राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
धादिङ क्षेत्र नम्बर २ बाट खुला महिलातर्फ सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित थापामगरले केन्द्रीय सदस्यमा खुला महिलातर्फबाट उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
आइतबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै उनले राजनीति पद र जिम्मेवारीमा मात्र सीमित नभई जनताको विश्वास, अग्रजको आशीर्वाद र सहयात्रीको साथबाट अघि बढ्ने निरन्तर यात्रा भएको बताएकी छन्।
कांग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै अग्रजहरूले देखाएको बाटो पछ्याउने तथा युवापुस्ता र महिलाको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई थप बलियो बनाउने आफ्नो संकल्प रहेको थापामगरले उल्लेख गरेकी छन्।
लोक तथा दोहोरी क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय थापामगरका थुप्रै लोकदोहोरी गीत चर्चित छन्। उनी पछिल्लो पाँच वर्षदेखि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षका रूपमा कार्यरत छिन्।
अध्यक्ष हुनुअघि करिब एक दशक प्रतिष्ठानका विभिन्न जिम्मेवारीमा काम गरेकी थापा प्रतिष्ठानको पहिलो महिला अध्यक्षसमेत हुन्।
प्रकाशित: १८ आश्विन २०८३ १२:४७ आइतबार





-600x400.jpg)