काठमाडौं, नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा महभारतका पात्र शिखण्डीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यास शिखण्डीको लोकार्पण भएकाे छ।
संविधान सभा सदस्य सुनिल बाबु पन्तको प्रमुख आतिथ्यमा भुवनहरि सिग्देल, अनुपम रोशी, श्रीओम श्रेष्ठ रोदन, लेखककी माता, लेखक सुशील रिजाल र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
किताबमाथि समीक्षा गर्दै आख्यानकार भुवनहरि सिग्देलले किताब पौराणिक पात्रलाई लेखिएको भए पनि यसमा धेरै नयाँ र रोचक कुराहरू समावेश भएकोले उपन्यास नपढ्नेलाई पछुतो हुने बताए।
आख्यानकार अनुपम रोशीले महाभारत आफूलाई मन पर्ने विषय भएको र शिखण्डी पात्र आफैँमा महत्त्वपूर्ण रहेकाले आफूलाई उपन्यासले आकर्षण गरेको, छोरी जन्मिएपछि छोराको रूपमा पालनपोषण गरेर केटीसित नै विवाह गरिदिएको र सुहागरात प्रसङ्ग लगायत विषयले उपन्यासलाई रोमाञ्चित बनाएको बताए। तात्कालीन समयमा लिङ्ग परिवर्तन विषय पनि रोचक रूपमा प्रस्तुत गरेको छ।
वरिष्ठ साहित्यकार श्रीओम रोदनले अब पुरानो विषयमा अध्ययन गर्ने र पढ्ने संख्या बढ्नुमा शिखण्डी जस्तो उपन्यासको योगदान हुने बताए।
प्रमुख अतिथि पन्तले महाभारतको बेलादेखि नै तेस्रो लिङ्गीको अपमान र दुर्व्यवहार भएको, महिला र पुरुषको रूपमा २ लिङ्ग नभए पुलिङ्गी मानव रहेको बताए। उपन्यास आफूलाई मन परेको र सबैसबैलाई पढ्न पनि अनुरोध गरे।
उपन्यासकार रिजालले आफू समाजशास्त्रको विद्यार्थी भएकाले सामाजिक विषयको अनुसन्धान गर्दै गर्दा शिखण्डीको विषयमा उपन्यास लेखेको बताए।
रूपक अलङ्कारले सञ्चालन गरेको कार्यक्रम पुष्पराज पौडेलको अध्यक्षतामा भएको थियो। शिखा बुक्सले प्रकाशन गरेकाे उपन्यासको मूल्य ५९५।– छ।
प्रकाशित: ७ भाद्र २०८३ १३:१२ आइतबार





