१ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘मितज्यू’मार्फत दर्शकलाई डबल सरप्राइज दिँदै तेरिया

चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदा दर्शकले एउटा कम्प्लिट प्याकेज महसुस गर्नेछन्। अब सिनेमा कलासँगै व्यापार पनि हो भन्ने निर्विवाद भइसकेको अवस्थामा चलचित्र सामाजिक विषय मात्रै होइन मनोरञ्जनसहितको  कम्प्लिट प्याकेज हुनै पर्छ।

दर्शक र बजारको यही मनोविज्ञान बुझेर निर्माण टिमले समाजको सांस्कृतिक पक्षसँगै मनोरञ्जनको पनि आवश्यकता बुझेर नृत्यमा पारंगत कलाकारलाई पनि समेटेको छ। आफ्नो नृत्य कौशलले पूरै भारत र नेपाललाई मन्त्रमुग्ध बनाएकी तेरिया मगर यो चलचित्रमा छिन्।

त्यसो त तेरिया ‘मितज्यू’ को गीतमा मात्रै देखिने कलाकार होइनन्। कुनै आइटम गीतको नृत्यका लागि यो चलचित्रमा उनी आएकी होइनन्। तेरिया ‘मितज्यू’ को मुख्य भूमिकामध्ये एकमा यो चलचित्रमा देखिँदैछिन्। जुन अहिलेसम्म बाहिरिएका यी चलचित्रका कन्टेन्टले पनि प्रस्ट पारिसकेको छ।

उनी आफैँ सिनेमाको मुख्य पात्र भएपछि उनको नृत्य दर्शकले हेर्न त पाउने नै छन्। सँगै उनको अभिनय क्षमता पनि दर्शकले पहिलोपटक अनुभव गर्न पाउनेछन्। त्यसैले दर्शकका लागि ‘मितज्यू’ विशेष हुनेछ। एउटै चलचित्रमा दर्शकले तेरियाको नृत्य र अभिनय हेर्न पाउनेछन्।

गत वर्ष बक्सअफिसमा हिट सिनेमा (घरज्वाइँ) दिएका निर्देशक अनिल बुढा मगरको चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ।

यो चलचित्रमा तेरियासँगै नेपाली चलचित्र उद्योगकै दिग्गज अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राई पनि छन्, जो आमनेसामने भएको देख्न सकिनेछ।

सौगात, दयाहाङ र तेरियासँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर (खबपु), शिशिर बाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायतको अभिनय छ।

जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन्। शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ। नेपाली ग्रामीण परिवेशको कथा ‘‘मितज्यू’ले भन्ने भएकाले दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क छ। नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथा सिनेमाको मुख्य विषय भएकाले धेरै दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त छ।

प्रकाशित: २५ वैशाख २०८३ १२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App