१ मंसिर २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

‘रामायण’ को पहिलो भागको बजेट ८०० करोडभन्दा कम

फिल्म निर्माता तथा निर्देशक रामगोपाल वर्माले नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायण’ को बजेट र बक्स अफिस कमाइबारे प्रश्न उठाउनेहरूलाई जवाफ दिएका छन्।

दुई पटक फिल्म हेरिसकेका वर्माले सामाजिक सञ्जाल एक्समा लामो टिप्पणी लेख्दै ‘रामायण : पार्ट–१’ को वास्तविक बजेट ८०० करोड भारुभन्दा पनि कम रहेको दाबी गरेका छन्।

उनले सन् २०२८ मा प्रदर्शन हुने फिल्मको दोस्रो भागले पहिलो भागको तुलनामा १० गुणा बढी कारोबार गर्ने अनुमानसमेत गरेका छन्। साथै उनले निर्माता नमित मल्होत्राको सोच र योजनाको प्रशंसा गरेका छन्।

फिल्मको बजेटबारे भइरहेका चर्चाका विषयमा वर्माले केही व्यक्तिले फिल्मको एउटा भागको बजेट दुई हजार करोड र दुवै भागको कुल बजेट चार हजार करोड भारु रहेको भ्रम फैलाइरहेको बताएका छन्।

उनका अनुसार आफूले पाएको जानकारीअनुसार पहिलो भागको वास्तविक लागत ८०० करोड भारुभन्दा केही कम छ। यसमा आपसी लाभका सम्झौता, विश्वव्यापी कर छुट र अनुदानसमेत समावेश छन्, जसले अन्तिम खर्च अझ कम बनाउँछ।

वर्माले दुवै भागको लागत समान हुन्छ भन्ने सोच गलत भएको पनि बताएका छन्। उनले फिल्मको इन्टरभलअघि र पछाडिको खर्च समान नहुने उदाहरण दिँदै कतिपय फिल्ममा बजेटको ५० प्रतिशत रकम क्लाइमेक्समै खर्च हुने उल्लेख गरेका छन्।

रामगोपाल वर्माले आफ्नो पोस्टमा फिल्मप्रति दर्शकको आकर्षणबारे पनि चर्चा गरेका छन्। उनले आफ्नी आमाले भवनमा काम गर्ने कर्मचारी र सुरक्षागार्डका लागि नमित मल्होत्राको फिल्म ‘रामायण’ को टिकट किनिदिएको बताएका छन्।

वर्माका अनुसार उनकी आमाले आफ्नै उत्कृष्ट फिल्मका लागि समेत यसरी टिकट किनेर बाँड्ने गरेकी थिइनन्।

उनले फिल्मले बक्स अफिसका सबै रेकर्ड तोड्दै भारतीय सिनेमाको इतिहासकै सबैभन्दा ठूलो हिट बन्ने दिशामा अघि बढिरहेको दाबी गरेका छन्। यति हुँदाहुँदै पनि केही ईर्ष्यालु व्यक्तिहरू फिल्मको कमाइलाई कम देखाउन लागिपरेको उनको भनाइ छ।

रामगोपाल वर्माले निर्माता नमित मल्होत्राको प्रशंसा गर्दै फिल्मको बजेटको ठूलो हिस्सा ‘रामायण’ को भव्य संसार तयार पार्न खर्च गरिएको बताएका छन्। उनका अनुसार फिल्मका लागि तयार पारिएको भिजुअल सेटअप भविष्यमा गेमिङ, अन्य परियोजना तथा फिल्मको दोस्रो भागमा समेत प्रयोग गर्न सकिनेछ।

बलिउडका अधिकांश फिल्म निर्माता र ट्रेड विश्लेषकले यो रणनीति पूर्ण रूपमा बुझ्न नसकेको उनको टिप्पणी छ।

वर्माले फिल्मको हालको बक्स अफिस प्रदर्शन र थिएटरबाहिरबाट हुने आम्दानीका आधारमा नमित मल्होत्राले पहिलो भाग वा सम्भवतः दुवै भागको लागत यही फिल्मबाट उठाउने दाबी गरेका छन्। यसले उनलाई हलिउडका ठूला नामहरूभन्दा पनि अगाडि पुर्‍याउन सक्ने उनको भनाइ छ।

दोस्रो भाग सन् २०२८ मा प्रदर्शन हुने

नमित मल्होत्रालाई ठूलो स्तरका फिल्म निर्माण गर्ने निर्माता भन्दै वर्माले फिल्मका सबैभन्दा भव्य एक्सन दृश्य दोस्रो भागमा देख्न पाइने बताएका छन्। दोस्रो भागमा हनुमानको पराक्रम, वानर सेना, रामसेतु, लङ्का दहन, लङ्कामा सीता, कुम्भकर्ण वध र रावण वधजस्ता ठूला प्रसङ्ग समेटिने उनको भनाइ छ।

तुलना गर्दै उनले ‘केजीएफ–२’ ले ‘केजीएफ–१’ भन्दा पाँच गुणा बढी कमाइ गरेको उदाहरण दिएका छन्। ‘रामायण–२’ ले भने पहिलो भागको तुलनामा १० गुणा बढी कारोबार गर्ने उनको अनुमान छ।

निर्माण पक्षले यसअघि सन् २०२७ मा प्रदर्शन गर्ने योजना बनाएको फिल्मको दोस्रो भाग अब सन् २०२८ मा प्रदर्शन हुने पुष्टि गरिसकेको छ।

प्रकाशित: १ मंसिर २०८३ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App