पछिल्लो समय नेपाली चलचित्रको ‘स्टोरीलाइन’ मा केहीहदसम्म भएपनि सुधार देखिएको छ। दर्शकहरू पुरानै परम्परागत प्रेमकथा मात्र चाहँदैनन्। उनीहरुको ‘टेस्ट’ फेरिएको छ। उनीहरू यथार्थपरक विषयवस्तुको खोजीमा छन्।
‘गौंथली’ र ‘लालीबजार’ जस्ता सामाजिक यथार्थमा आधारित चलचित्रहरूले दर्शकको मन जितिरहेको वर्तमान परिदृश्यमा नेपाली बक्स अफिसमा एउटा नितान्त फरक स्वाद बोकेर आएको छ- मास्टर्नी।
चलचित्रको कथा एक बौद्धिक विज्ञान शिक्षिका तुलसी क्षेत्रीको जीवनबाट सुरु हुन्छ। विद्यालयमा उनको पढाउने शैली र लगनशीलताको सर्वत्र प्रशंसा हुन्छ। विज्ञानकी शिक्षिका भएका कारण उनको सोच्ने शैली तार्किक र वैज्ञानिक छ। जुन पछि गएर कथाको मुख्य हतियार बन्छ।
तुलसीकी एउटी मात्र छोरी छिन्। अंकिता क्षेत्री। कलेज पढ्दै गरेकी र सँगसँगै लोकसेवा आयोगको तयारी गरिरहेकी अंकिता आफ्नी आमाको आदर्शबाट प्रभावित, लक्ष्यप्रति अडिग र मिहिनेती छिन्।
एकदिन अंकिताको हातबाट उनकी सबैभन्दा मिल्ने साथी सिसिरियाको हत्या हुन पुग्छ। सिसिरिया पहुँचवाला र शक्तिशाली नेता महेशकुमार शर्माकी छोरी हुन्छिन्।
यहाँबाट सुरु हुन्छ, चलचित्रको असली ‘क्याट एन्ड माउस गेम’ अर्थात् मास्टरनीको ‘मास्टरमाइन्ड’ खेल। आफ्नी छोरीको हत्यारा पत्ता लगाउन नेता शर्माले राज्यको सम्पूर्ण शक्ति, प्रहरी प्रशासन र आफ्ना निजी गुण्डाहरूको कसरी दुरुपयोग गर्छन् भन्ने दृश्य निकै सजीव र डरलाग्दो छ।
त्यो काहीँ न कहीँ हाम्रो समाज को वास्तविकता पनि हो। जहाँ कुनै व्यक्ति सत्तामा बसेर आफ्नो शक्तिको गलत प्रयोग गरि कसरी निर्दोषहरुलाई फसाउँछन् सताउँछन्। यी सबै दृश्यहरू कथामा समावेश छन्। शक्तिमा बसेका व्यक्तिहरूले आफ्नो स्वार्थका लागि प्रहरी प्रशासनलाई कठपुतली बनाउँछन् र निर्दोषहरूलाई कसरी चक्रव्यूहमा फसाउँछन् भन्ने देखाइएको छ।
राज्य संयन्त्र नै लागेर छोरीलाई पक्रन खोज्दा, एउटी एक्ली आमाले छोरीलाई बचाउन प्रयोग गरेको साम, दाम, दण्ड, भेद साँच्चै नै रोमाञ्चक छ। प्रहरीको अनुसन्धान र नेताको पाशविक आक्रमणबाट तुलसीले आफ्नी छोरीलाई कसरी सुरक्षित राख्छिन् ? के नेताको सत्ता र शक्तिले जित्ला वा एउटी शिक्षिकाको वैज्ञानिक बुद्धिमत्ताले ? यसको जवाफ पाउन दर्शकले सिनेमा हलमै पुग्नुपर्ने हुन्छ।
अभिनयको पाटोमा कुरा गर्दा, अभिनेत्री प्रियंका कार्कीको करिअरमा ‘तुलसी’ को भूमिका एउटा ‘माइलस्टोन’ साबित हुन सक्छ। उनले साहसी आमाको भूमिकालाई पूर्ण रूपमा न्याय गरेकी छिन्।
यस चलचित्रमा उनको संवादभन्दा पनि एक्सप्रेसन र आँखाले धेरै कुरा बोलेको छ। मौनतामै पनि त्रास र दृढता सँगसँगै देखाउन उनी सफल भएकी छिन्।
