हे नदी
तिम्रो गुण गाएर थाक्दिनथे म कहिल्यै
सेताे मोतीजस्तै रङ
तिम्रो कहिले नागबेली कम्मरले लल्चाउँथ्यौ
कहिले शीतका थोपा बनेर
सबैलाई लोभ्याउँथ्यौ
कोही कहिल्यै थाकेनन् तिम्रा रूप हेरेर
कही छमछम हिराजस्तै चमक लिएर
सुर र ताल दिँदै मन्त्रमुग्ध बनाउँथ्यौ
कहिले कविको भावनामा बस्यौ त कहिले कथामा
कहिले कवितामा
कहिले मन्दिरको जल बन्यौ त
कहिले तिर्खालुका प्यास मेटाउने अमृत
के भयो
अचानक किन बदलियो
तिम्रो सङ्लाे रङ्ग?
किन बिग्रियो तिम्रो त्यो मिठो धुन
किन बदलियो तिम्रो त्यो नागबेली आकार?
किन बन्यौ यति निष्ठुर
कैयौ मानव जीवन लिएर गयौ
क्षणभरमै हजारौंका निभाएर गयौ सपना
अचानक बदलियो मौसम
तिमी निष्ठुर बनिदियौ
भत्किए ती भरोसाहरू
छरपस्ट भए
धमिला पानीमा डुबे
सबै तिमीप्रतिको भरोसा
औंसीको रातमा हराएजस्तै तारा
दुःखपीडा बिर्साउन
तिम्रो किनारको काख खोज्ने हामी
आज सारा भरोसा तोडेर गयौ
तिम्रा रूप देखेर भाग्ने बनायौ
तिम्रो रूपको वर्णन गर्दा पनि
कलम काँप्नेछन् छन् अब
कुन रूपमा तिमी स्थिर हौ बताउ अब?
प्रकाशित: २० भाद्र २०८३ ११:२९ शनिबार





