२ कार्तिक २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘कबड्डी ५’ मा बेरोजगारीबाट दिक्क भएका काजीको जीवन

निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ।

निर्माण टिमले ललितपुरको लबिम मलमा कार्यक्रम गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयाँ र काजीको सम्बन्धको नयाँ पाटाहरू र विपिन कार्कीको भूमिकालाई टिजरभन्दा अझ बढी प्रस्ट र मनोरञ्जनात्मक रूपमा देखाइएको छ।

ट्रेलरमा बेरोजगारीबाट दिक्क भएर काजी, बिके र छन्त्यालले मुस्ताङमा शान्ति होटेल खोलेर नयाँ व्यवसाय सुरु गरेको देखाइएको छ।

नयाँ व्यवसाय सुरु गरेपछि कथामा झन् ठुलो ट्विस्ट आउँछ, जहाँ सृजना गुरुङले निभाएको नयाँ मैयाँको पात्रसँग काजीको विवाह भएको देखाइएको छ।

यसका साथै काजीको टोली, र गाउँमा छिरेको विपिन कार्कीको रैथाने गुन्डा समूहबिच हुने टक्कर, एक्सन र कमेडी शैलीका कारण ट्रेलर निकै धमाकादार बनेको छ।

साथै ट्रेलरको अन्त्यतिर काजी र मैयाँ एउटै गाडीमा कतै गइरहेको दृश्यले दर्शकलाई थप कौतुहलता पैदा गर्ने देखिन्छ।

यसअघि सार्वजनिक सिनेमाको टिजरमा पुरानै कथाको निरन्तरतामा काजी र मैयाँको जीवनको नयाँ मोड, बिकेको प्रविधिसँगको रमाइलो सम्बन्ध, र विपिन कार्कीको जबरजस्त कन्ट्रीले दर्शकहरूमाझ निकै उत्सुकता जगाएको थियो।

टिजरमा धेरै दर्शकले मिरुना मगर अर्थात् सिनेमाकी पात्र शान्ति मिसको निकै खोजी गरेका थिए। ट्रेलरमा उनी पनि देखिएकी छन्। यसले सिनेमाको कथा ट्वीस्टमाथि ट्वीस्ट बनेको देखिन्छ।

काजीको पारिवारिक ट्विस्ट, शान्ति मिसको खोजी र विपिन कार्कीको धमाकादार इन्ट्रीका कारण ट्रेलरले सिनेमालाई लिएर दर्शकको उत्सुकता र पर्खाइ झनै बढाउने देखिन्छ।

नेपाली सिने बजारमा इतिहास रच्दै ‘कबड्डी’ का अघिल्ला चारवटै शृङ्खला बक्स अफिसमा सुपरहिट र ब्लकबस्टर साबित भइसकेका छन्।

सोही क्रेजलाई निरन्तरता दिँदै निर्माण गरिएको यस वर्षकै सबैभन्दा प्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ यस वर्ष दसैँको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ।

सिनेमामा कलाकारहरू दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन्। 

प्रकाशित: २७ आश्विन २०८३ १७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App