५ असार २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

खेल

लघुकथा

टेबलको वारिपारि दुई वृद्ध मौन घम्साघम्सी गरिरहेका देखेर रमेशले भनेँ, ‘यहाँ के भइरहेको छ?’

कालो र सेतो कोठाहरूको मौनतामा डुबेका ती दुवै वृद्धबाट रमेशको  कुरामा कुनै प्रतिक्रिया आएन।

‘तपाईंको चाल!’ सेतो सिपाही अघि बढाउँदै श्यामले भने। उसको आँखामा एउटा गहिरो रहस्य लुकेको छर्लङ्ग देखिन्थ्यो।

‘हतार नगर, मित्र। अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सिन्छ।’ हरिप्रसादले मन्द मुस्कानका साथ कालो घोडालाई 'एल' आकारमा घुमाउँदै जवाफ दिए।

‘यो चेसको खेल मात्र  होइन, हरि। यो त प्रतिशोधको बिन्दु हो’  श्यामले आफ्नो हात्तीलाई सिधा रेखामा कुदाउँदै थपे, “हात्तीको यो चाल काठको गोटी मात्र होइन, यो त विगतमा गुमेको साम्राज्य र भत्किएको विश्वासको एउटा बिम्ब  पनि हो।’ उनी कट्किए।  

हरिप्रसादले गम्भीर हुँदै राजालाई एउटा सुरक्षित स्थानमा सारे जोसिलो हुँदै भने, ‘तिमी जहिले पनि गोटीमा मान्छे र खेलमा जीवन देख्छौ तर छिनमै बिर्सन्छौ, चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा तान्छ। तिम्रो यो आगो ओकल्ने आँखाले मलाई होइन, तिम्रो आफ्नै अहङ्कारलाई जलाउँदै छ।’

श्यामले पुलुक्क झ्यालबाट बाहिर हेर्दै बिस्तारै आफ्नो मन्त्रीलाई हरिको राजाको सामुन्ने राखिदियो।

‘चेक!’ श्यामको आवाजमा एउटा क्रूर विजयको आभास थियो। " अब तिम्रो राजासँग न त लुक्ने ठाउँ छ न त बचाउने सिपाही। ठिक बिस वर्षअघि आजकै रात तिमीले मेरो बुबाको सम्पत्ति यसरी नै लुटेका थियौ, हैन?’

हरिको अनुहारको रङ्ग उड्यो। उनले काँप्दो हातले चेसको बोर्डलाई हेरे। यहाँ हार निश्चित देखेपछि उनले लामो सास फेरे र आफ्नो राजालाई बोर्डमा ढाल्दै भने, ‘खेल सकियो, श्याम।’

चेसको बोर्डलाई  डब्बामा खसाल्दै श्यामले भने, "खेल त भर्खर सुरु भयो हरि। तिम्रो घाँटीमा जुन चिसोपन महसुस हुँदैछ नि, त्यो तिम्रो चियामा भएको विष हो।’

रमेश चेस बोर्ड ,श्याम र  हरिको अनुहारलाई पालैपालो हेर्दै मुसुक्क हाँसे र भने, ‘त्यो विषालु चियाको प्याला भान्साबाट यहाँसम्म ल्याउने सिपाही म नै थिएँ , श्याम काका!’

प्रकाशित: ५ असार २०८३ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App