३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

पर्यावरण जोगाऔं: पृथ्वी बचाऔं

निबन्ध

पृथ्वीमा अवस्थित घाम, पानी, माटो, वायु, आकाश जस्ता पहुँच तत्त्वहरूको अन्योन्याश्रित अन्तरसम्बन्धबाट सृजित जीवानुकूल परिस्थिति नै प्रकृति हो। प्रकृति शान्त अनि सुरम्य हुन्छ र यो आफ्नो नियमित गतिमा चलिरहेको हुन्छ। प्रकृतिको यस नियमित प्रक्रियाका कारण नै पृथ्वी जीवअनुकूलको ग्रह बन्न पुगेको छ र हामी जीवित प्राणीको रूपमा रहन सकेका छौं तर प्रकृतिमा कहिलेकाहीँ विचलन आइदिनाले र कतिपय अवस्थामा मानवीय लापर्बाहीकै कारणले प्रकृतिले आफ्नो उग्र रूप देखाउन पुग्दछ। जसको प्रत्यक्ष उदाहरण बाढी, पहिरो, भूक्षय, भूकम्प, अतिवृष्टि, अल्पवृष्टि आदिलाई लिन सकिन्छ। प्रकृतिले देखाउने यस्तो उग्र रूपलाई हामी प्राकृतिक प्रकोप अथवा प्राकृतिक विपद् पनि भन्ने गर्दछौं।

प्रकृतिको मात्र कुरा होइन। हामी मानव जातिको भौतिक शरीर पनि पृथ्वी, जल, वायु, अग्नि र आकाश जस्ता पहुँच तत्त्वहरूबाट नै निर्माण भएको हुन्छ र  हाम्रो मृत्यु पछि हाम्रो भौतिक शरीर पनि पृथ्वीको यिनै पहुँच तत्त्वहरूमा विलीन हुन पुग्दछन्। त्यसैले यी पञ्च तत्त्व हाम्रो सोच, संस्कार र प्रवृत्तिसँग पनि कुनै न कुनै रूपमा गाँसिएका छन्, गाँसिएका हुन्छन्। वास्तवमा मानिसहरूले प्राकृतिक सम्पदालाई आफ्नाे स्वार्थअनुकूल प्रयोग गर्ने, रूख–विरूवा जथाभावी काट्ने र समग्र पर्यावरणीय सन्तुलनप्रति हेलचेक्रयाईं गर्ने प्रवृक्तिले गर्दा विश्वमा अहिले विभिन्न प्राकृतिक प्रकोपसँगसँगै पर्यावरणीय असन्तुलनको समस्या पनि बढ्दै गइरहेको देखिन्छ।

प्राकृतिक प्रकोप र नेपाल

नेपाल पनि त एउटा प्राकृतिक प्रकोपबाट प्रभावित मुलुक हो। आखिर हामी मानव जाति नै हौ जसले प्राकृतिक सम्पदाको ख्यालै नराखी जथाभावी वनविनाश गरिदिनाले वातावरणीय असन्तुलन बढ्न गई यहाँ बाढी, पहिराे,  भूक्षय आदि जस्ता प्राकृतिक प्रकोपको समस्या देखापर्ने गरेका छन्। वनजंगलको कुरा गर्दा हाम्रो मुलुकमा कतिपय कार्यहरूमा वन पैदावरकै प्रयोग गर्ने परिपाटी अझै व्यापक रूपमा चलिरहेको छ। अचम्मको कुरा त के छ भने २१ औ शताव्दीको अहिलेको युगमा पनि हाम्रो मुलुकमा झण्डै ८० प्रतिशत उर्जा वनजंगलमार्फत् प्राप्त हुने काठ–दाउराबाट आपूर्ति भइरहेको छ।

यसरी तीव्र गतिमा भइरहेको वनजंगल फँडानीकै कारण वातावरणीय असन्तुलन बढ्दै गइरहेको छ भने जुन अनुपातमा वनजंगलमाथि अतिक्रमण भइरहेको छ, सोहीअनुरूप वातावरणीय प्रदूषण पनि बढीरहेको छ। बाढीपहिरो, भूक्षय, अनियमित वर्षा र शीत लहर जस्ता प्राकृतिक प्रकोपहरू पनि वन वास्तवमा फँडानीकै परिणाम हुन्। त्यसमाथि अव्यवस्थित रूपमा भौतिक संरचनाहरू निर्माणका कारण भएका वन क्षेत्रहरू पनि क्रमिक रूपमा अतिक्रमित बन्दै गइरहेका छन्। जसले गर्दा वातावरणीय विनाश तीव्र गतिमा भइरहेको  छ।

