४ श्रावण २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

आमिर खानको घर बाहिर सुरक्षा कडाइ

बलिउड अभिनेता आमिर खानलाई कथित रूपमा लरेन्स ग्याङबाट ज्यान मार्ने धम्की आएको दाबीपछि मुम्बई प्रहरीले उनको घर बाहिर सुरक्षा व्यवस्था कडा बनाएको छ। शनिबार सामाजिक सञ्जालमा भाइरल भएको एक पोस्ट र भ्वाइस क्लिपको सत्यता पुष्टि गर्न प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार, हालसम्म भाइरल पोस्ट वा अडियो वास्तवमै लरेन्स ग्याङबाट जारी भएको भन्ने कुनै आधिकारिक पुष्टि भएको भने छैन। मुम्बई प्रहरी आयुक्त देवन भारतीले सामाजिक सञ्जालमा फैलिएका सामग्रीको सत्यता जाँच भइरहेको जानकारी दिएका छन्।

भारतीय सन्चार माध्यम अनुसार, आमिर खान हाल भारत बाहिर हनीमुनका लागि अष्ट्रेलिया गएका छन्। यसबीच, सामाजिक सञ्जालमा भाइरल भएको कथित पोस्टमा आमिर खानको हालैको विवाहलाई लिएर आपत्तिजनक टिप्पणी गरिएको छ र धम्कीपूर्ण भाषा प्रयोग गरिएको दाबी गरिएको छ।

यसअघि आमिर खानले आफ्नी तेस्रो पत्नी गौरी स्प्राटसँगको विवाहलाई लिएर उठेका ‘लभ जिहाद’ सम्बन्धी आरोपको खण्डन गरेका थिए। उनले आफ्ना सबै विवाह सिभिल म्यारिज भएको र कुनै पनि पत्नीले धर्म परिवर्तन नगरेको बताएका छन्। साथै, गौरी स्प्राट हिन्दू नभई इसाई धर्मावलम्बी रहेको पनि स्पष्ट पारेका थिए।

भारतीय कानुनअनुसार, यदि अघिल्ला विवाहहरू कानुनी रूपमा समाप्त भइसकेका छन् भने पुनः विवाह गर्न कुनै कानुनी बाधा हुँदैन। आमिर खानका अघिल्ला दुई विवाह कानुनी रूपमा सम्बन्धविच्छेदमार्फत समाप्त भइसकेकाले उनको तेस्रो विवाह कानुनसम्मत मानिन्छ।

यस घटनासँग सम्बन्धित भाइरल पोस्ट र अडियोको सत्यता भने प्रहरीले अनुसन्धान पूरा गरेपछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ३ श्रावण २०८३ १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App