किरण बिमारी हेर्न भनेर अस्पताल गएका थिए। आफूले भेट्न चाहेको बिमारी हेरेर फर्कन लागेका के थिए, उनले केही परिचित अनुहारहरू अस्पतालमा आइरहेको देखे।
किरणले त्यहाँ आफ्नो छिमेकी विशाल चौधरीलाई देखे। उनी एकछिन त्यहाँ रोकिए। उनमा जिज्ञासा उत्पन्न भयो। सोधपुछ गरे उनले।
“के कति कामले अस्पताल आएको भाइ?”
“यहाँ सुनिता दिदीलाई भर्ना गरिएको छ। उहाँको हेरचाहका लागि आएको। ”
विशालको भनाइसँगै किरणले सुनितालाई भेट्न चाहे।
“मलाई सुनिता भएको ठाउँमा लगिदेऊ भाइ।” उनले विशाललाई आग्रह गरे।
सुनिता चुपचाप बेडमा पल्टेकी थिइन्। किरण र विशाललाई आफ्नो कक्षमा आएको देखेर उनी बिस्तरमा बसिन्।
”कहिलेदेखि बिमार भयौ बहिनी?” किरणले जिज्ञासा राखे।
”सामान्य रूपमा पेट दुख्ने काम त पहिलेदेखि हो तर पछिल्लो महिना अलि बढी दुखेर जाँच गराएकी थिएँ। धनगढीको उपचारले खासै काम गरेन। त्यसपछि काठमाडौं आएकी हुँ।” सुनिताले सविस्तार वर्णन गरिन्।
”अब राम्रो ठाउँमा आइसकेकी छौ। उपचार राम्रै होला।” किरणले ढाहस दिँदै भने।
”मेरो कति काम थियो। सब लथालिंग हुने भयो।” सुनिताले चिन्ता व्यक्त गरिन्।
“अब निको नहुँदासम्म उपचारमा लाग्नु राम्रो। काम गर्नु त जीवनभर छँदैछ।” किरण सान्त्वना दिने भावमा बोले।
उनले विशाललाई भने, “दिदीको राम्रो ख्याल राख्नु, केही आपतविपत परेमा भन्नु।”
यति भनेर किरण आफ्नो घरतिर लागे। उनी बाटामा रहँदा पनि सुनिताको विगत आँखामा घुमिरह्यो।
किरण र सुनिताको घर एउटै ठाउँमा थियो। पश्चिम तराईमा एक विपन्न परिवारमा जन्म भएको थियो सुनिताको।
सुनिताका बाबु मेवाराम सामान्य खेतीमजदुरी गरेर जीवन बिताउँथे। किरणको घर नजिकै थियो। मेवाराम किरणको घर आउनेजाने गर्दथे। किरणका बाबु दिनदयालसँग उनको राम्रो सम्बन्ध थियो।
”आफ्नो अवस्था जेजस्तो भए पनि पछिल्लो पुस्ताको जीवनप्रति हेलचक्रयाँइ नगर्नु है मेवा भाइ।” एक दिन दिनदयालले मेवारामलाई सम्झाएका थिए।
“कुरा त राम्रै हो। हामीले अज्ञानता र अन्धविश्वासमै जीवन बितायौं। आफू कमजोर भए सबैले हेप्दा रहेछन्, आफूले पाएको हेपाइ सन्तानले नभोगुन भन्ने त लाग्छ तर के गर्नु?” मेवाराम बोले।
“किन त्यस्तो के भयो र?” दीनदयाल बोले।
“संसारमा इच्छा मात्र भएर नपुग्दाे रहेछ। आखिरमा सबै थोकका लागि पैसा चाहिँदो रहेछ।” बिसरामको आवाजमा एक प्रकारको लाचारी भाव थियो।
“यसरी चित्त नदुखाऊ भाइ! मानिसको हिम्मतका अघि कसैको केही लाग्दैन। आफूले हिम्मत राख्नुपर्छ, परिस्थिति आफैं अनुकूल बन्दै जान्छ।” दीनदयालको आवाजमा ओज थियो।
“यो कुरा कतिको सम्भव छ?” मेवाराममा अझै आशंका कायम थियो।
“यो मैले हावा तालमा भनेको होइन। हाम्रै जीवन अनुभवबाट सिकेर भनेको। हिजोको दिनमा हाम्रो दिन कति असहज थियो, मेहनत र संघर्षले हामी यो अवस्थासम्म आइपुगेका छौं।” दीनदयाल बोले।