यसरी बढ्दो वातावरणीय असन्तुलनले एकातिर जलवायु परिवर्तनको समस्या सिर्जना गरिरहेको छ भने अर्कोतिर जलवायु परिवर्तनकै कारण नेपालमा पनि यसको असर पर्न गई देशको प्रमुख आय स्रोत मानिने कृषि उत्पादनमा समेत ह्रास आइरहेको छ। जसको परिणामस्वरूप केही दशकअघिसम्म खाद्यान्न निर्यात गर्ने मुलुक अहिले आएर खाद्य आयात गर्नुपर्ने अवस्थामा पुगेको छ। अहिले हामी बर्सेनि ठूलो परिमाणमा मकै, गहुँ, पीठो, चामल आदि जस्ता खाद्य सामग्री भारत लगायत विभिन्न मुलुकबाट आयात गरिरहेका छौं।

जैविक विविधता र नेपाल

नेपाल भौगालिक दृष्टिकोणले सानो र आर्थिक दृष्टिकोणले विपन्न भए पनि हावापानी र उचाइको भिन्नताले जैविक विविधताको दृष्टिले ठूलो र सम्पन्न छ। भनिन्छ विश्वमा पाइने ९०४० जातका चराहरूमध्ये नेपालमा मात्र ९६० जातका छन्। तराईको उपोष्णदेखि हिमालको शीतोष्ण हावापानीसम्म ११८ वटा पारिस्थितिकीय प्रणाली र ३५ वन छन्। यिनै प्रणालीभित्र एकसिंगे गैंडा, पाटेबाघ, एसियन हात्ती, हाब्रे अर्थात् रेड पाण्डा, नाउर, हिउँचितुवा जस्ता जनावर प्रमुख रूपमा पाइन्छन्।

त्यति मात्र नभई नेपाल अन्तर्राष्ट्रिय जैविक विविधता महासन्धीको सदस्य समेत भएको नाताले पनि जैविक विविधता संरक्षण, त्यसको दिगो उपयोग र त्यसबाट स्थानीय तहसम्म समुचित अवसर र फाइदा पुग्ने व्यवस्था जस्ता मूलभूत कुराहरूबाट लाभ उठाउन सकिन्छ।

पर्या–पर्यटन र पहाड

मानिस पूर्णतः प्रकृतिमा निर्भर प्राणी हो। प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ। तीमध्ये पहाड वा पर्वत पनि एक हो। पहाड पर्वतहरू हराभरा भए भने हामीले स्वच्छ हावा पाउँछौं अनि वातावरण पनि स्वच्छ, सफा र हराभरा हुन्छ।

नेपाल मूलतः एक पहाडी मुलुक हो। यहाँको दुई तिहाईभन्दा बढी अर्थात् झण्डै ८६ प्रतिशत भूभाग चुरे, महाभारत, उच्च पहाडी भूभाग र हिम श्रृंखलाहरूले ओगटेका छन्। विश्वका १४ ठूलठूला हिम श्रृंखलामध्ये आठ नेपालमा पर्दछन्। विश्वको सर्वोच्च शिखर सगरमाथा र विश्वकै तेस्रो ठूलो कञ्चनजङ्गा हिमाल पनि नेपालमै पर्दछन।

त्यति मात्र नभई सात हजार मिटरभन्दा अग्ला शिखरहरू १२२  र छ हजार मिटरभन्दा अग्ला झण्डै १४० हिमशिखर पनि नेपालमै पर्दछन्। ८,८४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथाले त नेपालको गौरव र कीर्तिलाई विश्वभरि नै फैलाइदिएको छ। यिनै पर्वतहरूले हामीलाई पर्वतारोहण, पदयात्राका लागि मनोरम भूदृष्य एवं पर्या–पर्यटनको दृष्टिले आकर्षक स्थलहरू समेत उपलब्ध गराएका छन्। यी पर्वतमालाहरू ठूला नदीहरूका स्रोत मात्र नभई समथल भूमिका लागि हिमनदी र उच्च शिखरहरूमा जल सञ्चयका लागि प्रमुख आधारस्थल पनि बन्न पुगेका छन्।

त्यति मात्र नभई हाम्रा यी पर्वतीय श्रृंखलाहरू प्र्सिद्ध देवीदेवताहरूको प्राचीन–एतिहासिक मठ मन्दिर अवस्थित धार्मिक एवं आध्यात्मिक दृष्टिले अत्यन्त रमणीय पर्यटकीय गन्तव्यस्थल हुनाको साथै औषधिजन्य जडीबुटी लगायत विविध प्रकारका वनस्पति तथा जीवजन्तुहरूको ठूलो भण्डारका रूपमा समेत परिचित हुन पुगेका छन्।

