अब त सम्झना मात्रै बाँकी रह्यो।
कतिपय सम्झनाहरू यस्ता हुन्छन्, जसको सम्झना मात्रै रहन्छ। सम्झनाको अलावा अर्को कुनै अस्तित्व रहन्न। विडम्बना यस्तो छ कि त्यस्ता सम्झनाहरू शरीरका अङ्गझैं अभिन्न रूपमा जोडिएर रहेका हुन्छन्।
धेरै सम्झनाहरूमध्येका अमिट एउटा सम्झना हो– दसैं। बाल्यकालको त्यो दसैं !
जहाँ म जन्मिएँ, जहाँ म हुर्किएँ, त्यहाँको दसैं।
त्यो र त्योजस्तै दसैं बिताएका एउटा त्यस्तो ठाउँ थियो, जसको सुन्दरताको वर्णन यी अक्षरहरूमा गर्न मुस्किल छ।
चारैतर्फ हरियाली डाँडाकाँडा, बिचमा कञ्चन कोसी।
वारि रामेछाप जिल्ला र पारि ओखलढुंगा जिल्ला अर्थात् वारि जनकपपुर अञ्चल र पारि सगरमाथा अञ्चल। यी दुईलाई छुट्ट्याउने कोसी, जसको नाम लिखु– सप्तकोसीमा मिसिने सबैभन्दा कान्छो नदी; त्यही नदीमाथि निर्मित– दुई जिल्ला वा दुई अञ्चललाई जोड्ने फलामे साँघु। त्यही साँघुलाई साक्षी राखेर नामकरण गरिएको ठाउँ– साँघुटार, लिखुको किनारमै अवस्थित !
त्यही साँघुटार ! र, त्यहाँ मनाइएको तीसको दशकको दसैंको सम्झना।
आहा, क्या थियो त्यो दसैं !
असोज महिनाको घमाइलो दिन। बिहानैदेखि झ्याउँकीरीको
र्याइँर्याइँ... एकतमासको आवाज। हामी नजिकै बसेका कुनै झ्याउँकीरीलाई ताक परे लखेट्दै जान्थ्यौं र कदाचित् समातिहाल्यौं भने त्यसको पुच्छरमा धागो बाँधेर फेरि उडाइदिन्थ्यौं। क्या मजाको दृश्य हुन्थ्यो, पुच्छरमा धागो बाँधिएको झ्याउँकिरी हेरेर हामी थप्पडी बजाईबजाई रमाउँथ्यौं। कस्तो रोमाञ्चक थियो त्यो पल! खास गरेर दसैं आयो भनेर चर्चा चल्नासाथ बाल्यकालको त्यो पल पहिले नै स्मृतिपटमा थपक्क बस्न आइहाल्छ।
दसैं आगमनको अर्को सङ्केत हुन्थ्यो -पिङ। बजारबीचमा अवस्थित बूढो पीपलको रूखको चौतारी छेउमा अगिल्लो वर्षका झैं ठुला–मोटा दुई खम्बा खडा गरेपछि थाहा भइहाल्थ्यो– अब यहाँ रोटेपिङ बनाइँदै छ। नभन्दै टीकाको अघिल्लो दिनसम्म काठै काठैद्वारा निर्मित डबलवाला चारसीटे रोटेपिङ त्यहाँ स्थापना भइहाल्थ्यो। अझ त्योभन्दा रमाइलो मलाई त के लाग्थ्यो भने प्रत्येकजसो घरमा कुचोले कमेरो छ्यापिन्थ्यो।
कति कञ्चन देखिन्थ्यो कमेरोको त्यो सेतो रङ ! अझ अलिक हुनेखानेको घरमा काठमाडौँदेखि लगिएको इनामेल र बार्नेस (तार्बिन)को समिश्रणलाई घरका झ्याल–ढोका टल्कने गरेर ब्रसले टलक्क पोतिन्थ्यो। इनामेलको बास्ना यति मनमोहक हुन्थ्यो कि बजारका मान्छे, अझ गाउँबाट आएका मान्छेहरूमा त्यसको भिन्नै खालको आकर्षण रहन्थ्यो। यतिसम्म कि रङ लगाइँदै गरेको घरको वरिपरि जम्मा भएर तिनीहरू दर्शक बनिरहन्थे।
विशेषतः सहनाई बजेको आवाजले दसैंको एकदमै नजिकको आमन्त्रणलाई जनाउँथ्यो। बिहान उठ्दा नउठ्दै पारि गाउँबाट आएका दमाई दाइले फुकेको सहनाईको आवाज साँच्चै भन्ने हो भने रेडियोमा बज्ने मालश्रीको धुनभन्दा सुमधुर लाग्थ्यो मलाई, अत्यन्तै मौलिक !
