१) मुक्तक
सानो काम गर्नुपर्याे भने पनि मरेँमरेँ भन्छन्
जहिल्यै, लौन हौ साथी, साह्रै अप्ठेरोमा परेँ भन्छन्
हुतिहारा खाइमाराको बठ्याइँ भनी साध्य छैन
अर्कालाई कजाएर, कामचाहिँ मैले गरेँ भन्छन्।
२) मुक्तक
काम जति सबै आफैँ गर्नु परे, मान्छे कति रोला
काम देखेरै बगाउँछन्, भेलैसरी आँसुको खोला
राजाले काजीलाई, काजीले पाजीलाई देखेकै हो
पाजीले, काजीलाई कजाउन थालेपछि के होला?
३) मुक्तक
यहाँसम्म आइपुगेको पनि तिमीले गर्दा हो
फतक्क मन गलेको पनि तिम्रै आँसु झर्दा हो
पत्थर जस्तो कठोर यो मन कहिल्यै गल्थेन
गल्यौ आज नसोच तिमीले यो रिलको पर्दा हो।
४) मुक्तक
भाका दिएर पनि भाका सार्न जानेको छैन मैले
कहिल्यै पनि तलमाथि पार्न जानेको छैन मैले
मेरो धन सम्पत्ति जे भने पनि इमानदारी हो
स्वाभिमानमा अडिक छु, हार्न जानेको छैन मैले।
५) मुक्तक
जहिल्यै पैसाले भकारी भर्छु म जति धनी को होला र
सालकै पातसरी पैसा छर्छु म जति धनी को होला र
जसलाई पनि पैसाको बिटाले हानी दिन मन लाग्छ
जहिल्यै मासुभात खाने गर्छु म जति धनी को होला र?
६) मुक्तक
तीनतले घर बनाएर एउटा कोठा दिन सक्दैन
कहिले पनि जेठोबाठोको जिम्मेवारी लिन सक्दैन
चेपारो पारेर दाँत देखाउँछ जहिल्यै साक्खै बनेर
त्यस्ता दाइ हुन् जसले भाइलाई भाइ सम्झिन सक्दैन?
७) मुक्तक
जहाँ जसले जे गरे पनि यहाँ ताजा ताजै देखिन्छ
कथाकहानी मात्रै कहाँ गरेको कामकाजै देखिन्छ
पाप धुरीबाट कुर्लन्छ, जति लुकाउन खोजे पनि
अर्को जुनी कुर्नै पर्दैन कलीमा, हिजाेआजै देखिन्छ।
८) मुक्तक
यो देश मेरो पनि होइन र, भन्नुहुन्छ तपाइँहरू
कहिले सुन्छन् र, सत्तामा बसी भत्ता खाने चपाइँहरू
सोझासाझा जनतालाई, जुन जोगी आए पनि कानै चिरेका
कुवेभ्यागुता फुलेझैं, फुलेर बस्छन् कोही मपाइँहरू।
९) मुक्तक
सहेर भए पनि तलै परिरहनुपर्छ
दिनदिनै नाराजुलुस गरिरहनुपर्छ
बुद्धिमानीले जहिल्यै बुद्धि पुर्याउनुहोला
हुकुम नमाने तपाइँ मरिरहनुपर्छ।
१०) मुक्तक
पुर्खाको जग्गाजमीन मेरो मान्दैनन् मेरा दाजुभाइ
हक लाग्छ भन्छ सर्जमीन मान्दैनन् मेरा दाजुभाइ
श्रीसम्पत्ति सबैको उत्तराधिकारी उनै मात्र हुन् रे
नाप जाँच गर्छ अमीन मान्दैनन् मेरा दाजुभाइ।
प्रकाशित: १७ आश्विन २०८३ १३:१७ शनिबार




-600x400.jpg)
