१६ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

सोनम वाङ्चुकलाई अस्पताल सारिएको घटनाप्रति असन्तुष्ट सोनाक्षी सिन्हा

 बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले इन्जिनियर तथा वातावरणविद् सोनम वाङ्चुक प्रति आफ्नो समर्थन पुनः दोहोर्याएकी छन्। जन्तर मन्तरमा जारी आन्दोलनबाट उनलाई उनको मन्जुरीबिना अस्पताल लगिएको घटनापछि सोनाक्षीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

इन्स्टाग्राममा सार्वजनिक गरिएको भिडियोमा उनले वाङ्चुक सुरक्षित रहेको र उनकी श्रीमती पनि सँगै रहेकोमा खुसी व्यक्त गर्दै उनलाई आन्दोलनस्थलबाट लगिएको तरिकाप्रति असन्तुष्टि जनाइन्। उनले वाङ्चुक र उनका समर्थकहरूले लामो समयदेखि शान्तिपूर्ण, संयमित र सम्मानजनक रूपमा आफ्ना माग प्रस्तुत गर्दै आएको भन्दै उनीहरूको प्रशंसा गरिन्।

सोनाक्षीले जुलाई २० मा प्रस्तावित संसद् मार्चमा सहभागी हुने समर्थकहरूलाई पनि शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउन आग्रह गरिन्। उनका अनुसार हरेक नागरिकलाई आफ्ना विचार राख्ने, प्रश्न गर्ने र लोकतान्त्रिक ढङ्गले आवाज उठाउने अधिकार छ। हिंसा वा घृणाभन्दा शान्ति, एकता र सम्मानका साथ अघि बढ्दा आन्दोलन अझ प्रभावकारी बन्ने उनको भनाइ थियो।

यसअघि पनि सोनाक्षीले भिडियो सन्देशमार्फत सोनम वाङ्चुकको समर्थन गर्दै सम्बन्धित पक्षसँग संवाद सुरु गर्न आग्रह गरेकी थिइन्। उनले विशेषगरी युवाहरू र विद्यार्थीहरूको भविष्यसँग जोडिएका विषयमा सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएकी थिइन्।

सोनाक्षीबाहेक अभिनेता शत्रुघ्न सिन्हा, ऋतिक रोशन, शबाना आजमी, सोनी राजदान, इमरान खान, अभय देओल, स्वरा भास्कर, फातिमा सना शेख, नसीरुद्दीन शाह र रत्ना पाठक शाह लगायतका चलचित्रकर्मीहरूले पनि सोनम वाङ्चुकप्रति सार्वजनिक रूपमा समर्थन जनाएका छन्।

प्रकाशित: ३ श्रावण २०८३ १६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App