तथापि पहाड र पर्वतीय क्षेत्रको यति व्यापक महत्त्व हुँदाहुँदै पनि हाम्रो मुलुकमा केही दशकयता आएर प्राकृतिक र मानवीय कारणले गर्दा यस्ता पर्वतीय क्षेत्रहरूको विनाश हुने क्रम दिन प्रतिदिन बढ्दै गइरहेको छ। भूकम्प, ज्वालामुखी विस्फोट जस्ता प्राकृतिक प्रकोपहरूले गर्दा पहाडहरू क्षेय हुन पुग्छन् भने बाढीपहिरो आदि प्रकोपबाट पनि भू–स्खलन भएर हाम्रा यी पहाड र पर्वतीय श्रृंखलाहरू नाश हुने गरेका छन्। यसका साथै हिमालय र पर्वतीय भूभागमा जलवायु परिवर्तनको प्रभाव तुलनात्मक रूपमा बढी हुने पनि वैज्ञानिक अध्ययनले पुष्टि गरिसकेको छ। त्यसमाथि यस्ता पहाड र पर्वतीय क्षेत्रहरूको विनाश हुनुमा पनि प्राकृतिक कारणभन्दा पनि मानवीय कारण नै बढी जिम्मेवार रहेको विभिन्न अध्ययनहरूले देखाएको छ। मानिसले आफ्नो स्वार्थ परिपूर्ति गर्न पहाडी क्षेत्रका बोटविरूवाहरू काटेर वन विनाश गर्ने काम गर्दछन्। यसले गर्दा पहाडहरू नाङ्गा र उजाड बन्न पुग्दछन्।

 विनाशकै कारण पानी कम पर्ने भएको हुँदा यसबाट जीवनको लागि नभई नहुने पानीको सङ्कट सामना गर्नुपर्ने अवस्था आउन सक्छ। मानिसलाई जीवित रहन नभई नहुने एउटा तरल पदार्थ हो–जल अथवा पानी। पहाड नै पानीको मूल स्रोत हो। हाम्रो देशका ठूलठूला नदीनाला र झरनाहरू पहाडबाट नै निस्केका छन्।

त्यसरी निस्केर बनेका खोला, नदीनाला र तालमा सदैव पानी भइरहन्छ र त्यसैबाट जलविद्युत शक्ति पनि निकाल्न सकिन्छ। त्यसैले पहाड हराभरा भयो भने वर्षा यथेष्ट मात्रामा हुन्छ र मूलहरू सुक्न पाउँदैनन् र यसबाट पानीको आवश्यकता पनि परिपूर्ति गर्न सकिन्छ।

यसरी मानव जीवनमा पहाड र पर्वतीय क्षेत्रको निकै ठूलो महत्त्व रहेको हामी पाउँछौं। त्यसकारण हामीले यस्ता पहाड र पर्वतीय क्षेत्रहरू जोगाउन र तिनको संरक्षण सम्बर्धन गर्न आआफ्नोतर्फबाट सक्दो योगदान पुर्याउनु अति नै आवश्यक देखिन्छ। यसका लागि हामीले पहाड र पर्वतीय क्षेत्रमा वृक्षारोपण अभियान चलाउनुका साथै त्यसलाई हुर्काउने बढाउनेतर्फ पनि यथोचित ध्यान पुर्यानु जरूरी हुन्छ। वास्तबमा यस्ता जीवन्त पहाड र पर्वतीय श्रृंखलाहरूको उचित प्रचारप्रसार एवं संरक्षण सम्बर्धन गर्न सके पर्यावणीय पर्यटनको दृष्टिले समेत यी पर्वतीय श्रृंखलाहरू नेपालको लागि अभिशाप नभई वरदान सावित हुन सक्तछन्।

सिमसार र पर्यावरण

पर्यावरण संरक्षणको एउटा प्रमुख स्रोत हो सिमसार। सिमसारको सम्बन्धमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले के भनेको छ भने वरपर दुई हजारभन्दा बढी स्थानीय चराहरूको बसोबास हुने, ऋतु परिवर्तनको क्रमसँगै बर्सेनि अन्य क्षेत्रबाट चराहरू बसाइ सरेर आउने अनि पानीमा निर्भर एक सयभन्दा बढी जीवजन्तु तथा वनस्पतिलाई आश्रय दिएको जमिन नलुक्ने र पानी नसुक्ने क्षेत्र नै सिमसार हो।

भनिन्छ नेपालको सन्दर्भमा कूल क्षेत्रफलमध्ये लगभग ५ प्रतिशत भाग सिमसार क्षेत्रमै पर्दछ। नेपालमा तराईको समथर भूभागदेखि हिमालको उच्च पहाडी भूभागसम्म पाइने विविध पारिस्थितिकीय प्रणालीभित्र सिमसार क्षेत्रहरू विद्यमान छन्।

