२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

कोलाहलबिच मौन आत्ममन्थन

पुस्तक

कथा पढेरै रोमाञ्चित भएको मेरो अनुभव यो पहिलो होइन। कथाका किताबहरू पढ्दा म पटक–पटक रोमाञ्चित भएको छु। तरंगित भएको छु तर धेरै भएको थियो मनपसन्द कथा पढ्न नपाएको। अहिले जब कथाकार विवेक ओझाको नयाँ कथासंग्रह ‘मौन कोलाहल’ हातमा पर्‍यो र यसका पाना पल्टाउँदै गएँ, तब मेरो भित्री चेतना अर्कै किसिमले खलबलियो, बिथोलियो। एउटा सन्तोष मिल्यो– नेपाली कथा शक्तिशाली बन्दै गएको भन्ने सन्तोष र आनन्द।  

‘मौन कोलाहल’ नाम आफैंमा अनौठो र विरोधाभाषपूर्ण छ। सुन्दा सामान्य लागे पनि दुई शब्दको यो जुगलबन्दीमा जीवनको ठुलो अर्थ र गहिरो प्रभाव लुकेको छ। कोलाहल नै मौन हो कि मौनताभित्र पनि कुनै ठुलो कोलाहल लुकेको हुन्छ ? यही प्रश्नको उत्तर खोज्दै जब कथाभित्र प्रवेश गरेँ, तब थाहा भयो– पुस्तकको शीर्षक जत्तिकै यसको भाव, कथा र प्रस्तुतिले मनको कति गहिराइसम्म छोएर जान सक्दो रहेछ। हरेक मानिस आफ्नो जीवनको नायक हो। र ऊ हरकिसिमले सन्तुष्ट बाँच्न चाहन्छ। नसके सानसँग मर्छ तर झुक्दैन। हारेर पलायन भएर किन बाँच्ने ? विवेकका अधिकांश पात्र जीवन जिउन अनेक गर्न सक्छन् तर आफू झुक्न तयार छैनन्।  

नेपाली साहित्यमा आफ्ना चर्चित तथा पाठकमाझ अत्यधिक लोकप्रिय उपन्यासहरू ‘ऐलानी’ र मदन पुरस्कार विजेता उपन्यास ‘ऐँठन’मार्फत विशिष्ट पहिचान बनाइसकेका लेखक विवेक ओझाको यो पहिलो कथासंग्रह हो। सांग्रिला बुक्सद्वारा प्रकाशित यस कृतिका कथाकार विवेकले उपन्यासको सफल यात्रापछि कथा विधामा पनि आफ्नो सशक्त उपस्थिति जनाएका छन्। यस संग्रहमा मान्छे, समाज, मनोविज्ञान र जीवनका विविध पाटालाई समेट्ने ९ वटा सशक्त कथाहरू संग्रहित छन्।

विवेक ओझाको लेखनको सबैभन्दा ठुलो सबल पक्ष भनेको यसको सरल, प्रवाही र कलात्मक भाषा हो। पानीझैं सलल बगेको उनको लेखनीले पाठकलाई अन्तिम पानासम्म बाँधेर राख्न सफल हुन्छ। कथाहरू सुन्दर छन् तर सँगसँगै रहस्यमय, रोमाञ्चक र खुल्दुलीले भरिएका छन्।

एउटा वाक्य सकिएर अर्को वाक्य सुरु नहुँदै पाठकको मनमा जुन किसिमको छटपटी र कौतूहल बढ्छ, त्यो नै विवेकको लेखनको खास शक्ति र सफलता हो। कतिपय कथा हाम्रै समाजका यथार्थपरक धरातलमा टेकेका छन् भने कतिपय कथा कल्पनाशीलताका उचाइमा उडेका छन्। स्वादिला र सजिला शब्दहरूले सुसज्जित यी कथाहरूले पाठकको हृदयलाई शान्त मात्र पार्दैनन्, कतिपय सन्दर्भमा त हैरानै नै बनाइदिन्छन्।  

संग्रहभित्रको ‘आत्महत्याको केन्द्र’ त्यस्तै एउटा शक्तिशाली कथा हो। यसले हरिकोही पाठकको मनलाई गहिरो छटपटीको भुमरीमा पारिदिन्छ। मानिस जीवनका अनेकौं जटिल मोडमा पुग्दा किन यस्ता अन्तिम निर्णयहरू लिन विवश हुन्छ वा समाजले ऊमाथि कस्तो मनोवैज्ञानिक दबाब सिर्जना गर्छ भन्ने कुरालाई यस कथाले अत्यन्त मर्मस्पर्शी ढंगले उठाएको छ।