मलाई आज सम्झँदा, लाग्छ त्यो शहनाईको आवाज सामाजिक समताको प्रेमिल धुन थियो। सहनाई बजाउँदा जातको वर्गीकरण भएको जस्तोदेखिन्थ्यो होला तर मलाई लाग्छ - समाजमा तथाकथित ठूला हैसियत भएकाहरूको मस्तिष्क झनझनाउने गरी असमान विभेदको कुसंस्कारित खाडल पुर्ने त्यतिबेलाको वास्तविक आवाज थियो त्यो।
दसैंको त्यो अवसरमा उनै दमाईजातिका अर्को पनि महत्त्वपूर्ण योगदान रहन्थ्यो। जतिसुकै धनाढय परिवारको होस् या विपन्न परिवारको होस्, नयाँ कपडा सिलाउने सीमित ‘टेलर्स’ त्यही जाति हुन्थ्यो। फरक योचाहिँ हुन्थ्यो कि सिलाइने कपडा सस्ता र महँगा दुई किसिमका हुन्थे।
इम्पोर्टेड प्रकारका पोलिष्टर, टेरिकटनको कपडा सिलाइ माग्ने एउटा वर्ग हुन्थ्यो भने खद्दर वा घरेलु प्रकारका सस्ता कपडा सिलाइमाग्ने अर्को निम्नवर्ग हुन्थ्यो। बाली बुझाउने जस्तै हातेकल लिएर घर–घरमा पुग्ने अथवा घरमै रहेर कपडा सिलाउन उनीहरूलाई भ्याइनभ्याइ हुन्थ्यो दसैंको बेला। अर्को शब्दमा भन्नुपर्दा नयाँ कपडा सिलाउन तँछाडमछाड गर्थे सबैले।
जब दसैंको टीका लगाउने दिनको बिहानी हुन्थ्यो, त्यो बिहानीको सूर्यले सधैंको भन्दा अलग्गै खालको उज्यालो लिएर आउँथ्यो, मलाई यस्तै लाग्थ्यो। सायद अरूलाई पनि त्यस्तै लाग्थ्यो। मलाई याद आउँछ, अघिल्ला दिनहरूमा भन्दा त्यो दिन अलिक छिट्टै उठिन्थ्यो। उठिन्थ्यो के भन्नु, दसैं आउने हर्षोल्लासले शायद राम्रोसँग निदाइन्न नै पो थियो कि !
घाम झुल्किनुसँगै दसैंको नयाँ कपडा लगाएर चिटिक्क परिसकिन्थ्यो। आफैंलाई ऐनामा हेर्दा मानौं आफैंलाई नचिनेझैं पटक–पटक ऐनासँगै सोध्नुपर्ने स्थिति आए जस्तो र दायाँ–बायाँ फर्की फर्की नयाँ कपडा यताउता तानुतुन पारेर र जुल्फी मिलाएर यो प्रतिविम्ब मेरै हो भन्ने जवाफ दिइए जस्तो बडो रोमाञ्चक परिस्थिति हुन्थ्यो। हाम्रो घरमा अझ खुशीको वातावरण हुन्थ्यो। जुन कोठामा दसैंको टीकाको आयोजना गरिन्थ्यो, त्यो हाम्रो मूल घरको बैठककोठा थियो, निकै फराकिलो।
आज पनि त्यो बैठककोठाको दृश्य मेरो मनबाट हटेको छैन। मेरा चित्रकार दाजुद्वारा भित्तामा प्राकृतिक दृश्य पोतिएको आकर्षक कोठा थियो त्यो। त्यही कोठाको माथिल्लो भागमा रवीन्द्रनाथ टैगोर, महात्मा गान्धी, जोन एफ केनेडी लगायतका श्यामश्वेत तस्बिरहरू टाँसिएका थिए।
