नेपाल स्रष्टा समाजले कथाकार गङ्गा सुवेदीको छैटाैं कथासङ्ग्रह दृष्टिबोध लोकार्पण गरेकाे छ।
राजधानीमा आयोजित कार्यक्रममा प्राडा दयाराम श्रेष्ठ, श्रीओम श्रेष्ठ रोदन, प्राडा लक्ष्मणप्रसाद गौतम, प्राडा भरतकुमार भट्टराई, पवन आलोक र कथाकार सुवेदीले उक्त कथासङ्ग्रह लोकार्पण गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथि प्राडा श्रेष्ठले सुवेदी सामाजिक यथार्थवादी कथाकार भएको बताए। उनले अगाडि भने, 'प्राविधिक रूपले पनि सुवेदीका कथाहरू बलिष्ठ छन्। उनका कथाका कथावस्तु र घट्नाको बीचमा हुने क्रमागत सिलसिला राम्रोसँग मिलाएर बुनोट भएका छन्।'
अर्का वक्ता प्राडा गौतमले सुवेदीको व्यक्तित्व संस्था जतिकै माथि उठेको भन्दै नारी भोगाइ र अनुभूति भोक्ता स्रष्टा भएर अनुभूतिको गहिराइमा पुगेर लेख्न सक्ने कथाकारको रूपमा उनको चर्चा गरे।
कृतिमाथि चर्चा गर्दै प्राडा भट्टराईले कलाकार र कथाकारको उचित संयोजन कथामा देखिएको बताए। कृतिमा २४ कथा रहेको भन्दै उनले प्रायः कथाहरू नारीवादी दृष्टिचेतले लेखिएको बताए। नारीको भित्री ह्रदयहरू केलाएर कथा बनेको छ। पितृसत्तात्मक समाजबाट नारीमाथि हुने गरेका प्रताडनाहरू कथाका विषय बनेका छन्। कतिपय कथा प्रतिकात्मक रहेको पनि प्राडा भट्टराईले बताए। साना कुरा तर गहन र गम्भीर बनाएर कथानकता बुन्न सक्नु कथाकारको विशेषता भएको उनले बताए।
अग्रज साहित्यकार पवन आलोक तथा समाजका कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले शुभकामना मन्तव्य राखे।
कथाकार सुवेदीले आफूले लेख्ने सबै कथा यथार्थको धरातलमा उभिएर लेखेको बताइन। उनले भनिन्, 'कथाको पात्रमा पसेर लेख्छु, पात्रको ठाउँमा रहेर लेख्छु। नेपालको पूर्वीभागदेखि पश्चिम हुँदै सिंगापुर, मलेशिया जाँदासम्मका अनुभवलाई कथाको रुप दिएको छु।'
कार्यक्रमका समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको थियो। महासचिव मधु पाठकले सञ्चालन गरेको कार्यक्रममा सचिव प्रदीप सापकोटाले स्वागत मन्तव्य राखे।
प्रकाशित: २ आश्विन २०८३ ११:५४ शुक्रबार