मेवाराम आफैमा संघर्षशील पात्र। मेहनत गर्न नडराउने। कामप्रति विश्वास भएका मानिस।
उनले आफूले पाएको दुःख देखेर होला, छोराछोरीको पढाइका लागि कुनै कमी गरेका थिएनन्। जेठी छोरी सुनिता टाठी थिइन्। उनलाई बाबुको दुःख थाहा थियो। उनी मेहनत गर्दै पढ्दै गइन्।
“मैले सके जति गर्छु है। तिमीहरूले ममाथि पूरा आशा नराख। आफ्नो बाटो आफै बनाउँदै गर्।” बाबुको यो भनाइ सुनिताका कानमा गुञ्जिरहन्थ्यो।
प्रारम्भमा बाबुले लगानी लगाए पनि पछि त घरबाट कुनै लगानी लगाउनु परेन। उनले कक्षा प्रथम भएर नाम निकालेपछि जेहन्दार विद्यार्थीको छात्रवृत्ति पाउन थालिन्।
सुनिताको भाइ विशाल पढाइमा कम मन लगाउँथ्यो। ऊ खेल्न, कुद्नमै रमाउँथ्यो।
मेवाराम छोरीको उदाहरण दिएर सम्झाउँथे, “दिदीले कक्षा प्रथम भएर छात्रवृत्तिमा पढिरहेकी छ। दिदीको जति नभए पनि केही न केही त मेहनत गर्नुपर्ला बाबु। अहिले दुःख गर्यौ भने पछि सुख होला नत्र...।”
“नत्र के बुबा।” विशालको आवाजमा जिज्ञासा थियो।
“गाउँका तिम्रा दाजुहरू जस्तै धेरै मेहनत गर्नुपर्ने काममा लाग्नुपर्ला। समाजमा हेलामा बाँच्नुपर्ने अवस्था आउला।” बाबु मेवाराम बोले।
“हाम्रो समाजमा श्रमको काम गर्नेलाई किन हेला गरिन्छ बुबा?” विशालको अचानकको प्रश्नले मेवाराम केही बेर चुप लागे।
केहीबेर सोच्दै भने, “खै बाबु। शरीरको श्रम गर्नेलाई सम्मान गर्नुपर्ने हो तर अपमान गरिन्छ। हाम्रो समाजको अवस्था यस्तै छ।”
विशालको मनमाजीवन यसै गरेर चल्छ भन्ने थियो। बाबुको कुराले उसमा एक प्रकारको भय उत्पन्न भयो। ऊ पढाइप्रति संवेदनशील बन्न पुग्यो।
सुनिताले एसईई पास गरेकी के थिइन्, गाउँका मानिस मेवाराममाथि दबाब बनाउन थाले।
”हाम्रो गाउँमा पढेलेखेकी केटीमा पर्छे तिम्री छोरी। अब छोरीका लागि योग्य वर खोजेर विवाह गराइदेऊ।” गाउँको धनी मानिस कृष्णकान्तले भने।
”म छोराछोरीले पढ्न सक्ने अवस्थासम्म उनीहरूको बाधक बन्दैन। उनीहरूले पढन सकेनन् वा बिचैमा छोडे भने उनीहरूको कुरा हो।” मेवाराम बोले।
”धेरै पढाएर के गर्छौ। अहिलेको जमानामा सोर्सफोर्सबिना कुनै काम पाइँदैन। पढ्दा पढ्दै उमेर ढल्कियो भने विवाह गर्ने केटा पनि पाइँदैन।” कृष्णकान्तले भविष्यका सम्भावित कष्टका बारेमा वर्णन गरे।
“म यस कुरामा कुनै दवाब दिन चाहन्न। जस्तो परिस्थिति आउला, टर्दै जाला।” मेवाराम दृढ देखिए।
मेवारामका छोराछोरीको प्रगति देखेर जल्ने मानिस कुनै न कुनै नाममा उनीहरूको पढाइ अवरुद्ध गराउन चाहन्थे। आफ्ना छोराछोरीका असफलताले उनीहरूको अहंकार निस्तेज भइसकेको थियो।
गाउँका हुनेखाने, जमिन्दार परिवारका केटाकेटी कमजोर हुनु अनि सामान्य श्रम गरेर बाँच्ने मेवारामका छोराछोरी बलिया बन्नु उनीहरूका लागि असह्य थियो।
संसार जतासुकै जाओस्, मेवारामलाई मतलब थिएन।
“कसरी छोराछोरीको भविष्य राम्रो बनाउने?” यही एक मात्र उद्देश्य थियो।