स्मरण रहोस्, नेपालमा पाइने विरूवाहरूमध्ये करीव २ प्रतिशत विरूवा, १७२ प्रजातिका माछा, १९० प्रजातिका चरा, लोपोन्मुख २ प्रजातिका गोही, एक सिंगे गैंडा लगायत केही स्तनधारी एवं घस्रने जीवहरूको वासस्थान सिमसार भएको अनुमान गरिएको छ। भौगोलिक आधारमा भन्नु पर्दा नेपालको कूल क्षेत्रफल १ लाख ४७ हजार  १८१ वर्ग किलोमिटर छ। जसअनुसार हिमाली क्षेत्र १५ प्रतिशत, पहाडी क्षेत्र ६८ प्रतिशत र तराई फाँट १७ प्रतिशत छ।

सिमसारको महत्त्व र उपयोगिताका सन्दर्भमा भन्नुपर्दा यसले जमीनको पानी संचय गर्दछ। यसले जमिनको पानीलाई शुद्ध गर्ने र पानीको बहाव निरन्तरता दिने गर्दछ। साथै यसले पानीका प्रमुख स्रोतहरू ताल, हिमताल, दह, नदीताल, मूल एवम् भूमिगत जलहरू स्वच्छ र जीवन्त राख्ने पनि संरक्षणविद्हरूको भनाइ छ।

सिमसारले थुप्रै जीवजन्तु र वनस्पतिलाई अनुकूल वासस्थान प्रदान गर्दछ। बोटविरूवाको प्रजातिको संरक्षण गर्दछ र साथै यसले बाढीपहिरो नियन्त्रणमा पनि सघाउ पुर्‍याउँछ। भनिन्छ यदि ५ प्रतिशत जमिनमा सिमसार छ भने यसले पचास प्रतिशतसम्म बाढीपहिरो नियन्त्रण गर्न सक्दछ।

त्यस्तै सिमसारबाट पानीको शुद्धीकरण गरी मानिस लगायत अन्य जीवजन्तु समेत शुद्ध पानी उपलव्ध गराउने भएकाले यसलाई जमीनरूपी शरीरको मृगौला पनि मान्न सकिन्छ।

त्यति मात्र नभई सिमसारले धेरै किसिमका प्राणीहरूलाई बासस्थान प्रदान गरेको हुन्छ। विशेषगरी यो क्षेत्र विभिन्न प्रजातिका जलचर, स्थलचर, उभयचर, नभचर तथा वनस्पतिहरूको आश्रयस्थलका रूपमा रहेको हुन्छ। माछा, काठ, दाउरा, जडीबुटी तथा अन्य खाद्यवस्तु जस्ता आवश्यक र उपयोगी वस्तुहरू सिमसारबाटै प्राप्त हुने गर्दछन्।

सिमसारको यही बहुपक्षीय उपयोगितलाई दृष्टिगत गरी नेपाल सरकारले कास्की जिल्लाका नौवटा थप तालहरूलाइ पनि विश्व रामसार सूचीमा सूचीकृत गरेको छ।

यसरी सूचीकृत अन्तर्राष्ट्रिय महत्त्वका यी तालहरूमा फेवाताल, रूपाताल, वेगनास ताल, दिपाङ्घताल, खास्टेताल, न्यूरेनीताल, मेदीताल, रानीपोखरी र गुँदेताल  छन्। यसअघि मुगुको रारा, सोलुखुम्बुको गोक्यो, रसुवाको गोसाईकुण्ड, डोल्पाको शेफोक्सकुण्डो, इलामको माइपोखरी, कैलालीको घोडाघोडी, चितवनको वीसहजारी, कपिलबस्तुको जगदीशपुर जलाशय तथा सप्तरी र सुनसरी जिल्लाको सिमामा पर्ने कोशी टप्पु गरी नौ ताल विश्व रामसारमा सूचीमा सुचीकृत भइसकेका छन्।

यस अनुसार विश्वका सिमसार पहिचान सहित संरक्षणका लागि स्थापित इरानको रामसार सूचीमा नेपालका जम्मा १८ सिमसार क्षेत्र सुचीकृत हुन पुगेका छन्। जुन हाम्रो लागि खुशी र गौरवको कुरा पनि हो।

तथापि सिमसार क्षेत्रको यति व्यापक महत्त्व र उपयोगिता हुँदा हुँदै पनि यसको संरक्षण र सम्बर्धनतर्फ भने अझै यथोचित ध्यान पुग्न सकेको देखिँदैन।

