७ कार्तिक २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

शिवशंकर थापा मगरलाई विशिष्ट प्रतिभा सम्मान, चन्द्र रानाहँछालाई प्रतिभा पुरस्कार

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका वरिष्ठ गीतकार शिवशंकर थापा मगरलाई दिने भएको छ। यसैगरी खोटाङका कवि तथा कलाकार चन्द्र रानाहँछालाई प्रतिभा पुरस्कार दिने घोषणा गरेको छ।

प्रतिष्ठानले बेलायतमा शनिबार विज्ञप्ति प्रकाशित गरी नगद राशि १ लाख रुपैया, ताम्रपत्र र दोसल्ला सहितको विशिष्ट प्रतिभा सम्मान थापा मगरलाई  र नगद राशि १ लाख रुपैयाँ र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार रानाहँछालाई प्रदान गर्ने घोषणा गरेको विज्ञप्तिमा जनाएको छ।

प्रतिष्ठानका अनुसार २००३ साल बैशाख १५ गते चुलीवन, डाँडागाउँ, धनकुटामा जन्मेका शिवशंकर थापा मगर युवा अवस्थादेखि गीत लेखनमा सक्रिय छन्। २०२० सालबाट गीत लेख्न सुरु गरेका थापाले २०२६ मा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी गीत रेकर्ड गराएका थापाको गीतहरू २०२८ सालदेखि रेडियो नेपालमा बज्न थालेको थियो। थापाले एक सय जति गीत लेखेका छन्। उनको हालसम्म रेकर्ड भएका गीतहरू सबै चर्चित र कालजयी छन्। थापाको केही चर्चित गीतमा तिमी आकाशको जून भयौ, संगीत/स्वरः दीप श्रेष्ठ। भन्थिन् मेरी उनी मेरो पाइला नटेकिदिनू, संगीत/स्वरः दीप श्रेष्ठ। हावासँग बगु भन्छ पातसँग बोलु भन्छ, संगीत सुवर्ण लिम्बू र  स्वरः पवन गोले। मेरो रहर व्यूँझिएर, संगीत प्रकाश गुरुङ र ओमविक्रम विष्टको स्वर छ।

विभिन्न सामाजिक संघसंस्थाबाट सम्मानित हुँदै आएका थापाका पहिलो प्रकाशित कृति पाइतालाका डोबहरू (मुक्तकसङ्ग्रह) हुन् भने भन्थिन मेरी उनी (संस्मरण र गीतिसङ्ग्रह) प्रकाशोन्मुख कृति हुन।

प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेसले भने, ‘पाँच दशकदेखि लगातार गीत, कविता र कलाकारिता क्षेत्रमा अतुलनीय योगदानको कदर गर्दै थापालाई विशिष्ट प्रतिभा सम्मान प्रदान गर्न लागिएको हो’।

यसैगरी २०३७ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा, खोटाङमा जन्मेका कवि चन्द रानाहँछा साहित्य लेखन तथा कलाकारिता क्षेत्रमा सक्रिय छन्। बाल्यकालमा चित्रकलाप्रतिको आकर्षणले कलाकारितासँगै गीत, कविता, कथा र चलचित्रको पटकथासमेत लेख्दै आएका छन्।

चन्द्र रानाहँछाका चौबन्दी किनिदिउँला (गीतिएल्बम) २०५६, चिनो रुमाल (गीति एल्बम) २०५७, मनमा आँधी चलेपछि (गीत, कवितासङ्ग्रह) २०६७, भाउजू लडेको भीर (कथासङ्ग्रह) २०६९, थिबिया चराको गीत (कवितासङ्ग्रह) २०७१ र बागदता (उपन्यास)  प्रकाशोन्मुख छन्।

रानाहँछाले राष्ट्रिय कविता महोत्सव, २०७४ प्रथम, युवा वर्ष मोती पुरस्कार, २०७५ र खोटाङ प्रतिभा पुरस्कार, २०८० लगायत दर्जन बढी स्थानीयदेखि राष्ट्रिय पुरस्कारहरु प्राप्त गरेका छन्।

कवि तथा कलाकार चन्द्र रानाहँछाको निरन्तर कलाकारिता र साहित्य लेखन क्षेत्रमा उल्लेखनीय योगदानको कदर गर्दै यस वर्षको प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

थापा र रानाहँछालाई आगामी मंसीरमा काठमाडाैंमा कार्यक्रम गरी विशिष्ट सम्मान तथा पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

बेलायतमा बसेर कर्मथलो बनाएका नेपाली स्रष्टाहरूले सन् २००८ मा बेलायतमा स्थापित गरेको नेपाली प्रतिभा प्रतिष्ठानले हालसम्ममा अग्रज स्रष्टाहरू ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्राडा गोविन्दराज भट्टराई, बुँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ, भागीरथी श्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो, गोपाल पराजुली, राजेन्द्र विमल, डा. कृष्णहरि बराल, दीप श्रेष्ठ, गणेश रसिक, राजेश्वर थापा र जसराज किरातीलाई सम्मान गरिसकेको छ।

यसैगरी नवीन विभास, कुबेर राई, उपेन्द्र सुव्वा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, वीवी अनुरागी, टीका चाम्लिङ, फुलमान बल, बलराम अधिकारी, शुभ मुकारुङ, विमला तुम्खेवा, गणेश गुरुङ, सुदिप पाख्रिन, प्रदीप मेन्याङ्बो, सन्ध्या सुब्वा सिङ्जाङगो र विजेता चौधरीलाई प्रतिभा पुरस्कार प्रदान गरिसकेको छ।

प्रकाशित: ७ कार्तिक २०८३ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App