१) मुक्तक
सहन्छु म जहिले बरु घामले मलाई पोले
खान्छु बरु टिपी सिस्नु बनाई फाँडो खोले
श्रम पसिना भिजाएर बाँझो खेतलाई खन्छु,
दलालहरूको बन्दिनँ म चम्चे अनि झोले।
२) मुक्तक
ईर्ष्या, आरिस गर्दिनँ म, खेदो खन्दिनँ म
तलुवा चाटी माथि उठाउ भन्दै भन्दिनँ म
पाए खान्छु मेहनत गरी नत्र भोकै बस्छु,
भ्रष्ट दलाल तस्करहरूको झोले बन्दिनँ म।
३) मुक्तक
उही नै हो हाम्रो ठाउँको नामुद गुण्डा टोले
पड्काइहाल्छ ऊनीहरूको विरुद्धमा बोले
टपर्टुइयाँ, उल्टा बुद्धि, घमण्डी र दम्भी,
हिजोआज भन्दै हिँड्छ आफैँलाई ऊ झोले।
४) मुक्तक
अनपढ गँवार हिजो आज जान्ने सुन्ने भा'छ
आफैँ मपाई बन्दै अचेल मान्ने गुन्ने भा'छ
झोले भ्रष्ट दलालहरूलाई लगाई अघिपछि,
असल,विद्वान राम्राहरूको मुखै थुन्ने भा'छ।
५) मुक्तक
आफ्नै मनले आफैसँग छुट्टिन्छु पो भन्यो हजुर
आफ्नै हातले आफैँलाई पुर्ने खाल्डो खन्यो हजुर
ढुङ्गाको नि भाग्य यहाँ फरकफरक हुँदो रहेछ,
एउटा गयो आन्दोलनमा अर्को मूर्ति बन्यो हजुर।
६) मुक्तक
गर्नुस् परिश्रम हेर्नुस् कमिला आधार बनाउनुस्
खोप्नुस् ढुङ्गालाई बन्छ शिला आधार बनाउनुस्
नआत्तिनुस् राख्नुस् भरोसा मेहनत पसिनामाथि,
पुग्नुहुन्छ लक्ष्यमा, खुड्किला आधार बनाउनुस्।
७) मुक्तक
छैन गतिलो मियो तर दाइँ चलेकै छ हाम्रातिर
दिएर भोट जिताए उसैलाई चलेकै छ हाम्रातिर
बनेको छ घमण्डी बेवकुफ साँढेझैँ टोले राजा,
उसैको रजगज अनि रजाइँ चलेकै छ हाम्रातिर।
८) मुक्तक
हाम्रो ठाउँको टोले राजा मै हुँ भन्छ हिजोआज
निहुँ खोज्दै तुजुक मात्र देखाइरहन्छ हिजोआज
आफू जस्तै अरूलाई पनि हनुमान झोले देख्छ,
असल सभ्य मान्छेको नै खेदो खन्छ हिजोआज।
९) मुक्तक
कहिले सुक्खा कहिले रुझाउने झरी चलेकै छ
खुसी अनि पीडा अाजकल बराबरी चलेकै छ
जिन्दगीको दियो छिट्टै निभ्छ कि झैँ लाग्छ सधैँ
आँधीहुरी बिचमा जीवन आशाभरि चलेकै छ।
१०) मुक्तक
जवानी र रूपको उगाल देखाएर अति गरी
छोटो छोटो कर्ली कपाल देखाएर अति गरी
लाडिएर, छिल्लिएर लौन मनकी दिलमायाले,
धुर्की लाउँदै नखरा बबाल देखाएर अति गरी।
प्रकाशित: ४ श्रावण २०८३ १३:३२ सोमबार



-600x400.jpg)