खासगरी प्राकृतिक वन सम्पदाको विनाश, प्राकृतिक स्रोतसाधनको अनियन्त्रित प्रयोग, कृषि उत्पादनमा किटनाशक विषादिको अत्यधिक प्रयोग तथा अव्यवस्थित भौतिक निर्माण जस्ता कार्यहरू सिमसार क्षेत्र संरक्षण र सम्बर्धनका लागि प्रमुख चुनौतीका रूपमा देखिएका छन्।

त्यस्तै भू–क्षय, जलकुम्भीको अतिक्रमण, जल प्रदूषण, खुला चरिचरन, खेती र बसोबासका निम्ती सिमसार क्षेत्रको प्रयोग तथा जनचेतनाको अभाव आदि पनि सिमसार विनाशका प्रमुख कारण बन्न पुगेका छन्।

प्लास्टिक र प्रदूषण

प्लास्टिक र प्लाष्टिकद्धारा निर्मित सामग्रीहरू हाम्रो दैनिक जीवन पद्धतिकै एक अभिन्न अंग जस्तो भइसकेको छ। पहिलेपहिले घर–पसल र कार्यालयहरूमा प्रयोग हुने भाँडावर्तनहरू  प्रायः तावा वा पीत्तलबाट बनेका हुन्थे। अहिले ती सामानहरूको स्थान प्लास्टिक वा स्टीलका सामानहरूले लिन थालेका छन्। त्यसमा पनि पहिलो नम्बरमा त प्लास्टिकका सामग्रीहरू नै पर्दछन्। यस्ता प्लास्टिकका सामग्रीहरूको प्रयोजन बढ्दै जानुको मूल कारण के हो भने यिनीहरू सबै ठाउँहरूमा सहजै उपलव्ध हुन सक्ने, उत्पादनमा सजीलो र साथै तुलनात्मक रूपले मूल्यमा पनि सस्तो पर्दछ। यिनै कारणहरूले  विश्वका सबैजसो मुलुकमा अहिले यसको उत्पादनमा वृद्धि भइरहेको छ।

तर यति गुणयुक्त एवं उपयोगीसिद्ध भइकन पनि यस्ता प्लास्टिक एवं प्लास्टिकका सामग्रीहरू उत्पादनदेखि लिएर उपभोग हुँदाको अवस्थासम्म वातावरणीय प्रदूषणको प्रमुख कारण पनि बन्न पुग्दछन्। विभिन्न कार्वनयुक्त रासायनिक पदार्थ सम्मिश्रण हुनाको कारण यसको उत्पादन समयमा निस्कने ग्याँसले वरपरको वातावरणमा प्रतिकूल असर पुर्याउने कुरा विशेषज्ञहरू बताउँछन्।

खासगरी पी.वी.सी. पोलिकार्बोनोट, बैकेलाइट आदि जस्ता प्लास्टिक उत्पादनको समयमा विभिन्न विषालु रासायनिक तत्वहरू  जस्तै– फोर्मोहिडाइसाइड, फोसजीन आदि प्रयोग हुने गर्दछन्। जुन रासायनिक तत्त्वहरू क्यान्सर, छाला र श्वाससम्बन्धी रोगहरूको प्रमुख कारक तत्त्व मानिएको छ।

प्लास्टिक र प्लास्टिकजन्य सामग्रहीहरू अत्यधिक मात्रामा प्रयोग हुने र यो हावा, पानी र माटोमा समेत कुहिएर नष्ट नहुने भएको हुँदा प्लास्टिकको फोहर वा डंगुर पनि शहरको जताजततै थुप्रिएर रहेको हामी पाउँछौं। यसबाट वरपरको वातावरणमा प्रतिकूल असर पुर्याउनुका साथै जमीनको उर्वराशक्ति समेत घट्ने कुरा विशेषज्ञहरू बताउँछन्। विशेषज्ञहरूका अनुसार पानीमा लामो समयसम्म प्लास्टिक जम्मा हुन पुगेमा त्यहाँ रहेका वनस्पति र जीवजन्तु समेत नष्ट हुन पुग्दछन्।

प्लास्टिकबाट अझ बढी प्रदूषण यसलाई ल्याण्डफीलमा जम्मा गर्दा हुने गर्दछ। खासगरी प्लास्टिक लामो समयसम्म स्थिर रहने भएको हुँदा सूर्यको प्रकाशको अभावमा यसबाट वातावरणमा दीर्घकालीन असर पर्न जान्छ।

विशेषगरी प्लास्टिकबाट फोम आदि जस्ता बस्तु बनाउँदा टइक्लोरोइथेन, एसिटिन, टाउलिन र बेन्जीन जस्ता विषालु रसायनहरू निस्कन्छन्।