साइतमै सुरु हुन्थ्यो दसैंको टीका। पुरेतबाजे समयमै आइपुगिसकेका हुन्थे। सर्वप्रथम, घरका मूली हाम्री अजी (हजुरआमा) पूर्व फर्केर आसनमा बस्नुहुन्थ्यो। र पालैपालो बुबा, आमा, सानीमा, दाजुहरू र दिदी पछि मेरो पालो आउँथ्यो। परिवारको सबैभन्दा कान्छो सदस्य हुनुको नाताले मेरो निधारमा स्वभावतः अरूको भन्दा बढी पटक टीका टाँसिने नै भयो तर टीकाभन्दा पनि मेरो ध्याउन्ना भने अर्कैतर्फ हुन्थ्यो, दक्षिणा कति हुने हो? त्यसो त टीकाको कार्यक्रम शुरू हुँदाहुँदै एउटा उर्दी जारी भइसक्थ्यो– छोरामान्छेलाई दक्षिणा दिनुहुँदैन। यो उर्दी हाम्रै घरमा मात्रै थियो कि अन्य घरहरूमा थियो, मलाई थाहा थिएन। तथापि, सानो मान्छे भनेर माया गरेर पाँच–दश पैसा वा सुका–मोहरअवश्यै हात लागेकै हुन्थ्यो।
यसै क्रममा हाम्रो घरको पारिवारिक टीकाको कार्यक्रम सकिँदा नसकिँदै नजिकका नातेदारहरू टीका थाप्न आइपुग्थे। त्यो यसकारण पनि कि हाम्रो सन्तानको सबैभन्दा अग्रज नै मेरी हजुरआमा हुनुहुन्थ्यो।
अनि चल्थ्यो दसैंभोज, घरकोमाथिल्लो तल्लामा। लमतन्न ओछ्याइएको घरेलु लामो चकटीका अग्रज–अनुजको क्रम मिलाउँदै जाँदा मेरो पदानुक्रममा म झन्डै–झन्डै बीचमा पर्थें। आहा, क्या स्वादिलो भोज ! हाम्रो घरमै कहिल्यै नभित्रिने मादक पदार्थलाई स्वभावतः निषेध गरिएको त्यो भव्य दिवाभोज ! आज सम्झना गर्दा कुनै बिर्सिसकेको सपनाजस्तो, फेरि त्यो सपना दोहोरिए हुन्थ्यो भने जस्तो लाग्छ।
भोजको समाप्तिपछि वल्लो घर, पल्लो घर; नजिकका नातेदारहरूकोमा टीका थाप्ने क्रममै प...र कहींबाट एउटा नौलो आवाज आउँथ्यो– टङ्ग्रङ... टङ्ग्रङ... टङ्ग्रङ...। हामीले टाढैबाट त्यो आवाजलाई पहिल्याइसकेका हुन्थ्यौं। त्यो आवाज हुन्थ्यो लङ्गुरबुर्जाको उद्घाटनको सङ्केत। हामी दौडेर झुम्मिन पुग्थ्यौं लङ्गुबुर्जाको खालको वरिपरि।
खेल खेलाउने उनै व्यक्ति हुन्थे– कृष्ण अवाले, जो केवल त्यही दसैं र तिहारको अवसर छोप्थे। प्रायसः हामी केटाकेटीहरू नै बढी सङ्ख्यामा हुन्थौं त्यो खालमा पैसा थाप्ने। खेल्दा कहिले दश पैसाको बिस पैसा, एक सुकाको एक मोहर, मोहरको रुपैयाँ वा कहिलेकाहीं तीन दोब्बरसम्म पनि हुन्थ्यो भने कुनै बेला थापिएको पैसा भुस हुन्थ्यो।
यही खेलबीच हामीलाई रोटेपिङको मजा लिन पुग्नुपर्थ्याे। त्यसो त, म आफू पिङ चढ्दा रमाउनुभन्दा पनि बढी आत्तिन्थेँ, कताकता निसास्सिएको जस्तो भय उत्पन्न हुन्थ्यो। त्यसैले, अरूहरू पिङसँगसँगै घुमेर रमाएकोमा ताली पिटी पिटी आनन्द मान्थेँ।
अरूकै रमाइलोमा नै आनन्द मान्ने त्यो बाल्यमनस्थितिलाई आजको ‘म’सँग तुलना गर्न पुग्छु र सोध्छु आफैंलाई -के त्यो म नै थिएँ त? ओहो, समयले कसरी परिवर्तन गर्दो रहेछ यो मान्छे भन्ने प्राणीलाई? आजको मान्छे आफ्नो खुसीको अलावा अरू केही चाहँदै चाहँदैन। त्यसमाथि कदाचित् अरूको खुसी देख्दा त ईर्ष्या पो गर्छ उल्टो। यस्तोमा म मात्रै कहाँ अछूत रहिरहन सकेको छु र !
सामुन्ने दसैं छ। छुटेको वर्षौं पुराना ती दसैंहरू याद आइरहेछन्।
प्रकाशित: ७ कार्तिक २०८३ ०८:२४ शनिबार





