नेपाली समाजमा जरा गाडेर बसेको जातीय विभेद अझै पूर्ण रूपमा उन्मूलन हुन सकेको छैन। यसको प्रभाव सहरमा केही हदसम्म घटेको देखिए पनि ग्रामीण क्षेत्रमा भने विभेदका स्वरूप अझै खुलमखुला देखिन्छन्। आजको समयमा समेत जातका आधारमा मानिसमाथि हुने विभेद कायम छ भने विगतमा यसको अवस्था कस्तो थियो होला, सहजै अनुमान गर्न सकिन्छ।
समाजले कथित ‘तल्लो’ र ‘माथिल्लो’ जातका रूपमा गरेको वर्गीकरणले सिर्जना गरेको दूरी र त्यसका कारण भोग्नुपरेको अमानवीय व्यवहार आज पनि नेपाली समाजका कतिपय ठाउँमा देखिन्छ।
यही विषयलाई केन्द्रमा राखेर बनेको नेपाली चलचित्र ‘जदौ’ अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ। ‘हरेक कुरासँग जितेँ, तर यो जातदेखि म हारेँ’ भन्ने बमबहादुरको संवादले नै चलचित्रको मूल भावलाई प्रतिनिधित्व गर्छ।
कथा
चलचित्रको कथा बमबहादुर (मुकुन भुसाल) बाट सुरु हुन्छ। उनी आफ्नो छोरा इन्द्रको थर परिवर्तन गराउन वडा कार्यालय धाइरहेका हुन्छन्। कथित माथिल्लो जातकी युवती सबिना (नीति शाह)सँग छोरा इन्द्र (प्रभातपाल ठकुरी) प्रेम सम्बन्धमा परेपछि बमबहादुर छोराको थर परिवर्तन गराउन प्रयासरत हुन्छन्।
छोराको थर परिवर्तनका लागि उनी पटक–पटक वडा कार्यालय पुग्छन्। तर प्रत्येक पटक एउटै जवाफ पाउँछन्—‘यो जात फेरिने ठाउँ होइन। मान्छेको जात जन्मिएपछि फेरिँदैन।’
गाउँबाटै तिरस्कृत बमबहादुरको जीवन थप दयनीय बन्छ। आफूले नगरेको अपराधको आरोप खेप्नुपरेपछि उनी आफ्नै गाउँबाट बहिष्कृत हुन्छन्। आखिर उनले के अपराध गरेका थिए? किन उनीमाथि यस्तो व्यवहार भयो? यसको जवाफका लागि भने चलचित्र नै हेर्नुपर्ने हुन्छ।
अभिनय
चलचित्रलाई प्रभावकारी बनाउन कलाकारको अभिनयको ठूलो भूमिका हुन्छ। कमजोर पटकथा वा निर्देशनलाई समेत केही हदसम्म कलाकारको सशक्त अभिनयले ढाक्न सक्छ। तर ‘जदौ’मा अभिनय पक्ष पनि पूर्ण रूपमा बलियो देखिँदैन।
नीति शाहको अभिनय कतिपय दृश्यमा अस्वाभाविक लाग्छ। विशेषगरी भावनात्मक दृश्यमा उनको प्रस्तुति प्रभावकारी बन्न सकेको छैन। आँसु र पीडाका दृश्यमा समेत दर्शकलाई पात्रसँग भावनात्मक रूपमा जोड्न कठिन हुन्छ।
अभिनेत्री रिचा शर्माले कथामा वाणीविहीन पात्र ‘गोमा’को भूमिका निर्वाह गरेकी छन्। यस्तो संवेदनशील पात्रलाई पर्दामा उतार्न पात्रको मनोविज्ञान र व्यवहारलाई गहिराइमा बुझ्नुपर्ने हुन्छ। तर कतिपय दृश्यमा उनको अभिनय अस्वाभाविक देखिन्छ, जसका कारण गोमाको पात्रले अपेक्षित प्रभाव पार्न सकेको छैन।
प्रभातपाल ठकुरीका लागि ‘जदौ’ मुख्य भूमिकाको हिसाबले दोस्रो चलचित्र हो। तर उनको अभिनयले भने उनी यस क्षेत्रमा नयाँ हुन् भन्ने महसुस हुन दिँदैन। प्रेमका लागि आफ्नो सर्वस्व त्याग्न तयार इन्द्रको चरित्रलाई उनले अपेक्षाकृत राम्रोसँग प्रस्तुत गरेका छन्।
बमबहादुरको भूमिकामा मुकुन भुसाल भने चलचित्रको बलियो पक्ष बनेका छन्। जातीय विभेदबाट पीडित र मानसिक रूपमा थकित पात्रको पीडा, आक्रोश र विवशतालाई उनले प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। इन्द्रको साथीको भूमिकामा रहेकी अञ्जलीको अभिनय पनि प्रशंसायोग्य छ।
कमजोर निर्देशन
काजी लिम्बु र अञ्ञन शर्माको संयुक्त निर्देशन रहेको ‘जदौ’को विषयवस्तु सम्भावनायुक्त छ। तर निर्देशनमा अपेक्षित परिपक्वता देखिँदैन।
कतिपय दृश्य अनावश्यक रूपमा लम्बिएका छन्। उदाहरणका लागि बाटो किनारमा मुकुन भुसाल र रिचा शर्माबीचको दृश्यलाई आवश्यकताभन्दा बढी तन्काइएको महसुस हुन्छ। चलचित्रमा यस्ता अन्य दृश्य पनि छन्, जसले कथालाई अगाडि बढाउन खासै योगदान गर्दैनन्।
कतिपय अवस्थामा चलचित्र हेर्दा सिनेमाभन्दा टेलिसिरियल हेरिरहेको अनुभूति हुन्छ। दृश्यको प्रस्तुति, संवादको प्रवाह र कथाको गति असमान हुँदा चलचित्रको भाव र मर्म कमजोर बनेको छ।
विषयवस्तु गम्भीर र सामाजिक रूपमा महत्वपूर्ण भए पनि त्यसलाई पर्दामा प्रभावकारी ढंगले प्रस्तुत गर्न निर्देशन चुकेको देखिन्छ। स्पष्ट दृष्टिकोण र कसिलो प्रस्तुति भएको भए यही कथाले अझ प्रभावशाली रूप लिन सक्थ्यो।
समग्रमा
‘जदौ’को कथा सम्भावनायुक्त छ र यसले नेपाली समाजमा अझै कायम रहेको जातीय विभेदको गम्भीर विषय उठाएको छ। चलचित्रमा केही नयाँपन पनि देखिन्छ। तर कमजोर निर्देशन, अनावश्यक रूपमा लम्बिएका दृश्य र कतिपय कलाकारको अस्वाभाविक अभिनयले यसको प्रभाव घटाएको छ।
बलियो विषयवस्तु हुँदाहुँदै पनि त्यसलाई पर्दामा प्रभावकारी रूपमा उतार्न नसक्दा ‘जदौ’ अपेक्षाअनुसारको प्रभाव छाड्नबाट चुकेको छ। उच्च अपेक्षा राखेर सिनेमा हल पुग्ने दर्शक भने निराश हुन सक्ने सम्भावना देखिन्छ।
प्रकाशित: १३ आश्विन २०८३ १७:०८ मंगलबार



-600x400.jpg)