त्यस्तै प्लास्टिक बनाउँदा हावाको सम्पर्कमा विलाउने किसिमका जैविक वस्तुको अलावा सल्फर अक्साईड, नाइट्स अक्साइट, मिथानोल र इथाइलिन अक्साइड जस्ता ग्याँसहरू समेत निस्कने गर्दछन्। प्लास्टिक उत्पादनका क्रममा निस्कने यस्ता ग्याँसहरूले वायु प्रदूषण बढाउन अत्यधिक मद्दत पुर्याउने कुरा पनि विशेषज्ञहरूले बताएका छन्।

अर्को कुरा, प्लास्टिकका सामानमा क्लोरिन मिसिएको हुन्छ। जस्तो पी.भी.सी. अर्थात् पोलिविनाइल क्लोराइडमा क्लोरिन नै मिसिएको त हुँदैन तर उत्पादनको क्रममा भने यस्तो क्लोरिन मिसिने सम्भावना रहेको  हुन्छ।

यस्तो क्लोरिनयुक्त प्लास्टिक अन्तर्गत पोलिक्लोनिरेटेड वाइफिनाइल, क्लोरोल्फोरो कार्वन र डी.डी.टी. जस्ता अर्गानोक्लोराइड समेत पर्दछन्। यसबाट डी डी टी जस्तो उत्पादनमा प्रतिबन्ध लागिसकेको खतरनाक पदार्थ समेत यस्ता प्लास्टिकहरूको उत्पादन र उपभोगका क्रममा हाम्रो वरपरको वातावरणमा विद्यमान रहन पुग्दछन्।

निश्चय पनि प्लास्टिकका झोला एवं सामान बोक्न सजिलो, हलुका र तुलनात्मक रूपमा सस्तो पनि पर्ने भएको हुँदा यस्ता प्लास्टिक र प्लास्टिकजन्य वस्तुको उत्पादन र उपभोग अत्यधिक रूपमा भइरहेको छ तर सजिलो छ भन्दैमा यसबाट मानव स्वास्थ्य र वातावरणमा पुर्याउने असरप्रति भने हामीले बेवास्ता गरेर बस्न मिल्दैन।

प्लास्टिकको अत्यधिक प्रयोजनबाट हुने हानिकारक असरलाई ध्यानमा राखेर विकसित मुलुकहरूमा यसको निराकरणतर्फ गम्भीर चासो लिन थालिसकिएको छ तर नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा भने यस समस्यातर्फ खासै चासो राखेको पाइँदैन।

त्यसो त नेपालमा २० माइक्रोनभन्दा कम वजनका प्लास्टिक झोला उत्पादन गर्न नपाउने व्यवस्था सरकारले यस अघि नै गरिसकेको छ तर सरकारको यो निर्णय अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन सकिरहेको देखिंदैन।

मूल कुरा हामीले यस्ता उपयोगी वस्तुहरूबाट सुविधा उपभोग गर्दा यसबाट उत्पन्न हुन सक्ने वातावरणीय प्रदूषण र स्वास्थ्यसम्बन्धी समस्या रोक्ने उपायतर्फ पनि ध्यान दिनुपर्ने आवश्यक देखिन्छ। अवश्य पनि यदि प्लास्टिकका सामग्रीहरूको अत्यधिक प्रयोजनबाट उपलव्ध सेवासुविधाभन्दा मानव स्वास्थ्य र पर्यावरणीय दृष्टिकोणले हानि अथवा नोक्सानी बढी देखिन्छ भने यसको विकल्प खोज्ने तर्फ हामीले ध्यान दिनै पर्ने  हुन्छ।

समस्या र समाधान

यसरी पर्यावरणीय समस्या अहिले विश्व समुदायकै लागि प्रमुख चासो र चिन्ताको विषय बन्न पुगेको छ। नेपाल यो समस्याबाट अलग रहन सक्ने कुरै भएन। जनसंख्याको तीब्र बृद्धिदर एवम् वनजंगलको फँडानी र यसबाट उत्पन्न जल प्रदूषण, स्थल प्रदूषण, वायु प्रदूषण, ध्वनी प्रदूषण आदि जुन गतिमा बढ्दै गइराखेको छ त्यसले गर्दा विशेषगरी नेपाल जस्ता तेस्रो विश्वका मुलुकहरू वातावरणीय विनाशको समस्याबाट सबैभन्दा बढी ग्रसित हुन पुगेको देखिन्छ।

