३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

तातो चिया

लघुकथा

"त्यो कृषिको हाकिमको नाम सुन्नासाथ रगत उम्लिन्छ मेरो!" कृषि अफिसबाट फर्केको भाइसँग जङ्गिदै दाजुले भने।

दाजुले चियाको कप टेबलमा राखे। कपको थर्काइसँगै किनारबाट केही थोपा प्लेटमा पोखिए।

मेरा साथी चुपचाप थिए। म भने पहिलो पटक उनको घर पुगेको पाहुना थिएँ।

"हामीले पेस गरेको फाइल थन्किएर धुलो खाइरहेको छ," उनी झोक्किँदै गए, "के खोजेको हो, बुझ्नै सकिएन। दाम पनि खाँदैन, कसैको कुरा पनि सुन्दैन। नेताको समेत टेर्दैन रे! निकै घमण्डी छ रे। यो त हामी किसानलाई दुःख दिने काम मात्र भयो।"

उनले चियाको अर्को चुस्की लिए र थपे, "कार्यालय पुगेपछि एउटै जवाफ, 'प्रक्रिया पुगेको छैन।'

आखिर कति प्रक्रिया चाहिने हो? यहाँ मान्छेको जुत्ताको तलुवा फाटिसक्यो।

साथी अझै मौन थिए। उनले मोबाइलको स्क्रिनमा औँला चलाए, फेरि नबोली खल्तीमा हालिदिए।

साथी तनावमा देखिन्थे। निधारका नसाहरू फुलेका थिए। साथीले एक पटक मलाई, अर्को पटक दाजुलाई हेरे। ओठ खुले, फेरि बन्द भए।

"यस्ता मान्छेलाई कुर्सी कसले दिन्छ, खै!"

मैले कप बिस्तारै टेबलमा राखेँ। कोठामा एकाएक सन्नाटा छायो।

म उठेर उनी छेउमै गएँ र हात अघि बढाएँ।

"नमस्कार दाजु !" उनी अलमलिएर उठे।

"तपाईंले भनेको कृषिको हाकिम म नै हुँ। तपाईंको भाइ र म एउटै कार्यालयमा काम गर्छौं।"

उनको हात आधा बाटामै रोकियो। आँखा एकाएक फराकिला भए।

"जलजला गाउँको सुन्तला पकेट क्षेत्रको फाइल तपाईंहरूको समूहकै हो, होइन र?"

उनले बिस्तारै टाउको हल्लाए।

"फाइल हेरेको थिएँ। समूहको निर्णय, लाभग्राही विवरण र केही प्रमाणपत्र छुटेका थिए। सूची बनाएर फिर्ता पठाएको पनि थिएँ। ती कागजात थपिएपछि स्वीकृतिको प्रक्रिया आफैं अघि बढ्छ।"

साथीले चियाको खाली कपतिर हेरे। केहीबेर अघि मोबाइलको स्क्रिनमा घुमिरहेको औंला अहिले कपको कान समातेर स्थिर थियो। साथीले झुकेको टाउको अझै उठाएका थिएनन्।

ओठ चले तर शब्द निस्केनन्। मैले फेरि आफ्नो कप उठाएँ। चिया अझै तातै थियो तर केहीबेरअघिको तातोपन कोठाबाट हराइसकेको थियो।

प्रकाशित: ३१ जेष्ठ २०८३ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App