३१ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

'संज्ञान' मा विमलको सम्झना

पाटन संयुक्त क्याम्पस नेपाली विभागले 'संज्ञान विमर्शको उन्नाइसौँ शृङ्खला' मा मैथिली तथा नेपाली भाषासाहित्य र कलासंस्कृतिका विशिष्ट धरोहर स्व. राजेन्द्र विमलको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।

विभागीय सदस्य डा. हेम भण्डारीको सभाध्यक्षतामा आयोजित यस कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. जीवनकुमार श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए। स्व. विमलको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै विभागका सदस्य डा. चतुर्भुजलाल दास केवरतले नेपाली तथा मैथिली भाषा साहित्य र संस्कृतिका क्षेत्रमा रहेको विमलको अविस्मरणीय तथा अतुलनीय योगदानको समीक्षा गरे।

उनले कविता, कथा, गीत, गजल, नाटक, समालोचना र भाषाविज्ञानका क्षेत्रमा समानान्तर कलम चलाउने विमललाई बहुआयामिक व्यक्तित्वका रूपमा मूल्याङ्कन गरे।

केवरतले नेपाली भाषा साहित्य र संस्कृतिप्रति विमलले देखाएको सद्भाव र प्रेमको मुक्तकण्ठले प्रशंसा गरेका थिए।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका निवर्तमान सदस्यसचिव डा. धनप्रसाद सुवेदीले तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने स्रष्टाहरूमध्ये भवानी भिक्षुपछि दोस्रो खम्बाका रूपमा विमलको मूल्याङ्कन गरे।

त्यस्तै गणित विभागका विभागीय प्रमुख प्राडा रमेशचन्द्र तिमल्सिनाले आफू महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा रहँदा भएको विमलको उपस्थिति तथा प्रवचनको सम्झिंदै

उनका साहित्यिक रचनामा अभिव्यक्त सामाजिक तथा सांस्कृतिक मूल्यको चर्चा गरे।

विमलका शिष्य समेत रहेका गणित विभागका सदस्य डा. कमलेशकुमार कर्णले विमलको अद्वितीय प्राध्यापन शिल्पको स्मरण गर्दै उनको काव्य सिर्जनाको प्राकृतिक तथा सांस्कृतिक धरातलको विवेचना गरे।

विमलप्रति श्रद्धाञ्जली अर्पिंदै नेपाली विभागका विभागीय सदस्यहरू - शोभा चापागाईं बराल, डा. महानन्द जोशी, विष्णु ज्ञवाली, डा. शारदादेवी लामिछाने लगायतले उनको सिर्जना क्षमताको शक्ति र प्रभावको समीक्षा गरे।

सन् १९४७ मा धनुषाको देवडिया गाउँपञ्चायतमा जन्मिई २०८३ साउन २६ गते सोमबार यस धर्तीबाट बिदा भएका विमल नेपाली, मैथिली, हिन्दी र अङ्ग्रेजी भाषाका ज्ञाता मानिन्छन्।

त्रिभुवन विश्वविद्यालयको रा.रा.ब. क्याम्पस, जनकपुरमा नेपाली विभागको विभागीय प्रमुखको भूमिकामा रही विमलले चार दसकभन्दा धेरै सेवा गरेका थिए।

प्रकाशित: ३१ श्रावण २०८३ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App