२० मंसिर २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

गाउन सकून् अक्सिजनका गीत

कविता

१) महामारी र फोक्सोको कथा

 

मेरो सिङ्गो अस्तित्व भन्नू म उभिएको जमिन रहेछ

मेरो पूरै अस्तित्व भन्नु

मुटु, कलेजो, किड्नी र फोक्सो रहेछ

खासमा मान्छेको शरीरको संरचना पनि देश नै रहेछ

एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रजस्तै।

तर पछिल्लो समय

मेरो फोक्सोमा दसगजा भत्काउँदै भित्र पसेको भाइरस

त्यसपछि भेन्टिलेटरमा निरीह अल्झिरहेको सिकिस्त बिरामीजस्तै

मेरो फोक्सो कमजोर छ

कालापानी, लिम्पियाधुरा अतिक्रमण गर्दैभित्र पसेको

यी भाइरल आप्रवासीजस्त

आईसीयुमा थुनिएर बसेको छ मेरो फोक्सो।

जहाँबाट-

मेरा ईन्द्रीयहरू मुस्किलले झ्यालबाहिरको दृश्य नियालिरिहेछन्

ओह,

नदीले बाटो बदले जस्तो तुफानी हावा चलेजस्तो

सायद हजारौं वर्षपछि यो पहाडमा अडिरहेको ठुलो ढुङ्गा लडेजस्तो

उत्पत्तिकालदेखि नै मान्छेले दोहोन गरेपछि

छियाछिया परेको यो पृथ्वीको अनुहारजस्तो

कोरोनाको विरोधमा मेरो देशको सरकारले

ओभर डोज लगाउँदै मर्दै गरेका निरीह नागरिक जस्तो

अथवा,

अस्पतालको बेडबाट बाँच्ने अभिलाषामा भित्ताहरू नियालिरहेको

मेरो मुटुको ढुकढुकी जस्तो

पृथ्वी हुन त मैले पनि तिमीलाई दुखाएकै हो

कति कुरूप बनाएका छन्

मेरा आविष्कारहरूले तिम्रो सौन्दर्य

यी विज्ञानका दुषित रागहरू जस्तो

कुनै चित्रकारले घृणाले बनाएको आतंककारी चित्रजस्तो

मलाई थाहा छ मेरो नियतिको कथा

होइन मैले मात्र होइन सम्पूर्ण मानव जातीलाई थाहा हुन जरूरी छ

रोकथामका धारिलो इन्जेक्सनहरूले केवल भ्रम छर्छ

जसरी विकासको नाममा संसार विनाशतर्फ अगाडि बढिरहेछ

र,

मानिसबाट प्रेम, सद्भाव र सहिष्णुता सकिँदै गएको छ।

सुन, समग्र पृथ्वीबासी मानवहरू

दुखान्त कथाको अन्तिम हरफ जस्तो

के अब हामी सकिनलागेकै हौं?

आऊ -

यो पृथ्वी सबैको साझा बासस्थान हो हामी सबै मिलेर बसौं

अनि त कसो नहोला फोक्सो राष्ट्रको सार्वभौमसत्ता।

२) संरक्षणका हातहरू

 

म हुँ बनजंगल

फँडानीमा परे म त

डढेलोले मरे म त

फैलाउनु सम्वर्द्धनका बातहरू

बढाउनु संरक्षणका हातहरू

म हुँ बनजंगल

लोप हुन थालेँ म त  

बाँचे हरियाली छर्थेँ

पैरोबाट जोगाइराख्थें

नङ्गयाउन छोडेर अब बढाउन सुरू गर

वृक्षारोपणका निम्ति हातहरू

म हुँ बनजंगल

अतिक्रमणमा परे म त  

बाँचे शीतल छहारी दिन्थें

वर्षा गराई मूल फुटाई बाली सिंचाई गरिदिन्थेँ

विनाश गर्न छोड अब

बढाउ पर्यावरण बातहरू

बढाउ संरक्षणका हातहरू।

३) गाउन सकून् अक्सिजनका गीत

मेरा पैतालाहरू

बत्तिसपुतलीबाट नयाँबानेश्वरतिर लम्कदै गर्दा

साँगुरो सडक पेटीमा वृक्षरोपण गरिएका विरूवा

घरीघरी मेरो गोडालाई स्पर्स गर्दै थिए।

भुइँमा लत्रिन लागेका तीनका हाँगालाई देख्दा

दुखमा परेर सहारा माग्दै

मेरो खुट्टा ढोक्न खोजेको मान्छे जस्तै लाग्यो।  

तीनका झुर्मुराएका पातहरूमाथि मेरा नजर पर्दा

ध्वाँसे फुस्रे बनेर तिर्खाएका सडक बालकहरू जस्तै लाग्यो

मन्दिर अगाडि माग्न बसेका भोका पेटहरू जस्तै लाग्यो

खुट्टा भाँच्चिएर उभिन प्रयासरत

अस्पतालका बिरामीहरू जस्तै लाग्यो।

हिंडिरहँदा तीनको याचनाको ध्वनि

मेरा कानमा गुन्जिन छोडेनन्  

र मलाई एकएक घैलाको पानीले

सिञ्चन गराइदिऊँ जस्तो लाग्यो

एकएक बोरा मलको भोजन खुवाइदिऊ जस्तो लाग्यो

एकएक थाङ्ग्राको आडले ठड्याइदिऊँ जस्तो लाग्यो

तकि तिनीहरू जिउन सकून्

हरित मानव भएर गाउन सकून् अक्सिजनका गीतहरू!

