१) गजल
चन्द्र सूर्यको शान ढल्नु हुन्न
गोर्खालीको वीरता गल्नु हुन्न।
मामाको घोडा मेरो हिही गरी
अरूको इशारामा चल्नु हुन्न।
ईश्वर कतैबाट पक्कै हेर्छन्
आफूले आफूलाई छल्नु हुन्न।
तिमी आफैँ ऊर्जावान छौ हेर
अरूको सलेदोमा बल्नु हुन्न।
चिनेनौ कि तिमीले आफूलाई
त्यसै अरूको पाउ मल्नु हुन्न।
समय वेगवान् छ बुझ्नुपर्छ
विना कामले कतै टल्नु हुन्न
एकदिन जानै पर्छ अवश्य
दिनदिनै खाग भै जल्नु हुन्न।
खाउ कसम यो माटो छोएर
आयातित अत्तर दल्नु हुन्न।
२) गजल
मैले पनि खेल्नुपर्याे,खेलै खेलेपछि,
मैले पनि झेल्नुपर्याे, खेलै खेलेपछि।
कति बेल्छौ पापड दुःख दिनलाई,
मैले पनि बेल्नु पर्यो,खेलै खेलेपछि।
मैले पनि झेल्नुपर्याे, खेलै खेलेपछि,
पेल्दा पेल्दा मलाई कुनामै पुर्यायौ।
मैले पनि पेल्नुपर्याे, खेलै खेलेपछि,
मैले पनि झेल्नुपर्याे, खेलै खेलेपछि।
माकुरीभन्दा राम्रो जाल जेल्ने र'छौ,
मैले पनि जेल्नुपर्याे, खेलै खेलेपछि।
मैले पनि झेल्नुपर्याे, खेलै खेलेपछि,
ठेल्दा ठेल्दै डिलमा पुराएरै छाड्यौ है!
मैले पनि ठेल्नुपर्यो, खेलै खेलेपछि,
मैले पनि झेल्नुपर्याे, खेलै खेलेपछि।
३) गजल
कालो केश पाक्ने रहेछ उमेर ढल्केपछि,
जोशजाँगर थाक्ने रहेछ उमेर ढल्केपछि।
आफ्नै छाती चुसाएर राखे वास बनाई,
सन्तानले फ्याँक्ने रहेछ उमेर ढल्केपछि।
धुलो मैलो लाग्ला भन्दै काखैमा हुर्काए,
गाईवस्तुझैँ राख्ने रहेछ उमेर ढल्केपछि।
घरकाले जाजा, वनकाले आइजा भन्छ,
पीडाहरूले ढाक्ने रहेछ उमेर ढल्केपछि।
हाडछाला भएकी छु बोल्न केही सकिँदैन,
आफै काल डाक्ने रहेछ उमेर ढल्केपछि।
तागत छैन शरीरमा गर्न केही सकिँदैन,
मृत्यु मात्रै ताक्ने रहेछ उमेर ढल्केपछि।
४) गजल
मनका बहहरू कोरियो हेर गजल बनेछ,
दुःखपीडालाई जोरियो हेर गजल बनेछ।
कस्तुरीले विनाको वास्ना थाहा पाउँदैन,
तिम्रो दिललाई चोरियो हेर गजल बनेछ।
तिमी समीप हुँदा बोली फुट्दैन किन हो,
कनिकुथी मुख फोरियो हेर गजल बनेछ।
दैवले भाग लगाई पीडा मात्रै दिने गर्छ,
आँसुले ताल भोरियो हेर गजल बनेछ।
एकपछि अर्को कति कष्ट आउने गर्छ,
आँखैसामु खुसी सोरियो हेर गजल बनेछ।
पढ्ने कर्म गणित गर्यो भाषा थोरै बुझ्यो,
एकछिन 'बलु' घोरियो हेर गजल बनेछ।
५) गजल
जीवन दिने नदी ! काल बनेर आएपछि,
के रहनु? ढुङ्गामाटो छाल बनेर आएपछि।
सृष्टि पनि तिमी गर्ने संहार पनि तिमी गर्ने,
हामी सबै भुमरीमा खाल बनेर आएपछि।
बिहानै तिम्रो नाम जपेर यात्रा गरेका थिएँ,
निष्प्राण बनायौ तिम्ले जाल बनेर आएपछि।
बुझ्नै नसक्ने तिम्रो लीला अपरम्पार किन?
हाम्रो के लाग्नु? तिमी चाल बनेर आएपछि।
पुजेकै हो सधैँ तिमीलाई अर्पेको पनि हो,
अब ढोग्न छाडौँ कि गाल बनेर आएपछि।
प्रकाशित: २० भाद्र २०८३ ०८:०५ शनिबार


-600x400.jpg)