दिमागलाई हलचल गराइदिने यस्तै अनौठा र मिठा कथा छन् किताबभरि तर यो मिठास चिनीको जस्तो मात्र होइन। यो त त्यस्तो मिठास हो, जस्तो कि, भर्खरै कसैले प्रेमपूर्वक गाला चिमोटेर गएको छ- दुखेको त छ तर स्पर्श गर्नेको मायाले मिठो अनुभूति पनि गराएको छ। मौन कोलाहल भित्रका कथाहरू पढिरहँदा धेरै स्थानमा पाठकले यही विरोधाभाषपूर्ण तर मिठो पीडाको अनुभूति गर्न पाउँछन्।

कतिपय कथाले हाम्रो समाजको घिनलाग्दो, डरलाग्दो र पाखे मानसिकतालाई निर्मम ढंगले उजागर गरेका छन्। ‘मौन कोलाहल’मा विवेकले समाजभित्र लुकेका कुरूप संवेदना र नग्न यथार्थलाई शब्दमा उतारेका छन्।

अधिकांश कथाले मानवीय अस्तित्व, सामाजिक ढोँग, नैतिक द्वन्द्व र चेतनाको अन्धकार पक्षलाई दार्शनिक शैलीमा प्रस्तुत गरेका छन्। सबैभन्दा रमाइलो र गम्भीर पक्ष के हो भने पुस्तक पढेर सकिसकेपछि पनि पाठकलाई गम्भीर आत्ममन्थनतर्फ यसले डोर्‍याइरहन्छ। हतेव्यूह कथाले पाठकलाई सुरुबाटै हायलकायल पार्छ। यसमा बदलाको जुन किसिमको गजबको प्रस्तुति गरिएको छ, त्यसले मौनताले पनि मानिसलाई कतिसम्म क्रूर र हत्याको अवस्थासम्म पुर्‍याउन सक्दो रहेछ भन्ने कुराको उजागर गर्छ। मौनताभित्रको शक्ति र आगो कति भयानक हुन्छ भन्ने प्रमाण हो यो कथा।

महिला मुर्दासँग सम्भोगको लतीको अर्को कथा छ मुर्दाघर। यो कथा एम्बुलेन्स चालकको जीवन र मानसिकता वरिपरि घुम्छ। कथा पढ्दै जाँदा मलाई एक किसिमको दिगमिग र असहजता नलागेको होइन तर लेखकको कलात्मक भाषाशैली यति गज्जबको छ कि यस्तो संवेदनशील र जोखिमपूर्ण विषयलाई पनि पानीझैं सलल बग्नेगरी प्रस्तुत गरिएको छ, जसले पाठकको संवेदनशीलतालाई गहिरोसँग झक्झकाउँछ। यो कथामा अजीवको पात्र छ। यो कथा पढ्दा विदेशी कथा पढेको आभास हुन्छ। साच्चै मुर्दाघर अन्तराष्टिय स्तरको कथा हो।  

अम्मल, क्यानभासभित्र र पिरिम, यी तीन कथाले लेखकको कल्पनाको भव्य उडानलाई स्पष्ट देखाउँछन्। मानिसका लुकेका आशक्ति, कलाप्रतिको मोह र प्रेमका विविध आयामलाई यी कथाले जीवन्त रूपमा पक्रिएका छन्।

‘रुखको छाया र प्रेमको जरा’ कथामा यति ठुलो र मिठो कथानक पाइन्छ कि पढ्दै जाँदा लाग्छ– विवेकले यसै विषयमाथि एउटा पूर्ण उपन्यास नै लेखेको भए पनि हुन्थ्यो। यस कथाको घनत्वले पाठकलाई उपन्यासकै जस्तो तृप्ति प्रदान गर्छ।

मृत्युको आँखा र डिडिमम्मा उस्तै सशक्त कथा हुन्। यी दुवै कथा संग्रहभित्रका विशिष्ट र वैचारिक रूपले परिपक्व रचनाहरू हुन्। जीवन, मृत्यु र मानिसका अचेतन मनका तहहरूलाई यी कथाहरूले सूक्ष्म ढंगले चिरफार गरेका छन्।

प्रकाशित: २३ श्रावण २०८३ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App