सुनिताले आफ्नो बाबुआमाको नाम राखिन्। उनले इन्जिनियरिंगमा नाम निकालिन्। केही छात्रवृत्ति अनि बाबुआमाको बलले उनले आफ्नो अध्ययनलाई पुरा गरिन्। दिदीको सफलतालाई पछ्याउने क्रममा भाइ पनि अघि बढ्दै थियो।
अध्ययनपछि राम्रो जागीर पाएर उनको जीवन अघि बढिरहेको थियो। आफ्नो क्षेत्रमा लगनशीलताका कारण उनको नाम देशविदेशमा फैलिँदै थियो।
उनको एक गति थियो। त्यो गतिले उनलाई सफल बनाएको थियो। एक सुरमा, एक लयमा काम गर्नु अनि आफूले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु उनको परिचय नै बनिसकेको थियो। उनका कतिपय साथी आफ्नै काम र पेशासँग मात्र जोडिएका थिए। उनी साहित्यकलाका क्षेत्रमा पनि आफ्नो दक्षता हासिल गर्दै थिइन्। उनी देशकै एक सुविख्यात लेखिकाका रूपमा स्थापित भइसकेकी थिइन्।
अलग–अलग क्षेत्रमा प्रसिद्ध भएपनि एक क्षेत्रको कामले अर्को क्षेत्रको कामलाई प्रभावित नभएर काम गर्नु सहज छैन। उनी जतिबेला जुन काम गर्नुपर्दथ्यो, त्यो काममा दक्षता हासिल गरेर अघि बढ्दै थिइन्। उनी एक सुरमा काम गर्थिन, एक लयमा काम गर्थिन्।
अचानक उनलाई पेटको बिमारले ग्रसित तुल्याएपछि उनको काम बन्द भयो। एक दिन किरण भेट्न जाँदा उनले यस विषयमा चिन्ता व्यक्त गरेकी थिइन्।
“मैले विद्यावारिधिका लागि पनि फर्म भरेकी थिएँ। सारा काम रोकिने भयो।”
“जीवनमा सधैँ काम मात्र भनेर हुँदैन। काम भन्दाभन्दै स्वास्थ्य खराब हुन्छ। पहिले स्वास्थ्य अनि काम गरेन भने जीवनमा दुःख पाइन्छ।” इन्जिनियर किरण बोले।
“ठिक भन्नुभयो दाजु! म पनि कामकाम भनेर दौडिरहेंं। कामको चक्करमा आफैले आफूलाई भुलेकी रहेछ। अब भने केही समय उपचारमा लाग्ने भयो।” सुनिताले आफ्नो सुस्त आवाजमा भनिन्।
उनको उपचारको क्रम चलिरह्यो।
डाक्टरले भने, “नियमित उपचार, स्वस्थ खानपिन र दृढ इच्छाशक्तिले रोग निको हुन्छ। यस बिचमा कुनै अप्ठ्यारो काम नगर्नुहोला।”
उनले सहमतिमा टाउको हल्लाइन्।
उनको जीवनको लय केही समयमा लागि भंग भएको छ। जीवन गतिमा केही समय अवरोध आएको छ। अब भने चुपचाप चुपचाप बस्नु छ। केही समय आराम गर्नुछ। त्यसपछि पुनः आफ्नो कर्मक्षेत्रमा अघि बढ्नु छ। उनमा एक किसिमले जीवनप्रतिको आशा पलाउँदै गयो। उनमा बाँच्ने रहर अझ मौलाउँदै गयो।
एक वर्षको उपचारपछि उनलाई क्रमशः निको हुँदै गयो।
उनी क्रमशः काममा आबद्ध हुँदै गइन। जीवनको लय केही समयका लागि भंग भएपनि त्यो क्षणिक हो। जीवन छ त आशा छ। आशामुखी चिन्तनले बाँच्न सकिन्छ। अब उनी क्रमशः जीवन बाँच्न थालेकी छिन्। उनमा जीवनप्रतिको आशावादिता अझ बढेको छ। उनको जीवन लयबद्ध भइसकेको छ।
“जतिसुकै उतारचढाव भएपनि निरन्तर गतिशील हुनु र आशावादी जीवन बाँच्नुमा नै जीवनको सार्थकता रहेछ।” आजकल उनको मनमा यही भाव आइरहन्छ। जीवनप्रतिको सकारात्मक सोचले उनलाई उर्जा भरेको छ।
प्रकाशित: २५ आश्विन २०८३ ०८:१६ आइतबार