वातावरणीय विनाशको यो संकटमय स्थिति निम्त्याउने कार्यमा मूलतः हामी मानव जाति नै बढी जिम्मेवार रहेको देखिन्छ। विशेषगरी भौतिक पूर्वाधारहरूको ख्यालै नगरी जथाभावी किसिमबाट घरहरूको निर्माण गर्ने परिपाटीले गर्दा कुनै बेला सुन्दर र ऐतिहासिक नगरको रूपमा परिचित काठमाडौं उपत्यका अहिले बसोबासकै लागि अनुपयुक्त थलोका रूपमा परिणत हुन खोजेको हो कि जस्तो हुँदै छ।

राजधानीका खाल्डाखुल्डी र उचित मर्मत हुन नसकेका सडकहरूमा गुढ्ने झण्डै १२ लाखको हाराहारीमा रहेका सवारी साधनहरूको संख्याले उत्पन्न गरेको वायु प्रदूषणको कारणले स्वच्छ हावामा सास फेर्नु अब हाम्रो लागि एक किसिमबाट दूर्लभ जस्तो भइसकेको छ।

यस प्रकारको प्रदुषित वायुका कारण टाउको दुख्ने, जीउ भारी हुने, शरीरको छाला फुस्रो हुँदै जाने, हातगोडा फुट्ने, कव्जीयत हुने, श्वासप्रश्वास सम्बन्धी कठिनाई हुने र अपच आदि जस्ता रोगहरू उत्पन्न हुने गर्दछ भने प्रदूषणयुक्त जमीनमा उब्जेका खाद्य पदार्थहरू सेवन गर्नाले पनि पेट दुख्ने, पेटमा जुका पर्ने, हेपटाइटिस आदि जस्ता रोगहरू लाग्ने प्रवल सम्भावना रहेको कुरा स्वास्थ्य विशेषज्ञहरू  बताउँछन्।

त्यसैगरी प्रदूषणको कारण पानीमा क्षार, फलाम, तामा आदि जस्ता तत्वहरू अधिक मात्रामा मिसिन पुग्ने हु“दा त्यस्तो पानी पिउने गर्नाले अनेकन् घातक रोगहरू उत्पन्न हुने  गर्दछ। झाडा–वान्ता, पखाला, आाउ, कमलपित्त, हेपटाइटिस आदि मूलतः प्रदूषित पानीकै कारण लाग्ने रोगहरू त हुन् नि।

त्यसैले वातावरणीय विनाशको यो समस्यालाई अरू जटिल हुन नदिई विभिन्न अल्प र दीर्घकालीन उपायहरूको अवलम्बन गर्नु टड्कारो आवश्यकता भइसकेको छ। यसका लागि सर्वप्रथम त जनसंख्याको वृद्धि दरको व्यवस्थापन हुनुपयो साथसाथै वन विनाशको रोकथाम, बढ्दो धुवाँयुक्त सवारी साधनहरूको नियन्त्रण र सोको ठाउँमा विद्युत र ब्याट्रीद्धारा संचालित सवारी साधनहरूको प्रयोग, आधुनिक प्रविधियुक्त ट्राफीक व्यवस्थापन प्रणाली, औद्योगिक प्रदूषण नियन्त्रण, नियमित एवम् प्रभावकारी रूपमा वायुको गुणस्तर निरीक्षण एवम् वातावरण सम्बन्धी शिक्षा र जनचेतनाको विकासमा जोड दिनु पनि उत्तिकै आवश्यक देखिएको छ

वातावरण र विकास

वातावरण संरक्षणको कुरा गर्दा वातावरणविद्हरू लगायत अन्य सरोकारवालाहरूले समेत बारम्बार जोड दिँदै आइरहेको एउटा मननीय र महत्त्वपूर्ण पक्ष हो वातावरण र विकास बिचको सन्तुलन। हुन पनि वातावरण र विकास भनेको त एउटै सिक्काका दुई पाटा हुन्। त्यसैले सिक्काका यी दुई पाटालाई एक अर्कोसँग अलग राखेर हेर्न मिल्दैन। अर्थात् वातावरण र विकासलाई एक अर्कोबीच प्रतिद्वन्द्वीको रूपमा नलिई परिपूरकको रूपमा अंगीकार गरिनुपर्दछ। होइन भने आज जुन भौतिक विकासलाई लिएर हामी गर्व गरिरहेका छौ नि भोलि त्यही भौतिक विकास हामी मानव जातिका लागि विनाशको प्रमुख कारण पनि बन्न सक्तछ। यसतर्फ राज्यको जिम्मेवार निकाय र सम्बद्ध सरोकारवालाहरूले बेलैमा ध्यान पुर्याउनुपर्ने हो कि?