४) मैले भन्या छु 

मैले भन्या छु  

तिमी विमानस्थल निर्माण गर कि भ्यूटावर ठडाउ

साल, सिसौ अक्सिजन दिने यी रूखहरू काट्दै नकाट्नु

रूखहरूको बलि नदिनु

धनाढ्य पुँजीवादी बनेर पर्यावरणलाई अर्थतन्त्रसँग साटदै नसाट्नु

पुँजीवादी बनेर पर्यावरणलाई चाउचाउका प्याकेटभित्र बन्द नगर्नु

तिमी ऊर्जा उत्पादन गर जलाएर कोइला कि तेल

वायुमण्डलमा प्रदूषणको जालो फैलाउदै नफैलाउनु  

लेकका फाटमा यार्सागुम्बा खोज कि जडीबुटी

सन्तुलित पारिस्थितिक प्रणाली गुम्ने गरी मह काटेर हात नचाट्नु 

तिम्रो सुविधामा पहुँच पुगोस् कि नपुगोस् 

असामान्य रूपमा खाएर र लाएर हाँस्दै नहाँस्नु

चिल्ला सडक निर्माण गर कि शहर बसाउ

तर विचरा वन्यजन्तुका बासस्थानलाई नमास्नु  

तिम्रो तनको कामुकता वृद्धि गर कि ऊत्तेजना

अवयवका लागि बाघ भालु गैंडा मार्दै नमार्नु  

शिशिर मासमा कटुस खाऊ कि एैंसेलु  

तर डाली लाछिने गरी फलफूल झार्दै नझार्नु

तिमी सिंचाईका बाँध बाध कि तटबन्धन

स्वच्छन्द नदीलाई धमिलो पार्दै नपार्नु  

पेट भर्न सिभेट खाऊ कि पेंगुलिन

सार्स र कोरोनाका भाइरस सार्दै नसार्नु  

मैले भनेको सुन्दैनौ भने  

अनियन्त्रित चरम विकासले अवश्य

कुनै दिन निम्त्याउने छ विनाशको नरसंहार

र तिमी भाग्नुपर्नेछ यो पृथ्वी त्यागेर अर्कै ग्रहमा।

५) रम्घा गाउँको वातावरण

भानु तिम्रा रम्घा गाम, शहर बजार बनी सक्या

पक्की बाटो ल्याउनलाई, पाखापखेरा खनी सक्या

सुन्दर पहाडको छाती चिरी, मोटर गाडी गूड्न थाल्या

बुँकी पैयुँ फुल्ने भेकमा, धुवाँधुलो उडन थाल्या।

भानु तिम्रा रम्घा गाम, झलल्ल बिजुली आईसक्या

विकासले ल्याउँछ विकृति, डर मलाई लाई सक्या

टेलिभिजन र टेलिफोन, इन्टरनेट सबै आई सक्या

कैल्लै नसड्ने प्लास्टिक फोहर, घरआँगन छाई सक्या।

भानु तिम्रा रम्घा गाम, घरघर पानीका धारा आया

मौसम परिवर्तनको असर अब, कहिल्लै नफर्कने भया

मुसलधारे पानी पर्ने, कैले सुक्खा याम हुने

सहनै नसक्ने गर्मी कैले, कैले जाडो मुटु छुने।

भानु तिम्रा रम्घा गाम, दोकान पसल खुली सक्या

जन्तुजनावर मारेपछि, पाप लाग्ला भुली सक्या

रासायनिक मलको चलनले, जैविक मल छर्न छोड्या

बारीका किराफट्याङ्ग्रा , खेतका गड्यौंला मर्न लाग्या।

भानु तिम्रा रम्घा गाम, पुतली मौरी उडी सक्या

यार्सा गुम्बा जडिबुटी, चोरी सिकारीले गोडी सक्या

पानी भर्ने पँधेरी र, घाँसीको कुवा सुकी सक्या

बासस्थानको विनाशले, बाघ भालु लुकी सक्या।

भानु तिम्रा रम्घा गाम, पाटाका डल्ला फोडी सक्या

कुहुकुहु कोइली गीत, म त सुन्न छोडी सक्या

हिमशिखरका हिउँ पनि, कति छिटो पग्ली सक्या

डाफेँ मुनाल नाच्दै गर्या, देख्न हाम्ले छोडी सक्या।

भानु तिम्रा रम्घा गाम, जनसङ्गख्या बाक्लो बसी सक्या

मानिसको अतिक्रमणले, गुनकेशरी मासी सक्या

दुई शताब्दी युग बित्या, भानु त्यँहा जन्मेपछि

जलवायु परिवर्तन भया, तिम्ले रम्घा छोडेपछि।

वातावरणलाई मास्ने काम, भा छन् कस्तोकस्तो

हामी मानव बुद्धिमानी भईकन, आज किन यस्तो

जैविक विविधता सप्पै मासेर, मान्छे बाँच्ने कसरी?

धिक्कार हो हामीकन बस्नु, बातावरणको लागि क्यै नगरी।

( कवि पर्या संरक्षण अभियन्ता हुन्। उनकाे मलाई आर्यघाट लगेर नजलाउनु कृतिबाट)

प्रकाशित: २० मंसिर २०८२ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App