नयाँ बेहुली रीता दैलो नाघेर भित्र छिरेको केहीबेरमै सासूको नजिक आइन्। अनुहारमा लाज, मनमा उत्साह र बोलीमा अपनत्व मिसिएको थियो।
"मलाई हजुर त आफ्नै आमा जस्तो लाग्छ। म हजुरलाई आमा नै भन्छु, हुन्छ नि सासूआमा?" उनले संकोचमिश्रित हाँसोसहित भनिन्।
सासूले उनलाई ध्यानले हेरिन्। आँखामा माया थियो तर त्यो मायाभित्र कतै एउटा अनुभवको गहिराइ पनि लुकेको थियो। हल्का मुस्कानसहित उनले भनिन्, "रीता, ‘आमा’ र ‘आमा जस्तो’ भन्नुमा निकै फरक हुन्छ।"
रीताले अचम्म मान्दै भनिन्, "किन नि आमा? आमा र सासूमा के फरक छ र? उस्तै त हो नि।"
"उस्तै हुनु र एउटै हुनु फरक कुरा हो," सासूले बिस्तारै भनिन्, "अहिले तिमीलाई उस्तै लाग्ला तर समयसँगै फरक आफैँ बुझ्दै जानेछौं।"
त्यो उत्तरले रीतालाई अलि रोक्यो। "माइतकी आमा जन्म दिने आमा, घरकी आमा कर्म दिने आमा। दुवै बराबर हुन्," उनले आफूले सुनेको कुरा दृढतासाथ दोहोर्याइन्। सासूले टाउको हल्लाइन्।
"होइन, रीता। जुन आमाले तिमीलाई जन्म दिनुभयो, उहाँले नै तिमीलाई कर्म पनि दिनुभएको हो। जन्म मात्र होइन, संस्कार, शिक्षा, जीवन बाँच्ने तरिका यी सबै उहाँकै देन हुन्। मैले त तिमीलाई के कर्म दिएकी छु र?"
"कर्म त हजुरले नै दिनुहुन्छ नि," रीताले बालसुलभ जिद्दी देखाइन्। सासू हल्का मुस्कुराइन्।
"तिमीले सुनेको कुरा आधा सही, आधा गलत हो। बिहे गरेर आएको घरलाई ‘कर्म घर’ भन्न मिल्छ तर त्यसलाई आमासँग जोड्न मिल्दैन। बरु, मैले त तिमीलाई तिम्रो ‘पति’ नै दिएकी छु, मेरो छोरा।"
यो सुनेर रीता हाँसिन्। आफ्नै पतिको नाम कर्म भएको सम्झेर उनको अनुहार झन् उज्यालो भयो।
केही क्षणपछि रीताले फेरि सोधिन्, "मलाई ‘सासू’ भन्न अलि अप्ठ्यारो लाग्छ। ‘सासूआमा’ भनूँ त?"
"नभन," सासूले तुरुन्तै भनिन्, "मलाई ‘सासू आमा’ पनि नभन। सासू मात्रै भन।"
"किन?"
"किनभने ‘सासू’ शब्दमै आमाको अर्थ समेटिएको हुन्छ। जसरी आगोलाई ‘तातो आगो’ र हिउँलाई ‘चिसो हिउँ’ भन्नु पर्दैन, त्यसरी नै सासूलाई ‘सासूआमा’ भन्नु आवश्यक छैन।"
रीता अझै सन्तुष्ट भइनन्।
"तर म त हजुरलाई सासूआमा नै भन्छु।"
सासू केहीबेर मौन बसिन्। त्यसपछि गहिरो स्वरमा भनिन्, "रीता! आमा र सासू कहिल्यै बराबर हुँदैनन्। यी दुई फरक ध्रुव हुन्। तुलना गर्न खोज्दा दुवैको मर्म हराउँछ।"
"मलाई बुझ्न गाह्रो भयो,"रीताले अनुरोध गरिन्, "राम्ररी बुझाइदिनु न।"
सासूले उनको आँखामा हेर्दै सोधिन्, "तिमीलाई दुःख पर्दा, चोट लाग्दा सबैभन्दा पहिला कसलाई सम्झन्छ्यौ?"
"आमालाई," जवाफबिना सोचाइ आयो।
"भगवानलाई होइन?"
"पहिला त आमालाई नै सम्झिन्छु।"
सासूले हल्का मुस्कान दिदै भनिन्, "त्यसैले आमा भगवानभन्दा पनि अगाडि हुन्छिन्। अब भन, कहिल्यै कसैले दुःख पर्दा ‘ऐया सासू!’ भनेर पुकारेको सुनेकी छौ?" रीता हाँसिन्।
"छैन।"
"तिमी यहाँ आएको एक हप्ता भयो," सासूले फेरि सोधिन्, "सपनामा कसलाई देख्यौ?"
यो प्रश्नले रीता अलमलिइन्। उनी सत्य बोल्न चाहन्थिन् तर त्यो सत्यले सासूलाई दुःखी पार्ला कि भन्ने डर पनि थियो।
"भन न, अप्ठ्यारो नमानी," सासूले सहज बनाइन्।
"आमालाई…" रीताले बिस्तारै भनिन्।
"मलाई त देखिनौ नि?" सासूले मुस्कुराउँदै सोधिन्।
रीताले लाजले टाउको झुकाइन्।
सासूको स्वर फेरि गम्भीर भयो तर कठोर थिएन। उनी बिस्तारै बोलिन्, "जुन दिन तिमीलाई चोट लाग्दा मेरो सम्झना आउँछ, जुन दिन सपनामा मलाई देख्न थाल्छौ, त्यो दिन मलाई आमासरह मान्नू। अहिलेलाई ‘सासू’ नै पर्याप्त छ।"
रीताले केही भनिनन् तर उनको मौनतामा सहमति थियो।
दिनहरू बित्दै गए। घरको परिवेश, सम्बन्धका धागा र मनका दुरी पनि क्रमशः बदलिँदै गए।
एकदिन आँगनमा काम गर्दै गर्दा रीता चिप्लिइन्। अचानक उनको मुखबाट निस्कियो,"ऐया आमा!"
प्रकाशित: ७ जेष्ठ २०८३ १०:१७ बिहीबार