छोरीको भूमिकामा अभिनेत्री सिम्रन खड्काले निकै परिपक्व काम गरेकी छिन्। अचानक आइपरेको संकटले निम्त्याएको मानसिक विक्षिप्ततालाई उनले पर्दामा जीवन्त रूपमा उतारेकी छिन्।
नेताको भूमिकामा प्रमोद अग्रहरी सधैंझैं बलियो उपस्थितिमा छन्। क्रूर र शक्तिमा अन्धो भएको बाबुको चरित्रमा उनले आफ्नो छाप छाडेका छन्।
यद्यपि, नेताकी श्रीमतीको भूमिकामा देखिएकी अभिनेत्री ऋचा शर्माको अभिनय भने केही ठाउँमा अस्वाभाविक र अतिरञ्जित महसुस हुन्छ। कथाको गम्भीरतालाई उनको ओभर-एक्टिङले कतै-कतै फितलो बनाएको भान हुन्छ।
अर्कोतर्फ, सिसिरियाको भूमिकामा देखिएकी नव-अभिनेत्रीको काम भने तारिफयोग्य छ। लागुऔषधको कुलतमा फसेकी र आधुनिक जीवनशैलीको नकारात्मक बाटोमा हिँडेकी युवा पात्रलाई उनले निकै यथार्थपरक ढंगले प्रस्तुत गरेकी छिन्।
भारतीय मूलका निर्देशक सुवेन्दु घोषको यस चलचित्र उनको अघिल्लो प्रोजेक्ट ‘आई एम जितबहादुर’ को तुलनामा निकै सुध्रिएको छ। उनले कथाको पेसिङलाई मर्न दिएका छैनन्।
रहस्यलाई एकपछि अर्को गर्दै जसरी खोल्दै लगिएको छ। त्यसले दर्शकलाई पर्दाबाट आँखा हटाउन दिँदैन। चलचित्रको सबैभन्दा सबल पक्ष भनेको यसले महिला पात्रलाई दिएको सशक्तिकरण हो। अक्सर पुरुष पात्रले गर्ने चलाखी र एक्सनलाई यहाँ एउटी महिलाको बौद्धिकतामार्फत प्रस्तुत गरिनु आफैंमा एउटा सुन्दर पक्ष हो।
तर, चलचित्र पूर्ण रूपमा त्रुटीरहित भने छैन। छायांकनको कुरा गर्दा, कतिपय दृश्यहरूमा अनावश्यक ‘क्लोज-अप सट’ हरू प्रयोग गरिएका छन्। जसले ठूलो पर्दामा हेर्दा दृश्यलाई अलिक बिथोलेको जस्तो र अक्वर्ड महसुस गराउँछ।
त्यसैगरी, चलचित्रको सबैभन्दा ठूलो कमजोरी भनेको यसमा गरिएको ‘ब्रान्ड इन्टिग्रेसन’ अर्थात् विज्ञापन हो। चलचित्रको कथा अघि बढिरहँदा अनावश्यक रूपमा विद्यालय तथा पेय पदार्थहरूको जबर्जस्ती प्रचार गरिएको छ।
यसले दर्शकको ध्यान एकाग्रताबाट भङ्ग गरिदिन्छ र कथाको मूल मर्मलाई नै बाधा पुर्याउँछ। व्यावसायिक सम्झौता भए पनि त्यसलाई कथावस्तुसँग नबिझाउने गरी प्रस्तुत गर्न चुक्नु निर्देशकको कमजोरी हो।
केही प्राविधिक कमजोरी र व्यावसायिक सम्झौतालाई पन्छाउने हो भने, ‘मास्टर्नी’ एउटा उत्कृष्ट चलचित्र हो। नेपाली सिनेमामा मर्डर मिस्ट्री, क्राइम र थ्रिलर विधामा यति कसिलो पटकथा विरलै बन्ने गर्छन्।
समग्रमा भन्नुपर्दा चलचित्र राम्रो बनेको छ। यदि तपाईंहरूलाई हरर, मडर अथवा क्राइम जनरामा आधारित चलचित्र मनपर्छ भने यो चलचित्र तपाईंको लागि उत्कृष्ट बन्न सक्छ।
प्रकाशित: ४ भाद्र २०८३ १५:५२ बिहीबार





