जनात्मक ऊर्जा देख्दा ढुंगेल अवाक् भए र आदरपूर्वक शिर निहुराउँदै भने, ‘अवश्य गुरुदेव ! म अवश्य काम गर्न आउनेछु।’

उनले स्थापना गरेको ‘नेपाल ल फर्म’ नेपाली न्याय क्षेत्रको एउटा यस्तो पावन उद्गमस्थल हो, जसले हजारौं कानुनविद्हरू जन्माएर देशलाई सुम्पियो। झन्डै ८० वर्षदेखि चलिरहेको यो संस्थाको माथिल्लो तलामा आज पनि भण्डारीलाई एक वृद्ध सिंहजस्तै गर्जंदै न्यायका पुराना फाइलहरू पल्टाइरहेको भेटिन्छ। कसैले यो उमेरमा वकालत गर्नुको कारण सोध्यो भने उनको मुखबाट स्वतःस्फूर्त दार्शनिक वाक्य निस्कन्छ, ‘वकालत भनेको बुद्धि बेच्ने पेसा हो, यो पनि कतै उमेर पुग्यो भन्दैमा छाड्ने कुरा हो र?’

लामो आयु बाँच्नुको एउटा अत्यन्तै दुख्दो र कारुणिक पाटो पनि हुन्छ, आफ्नै आँखाअगाडि आफ्ना प्रियजनहरूको मृत्यु र बिमारीको साक्षी बन्नुपर्ने नियति। जीवनको यो शताब्दी–यात्रामा उनका सुख–दुःखकी सँगिनी (श्रीमती), सुपुत्र र ज्वाइँ यो संसारबाट बिदा भइसकेका छन्। उनका समकालीन साथीहरू त कति हो कति, इतिहासको गर्भमा विलीन भइसके। भण्डारी भने नयाँ पुस्तासँग नयाँ कुराहरू सिक्दै, नित्य निरन्तर आफ्नै लयमा, सुख र दुःखभन्दा धेरै माथि उठेर श्रीमद्भगवद्गीताको ‘साक्षी भाव’मा बाँचिरहेका छन्।

वरिष्ठ वकिल भण्डारीको यो शताब्दी लामो जीवनलाई नियाल्दा वैदिक मन्त्रको त्यो अमोघ अमर वाक्य मानसपटलमा गुञ्जायमान हुन्छ, ‘चरैवेति, चरैवेति’ अर्थात् हिँडिरहूँ, अघि बढिरहूँ, जीवनको अन्तिम श्वाससम्म कहिल्यै नरोकिऊँ। शताब्दी पुरुष कृष्णप्रसाद भण्डारीको समग्र जीवनले मानव जातिलाई दिएको सर्वोत्तम शिक्षा, दीक्षा र सन्देश पनि यही नै हो। उनको यो पावन जीवनयात्रा नेपालको न्यायपूर्ण आन्दोलनको एउटा सिंगो विश्वविद्यालयका रूपमा युगौंयुगसम्म जीवन्त र मार्गदर्शक रहनेछ। शताब्दी प्रवेश गर्ने यो जन्मोत्सवका अवसरमा चिनेजानेका सबैका तर्फबाट कृष्णप्रसाद भण्डारीलाई अनन्त शुभकामना!

प्रकाशित: ६ असार २०८३ १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App