मानवीय दायित्व र  जिम्मेवारी

निश्चय पनि वातावरणीय विनाशको यो संकटमय स्थिति निम्त्याउने कार्यमा हामी मानव जाति नै बढी जिम्मेवार रहेको देखिन्छ। त्यसैले वातावरणीय विनाशलाई अरू जटिल बन्न नदिने प्रमुख अभिभारा हामी मानव जातिकै  हो।

वास्तवमा हामी सबै मानव जातिको प्रमुख उद्धेश्य भनेको आफ्नो जीवनलाई सुखी बनाउनु नै हो, आनन्दमय तुल्याउनु नै हो। स्वच्छ वातावरण सँगसँगै राम्रो सोच र असल प्रवृत्तिबाट नै हामी आफ्नो जीवनलाई सुखी र आनन्दमय तुल्याउन सक्तछौ।

यसका लागि पृथ्वीमा विद्यमान प्राकृतिक सम्पदा र वनजंगलको संरक्षण–सम्बर्धन गर्नु हामी सबैको दायित्व र कर्तव्य हो। बोटविरूवाले नै हामीलाई प्राणवायु प्रदान गर्ने हुनाले यसको संरक्षणबाट हाम्रो शरीर स्वस्थ रहनुको साथै हाम्रो सोच र प्रवृत्ति पनि राम्रो बन्न पुग्दछ। जब हाम्रो सोच र प्रवृत्ति राम्रो हुन्छ तब नै हाम्रो जीवन पनि खुसी र आनन्दमय बन्न सक्तछ। पर्यावरण संरक्षणकै कुरा गर्दा तुलसी र पीपल जस्ता बोटविरूवाहरूलाई ईश्वरकै प्रतीकका रूपमा पूजा गर्ने परम्परादेखि नै हाम्रो प्रचलन रहिआएको हो।

स्वास्थ्य र पर्यावरणीय स्वच्छताको दृष्टिले यी बोटविरूवाहरू अत्यन्त उपयोगी रहेको कुरा विज्ञानले समेत प्रमाणित गरिसकेको छ। तुलसीको पत्ता स्वास्थ्य र पर्यावरणीय दृष्टिले अत्यन्त उपयोगी वनस्पति मानिन्छ भने पीपलको बोटले त हामीलाई चौविसै घण्टा अक्सिजन प्रदान गर्दछ। जबकि अन्य बोट विरूवाहरूले बिहान अक्सिजन र राती कार्वनडाइअक्साइड छाड्ने गर्दछ।

अब मानव जीवनमा अक्सिजनको महत्व कति रहेको छ भन्ने कुरा त कोरोनाबाट संक्रमित कतिपय व्यक्तिहरूले अक्सिजन कमीकै कारण ज्यान गुमाउनुपरेको दुःखद् घटना हामीले देखिसकेका छौं नि, हैन र? तसर्थ हाम्रो सनातन धर्मप्रतिको आस्था, सकारात्मक प्रवृत्ति साथसाथै वैज्ञानिक सोच अनि चिन्तनले पनि हामीलाई पर्यावरण संरक्षणतर्फ अभिप्रेरित गर्दछ जस्तो लाग्छ।

त्यसो त हामीले आफ्नो शारीरिक मानसिक स्वास्थ्य स्थिति सन्तुलित तुल्याई राख्न चाहिने योग, ध्यान, प्राणायाम अनि पर्यावरण संरक्षण सम्बर्धन पनि हाम्रो सनातन धर्म अर्थात् परम्परागत ज्ञानमै आधारित रहेको पाइन्छ।

निष्कर्ष

समग्रमा भन्नु पर्दा दिगो विकासको सिद्धान्तअनुरूप प्राकृतिक वातावरण र सामाजिक आर्थिक विकासबीच सन्तुलन कायम रहने गरी अघि बढ्नु नै वर्तमान समयको प्रमुख आवश्यकता हो।

त्यसो त वातावरण संरक्षण र सम्वर्द्धन गर्न तथा पृथ्वीलाई प्रदूषणरहित बनाई जीवित प्राणीहरूको भौतिक अस्तित्व कायम राख्न समेत पर्यावरण संरक्षणमा यथोचित ध्यान पुर्‍याउनु आवश्यक मात्र होइन अपरिहार्य नै भइसकेको छ। त्यसैले “पर्यावरण जोगाऔ पृथ्वी बचाऔँ भन्ने साझा सवालमा नेपाल लगायत समस्त विश्वसमुदाय एकआपसमा हातेमालो गर्दै पर्यावरण संरक्षण सम्बर्धनमा कम्मर कसेर जुट्नुपर्ने बेला आएको छ।

(केसी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का सेवा निवृत्त वरिष्ठ प्रवर्द्धन अधिकृत हुन्।)

प्रकाशित: ३१ जेष्ठ २०८३ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App